संसद्

राजनीतिक दललाई सांसद देवकाे सुझाव : समयमै निर्णय गर्ने संस्कार बसाउनुपर्छ

इकागज |
असार १०, २०७९ शुक्रबार १५:१२ बजे

काठमाडौँ- नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद्‍को चालू अधिवेशनमै नागरिकतासम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका  छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसद्‍को चालू अधिवेशनमा नै नागरिकतासम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् । उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडि बढ्नुपर्ने बताए । उनले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिने गरी कानुनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरे ।


सांसद देवले संविधानमा भएको व्यवस्थालाई आधार मानेर कानुन बनाउनुपर्नेमा जोड दिए । उनले नागरिकताको सवालमा असहमतिका विषयहरूलाई छलफल गर्दै संविधानलाई टेकेर सहमतितर्फ जानुपर्ने जिकिर गरे ।

देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसद्‍बाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताए । उनले नेपाली राजनीतिमा कुनै पनि विषयमा निर्णय गर्दा अन्तिम अवस्थामा गर्ने संस्कार रहेको भन्दै कुनै पनि निर्णय समयमै गर्नुपर्ने संस्कार बनाउनुपर्ने उल्लेख गरे । सांसद देवले देशलाई कुनै पनि बहानामा वर्गीय, जातीय र लैङ्गिक रूपमा द्वन्द्वमा जान दिन नहुने बताए । 


Author

थप समाचार
x