संसद्

प्रतिनिधि सभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रिय सभाका यथावत्

इकागज |
मंसिर १४, २०७९ बुधवार १२:४४ बजे

फाइल तस्बिर

काठमाडौँ - संघीय संसद्‍को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनसँगै मतपरिणाम अन्तिमर चरणमा रहँदा यसअघिको कार्यकाल पूरा भएको हो । निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । 

मत परिणाम अन्तिम चरणमा पुगेसँगै संघीय संसद्‍मा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो र चिन्ता छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसद्‍मा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भइसकेको र केही विचाराधीन अवस्थामा रहेको बताए । 


उनले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भइसकेको बताए । राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन शुरु भएपछि सोही अवस्थाबाट सुरु हुने उनको भनाइ छ । 

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरू १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निष्क्रिय भइसकेको बताए । 

उनले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ती विधेयकहरूको पुनः नयाँ प्रक्रिया (जिरोबाट) सुरु हुने बताए । ‘संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । यो चरणमा संघीय संसद्‍मा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भएका छन्,' उनले भने, 'प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय हुने भन्ने व्यवस्था छ । तर राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । ती विधेयकहरू विचाराधीन अवस्थामा नै छन् । अधिवेशनपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट सुरु हुन्छन् । ती भन्दा बाहेकका अरु सबै विधेयकहरू निष्क्रिय भए ।’

सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताए ।
 


Author

थप समाचार
x