संसद्

'बुबाको नाममा नागरिकता दिन कन्जुस्याइँ हुँदैन तर आमाको नाममा किन ?'

इकागज |
असार १०, २०७९ शुक्रबार १५:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्नु नहुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद मगरले कुनै पनि नागरिकलाई राज्यविहीन र नागरिकताविहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्नु नहुने बताएका हुन् । उनले पुरूषवादी र पितृसत्तावादी समाज रहेको उल्लेख गर्दै पुरूषवादी चिन्तनका विरुद्ध लड्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।


सांसद मगरले चालू संसद् अधिवेशनमा नै  नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

‘नागरिकताको समस्या समाधान गरियोस् । विधेयकलाई सदनमा यसै पटक ल्याएर यसलाई पास गरियोस् र सहमतिका आधारमा अगाडि बढाइयोस् । किनभने नागरिकता भन्‍ने कुरा धेरै संवेदनशील र गम्भीर कुरा हुन्छ, 'उनले भने, 'कुनै पनि नागरिक राज्यविहीन, नागरिकताविहीन रहन सक्दैन । धेरै समस्या उसले झेल्नुपर्ने हुन्छ । यो नागरिकता विधेयक ल्याइयोस् । आमाको नाममा नागरिकता दिने कुरा म पनि जोडदार रुपमा समर्थन गर्न चाहन्छु । यो समाज पुरुष प्रधान समाज हो । पुरुषवादी, पितृसत्तावादी समाज हो । त्यसकारणले उसले बुबाको नाममा नागरिकता दिन कुनै कन्जुस्याइँ हुँदैन तर आमाको नाममा नागरिकता दिन उसले कन्जुस्याइँ गर्छ ।’

सांसद मगरले महँगीले जनताको ढाड सेकेको भन्दै जनताले कुनै राहत नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद मगरले मनाङ जिल्लालाई गत वर्षको बाढीले तहसनहस बनाएकोमा हालसम्म पनि त्यहाँको स्थिति भयावह रहेकाले आवागमन सहज बनाउन सरकारसँग माग गरे । त्यस्तै तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ मा बाढी पहिरोले क्षति पुर्‍याएको र जनजीवन प्रभावित भएको तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले तनहुँको भानु नगरपालिका वडा नं. ६ स्थित चुँदिबरा कुलोको बाँध, कुलो र खेतसहित बगाएकोले सरकारलाई आवश्यक कदम चाल्न आग्रह पनि गरे ।


Author

थप समाचार
x