संसद्

राष्ट्रिय सभा शून्य समयमा कसले के भने ?

इकागज |
चैत १६, २०७९ बिहीबार १२:३४ बजे

काठमाडौँ - राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याज पीडितहरूसँग वार्तागरी समस्या समाधान गर्न सरकारसमक्ष आग्रह गरेका हुन् । उनले सामन्तवादको अवशेषको रूपमा रहेको शोषणको नयाँ रूप मिटरब्याजको रूपमा आएएको बताए । ‘सामन्तवादको अवशेषको रूपमा रहेको शोषण, सुदखोरको नयाँ रूप मिटरब्याजको रूपमा आएको नयाँ समस्यालाई हल गर्न ऐन, कानून बनाउने सरकारको निर्णय स्वागतयोग्य छ,' उनले भने, 'तर तत्काल समस्या समाधान गर्न सरकारले पीडितहरूसँग वार्ता, सम्वादगरी तत्काल समस्या समाधान गर्न अनुरोध गर्न चाहन्छु ।’

राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले सुदुरपश्चिममा कार्तिक २२ गतेदेखि निरन्तर भूकम्प गइरहेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षा र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम भूकम्पको उच्च जोखिमममा रहेको भन्दै यसबाट बच्च अहिलेदेखि नै वैकल्पिक उपाय अपनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । ‘यही कार्तिक २२ गतेदेखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको छ । कयौँको ज्यान जानुको साथै घरहरू चर्किएर, भत्किएर बस्न लायक अवस्थामा छैनन् । त्यहाँका नागरिकहरू डर र त्रासमा बाँचिरहेका छन्,' उनले भने 'त्यहाँका नागरिकहरूको सुरक्षा र राहतहरू प्रदान गर्नेतिर सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै भुकम्पको उच्च जोखिममा रहेको सुदूरपश्चिममा अहिलेदेखि नै वैकल्पिक उपाय अपनाउन समेत सरकारले ध्यान दिनुपर्ने तर्फ जोड दिन चाहन्छु ।’


राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले २०७२ सालको भूकम्पमा भत्किएको नेपाल राष्ट्रिय पुस्तकालयलाई भक्तपुरको पुरानो ठिमीमा लगेर व्यवस्थापन गर्ने प्रयास गरिएको भएपनि उचित व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘नेपालको एकमात्र गौरवको रुपमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय २०७२ सालको भूकम्पले भत्कियो । भत्किएको संरचना केही अस्थायी प्रयासहरू अहिले भक्तपुरको पुरानो ठिमीमा ल्याएर गरिएको छ । किताबहरू छुन लायकका छैनन् । सामग्रीहरूमा कीरा लागेको छ । शिक्षा मन्त्रालय कहाँ छ ? यो सरकारलाई म खोजी गर्न चाहन्छु,' उनले भने, '१ लाख ५० हजारभन्दा बढी संख्यामा रहेका हाम्रा सामग्रीहरू कुहिएर नष्ट हुने अवस्थामा हुँदा सरकारलाई त्यो प्रति चासो छैन र भूकम्प गएको यति वर्ष भइसकेको छ । विश्वका १०० राष्ट्र डिजिटाइजेशनमा गइसकेका छन् भने नेपालमा धुलो टक्टक्याउने अवस्थामा पनि पुस्तकालय नरहेको हुनाले यसतर्फ सरकारको गम्भिर ध्यान जान आवश्यक छ ।’

उनले प्रविधिमैत्री पुस्तकालय बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । 


Author

थप समाचार
x