प्रमुख समाचार

नयाँ वर्षमा पशुपतिमा तीन लाख दर्शनार्थी, २८० भक्तजनले गरे विशेष पूजा

इकागज |
बैशाख २, २०७९ शुक्रबार ६:२० बजे

फाइल तस्बिर

काठमाडौँ- नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । 

पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । 


नयाँ वर्षका लागि कोषले पश्चिम मूल ढोकामा यस वर्षदेखि सजावटसहित नववर्षको शुभकामना ब्यानर टाँगेको थियो । बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब तीन लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उनले सुनाए । 

बिहीबार बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । दर्शनार्थी व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, पहरा गणका प्रहरी पनि खटिएका थिए ।

पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा २८० जनाले रसिद काटेर विशेष पूजा गरेका छन् । पशुपतिनाथमा २२० र वासुकीनाथमा ६० जना भक्तजनले रसिद काटेर विशेष पूजा गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । 

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (बागमती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको थियो । रासस


Author

थप समाचार
x