संसद्

‘मिटरब्याजी पीडितको पीडामा मलहम लगाउ सरकार’

इकागज |
चैत १६, २०७९ बिहिवार १३:४६ बजे

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याजी पीडितहरू साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरूको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
      
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले पीडितहरूलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गरेका हुन् । सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद नन्दा चपाइले जनताको विकास निर्माणको चाहनालाई दलहरूले गम्भीर रुपमा लिनुपर्ने बताइन् । उनले जनचाहना अनुरुप गणतन्त्रको संस्थागत विकास र विसकास र समृद्धिको आभाष दिलाउन नेताहरूले गम्भीरता देखाउनुपर्नेमा जोड दिइन् । सांसद डा. बिमला राई पौडयालले मिटरब्याजसम्बन्धी तत्काल कानुन संशोधन गरी कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिइन् ।
 
सांसद दुर्गाकुमारी गुरुङले द्वन्द्व पीडितको समस्या समाधान गरी शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद सोनाम ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा लामो समयदेखि नेतृत्वविहीन रहेको र कायम मुकायमकै भरमा चलिरहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराए ।


सांसद राधेश्याम पासवानले मिटरब्याजी पीडितहरू मानसिक र शारीरिक रुपमा पीडित रहेकाले सरकारले समस्या समाधानमा तदरुकता देखाउनुपर्ने बताए । रासस


Author

थप समाचार
x