संसद्

सभामुखले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद बैठकमा विरोध

इकागज |
चैत ५, २०७९ आइतबार १४:५१ बजे

फाइल फोटो

काठमाडौँ - सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद बैठकमा विरोध जनाइएको छ । शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरू बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए । 

आइतबारको संसद बैठकमा बोल्दै सांसदहरुले सो अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए । उनले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्फ ध्यानाकर्षण गराए । उनले भने, – ‘सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिरै पनि ध्यान जाओस् ।’


त्यसै गरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन– कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे । उनले भने,  ‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारहरूको बारे । अब हुनत पत्रकारहरूको बारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति
नै बनाउनुपर्यो । तर सबै पत्रकार त्यस्तो नहोला । कुन–कुन हो ? पित पत्रकारिता चलाउने । त्यो चाहिँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्‍यो ।’

उहाँले सभामुखबाट उठेको विषय सार्वजनिक महत्वको विषय भएको उल्लेख गर्दै बिक्री हुने पत्रकारहरुका बारेमा छानबिन हुनैपर्ने बताए । 


Author

थप समाचार
x