संसद्

अनावश्यक र अवैधानिक ढंगले उत्खनन् रोक्नुपर्छः सांसद सार्की

इकागज |
असार २०, २०७९ सोमवार १५:१६ बजे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की, आछामीले नदी कटान रोक्न नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताएका छन् । 

राष्ट्रिय सभाको सोमवारको बैठकमा विशेष समयमा बोल्दै सांसद आछामीले नदीहरुमा अनावश्यक र अवैधानिक ढंगले उत्खनन् भएको बताए । उनले गिट्टी, बालुवा निकालेर सिमित मानिसहरु धनी हुने तर खेतीयोग्य जमिन र घरहरुमा नोक्सान हुने भएकाले यसलाई नियन्त्रण गर्नका लागि नदी ऐनको व्यवस्था हुनुपर्ने बताए । 


उनले आपतकालीन नदी नियन्त्रणमा बजेट शुन्य भएको भन्दै आपतकालीन नदी नियन्त्रण कोषमा बजेटको व्यवस्था गर्न माग गरे । उनले भने, ‘नदी कटानसँग जोडिएको विषय भनेको चाहिँ यो अनावश्यक र अवैधानिक ढंगले उत्खनन् गरिएको क्रसर उद्योगीहरु छन् । अनावश्यक गिट्टी, बालुवा निकालिएको छ । केही सीमित, मुट्ठीभरका मानिसहरु धनी हुने र खेतीयोग्य जमिन र घरहरुको नोक्सान हुने जस्तो जुन स्थिति भएको छ । यसको लागि हामीलाई नदी सम्बन्धी ऐनको आवश्यकता छ । नदी ऐनको व्यवस्था गरेर यसलाई नियन्त्रण गर्ने हिसाबले जानु जरुरी हुन्छ भन्ने मलाई लाग्दछ । अर्को कुरा आपत्कालीन नदी नियन्त्रणमा बजेट शुन्य गरिएको रहेछ । त्यहाँ बजेट व्यवस्था गरिनुपर्छ । आपतकालीन नदी नियन्त्रण कोषमा बजेट व्यवस्था नहुनु भनेको असाध्यै दुखद् कुरा हो ।’

उनले विराटनगर विमानस्थल निर्माणका लागि विगत दुई वर्षदेखि करिव १ हजार २६७ कित्ता जमिन रोक्का गरिएको र हालसम्म निर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन नभएकाले रोक्का गरिएको जमिन फुक्का गर्न माग गरे । 

उनले स्थानीय तहमै मतदाता नामावली संकलनको काम गर्न पनि माग गरे । सांसद आछामीले काठमाडौंको सडकमा व्यापार गरेर जीविका चलाइराखेका नागरिकहरुको व्यवस्थापनमा नेपाल सरकारले ध्यान दिनुपर्ने बताए । 


Author

थप समाचार
x