प्रमुख समाचार

मेयर भ्रष्टाचार मुद्दामा परेपछि उपमेयर परनिया बनिन् कार्यवाहक नगर प्रमुख

इकागज |
चैत १४, २०७८ सोमबार २०:१६ बजे

रौतहट - उपमेयर परनियादेवी पटेल रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । बिधिवतरुपले कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर परनियादेवी पटेलले पाएकी छिन् । 

नगरपालिकामा मेयरमा निर्वाचित धर्मेन्द्र पटेलविरुद्ध अख्तियारले मुद्दा हालेसँगै निलम्बित रहेकाले उपमेयर पटेललाई प्रमुखको जिम्मेवारी दिइएको हो । 


कार्यवाहक मेयरको रूपमा पछिल्लो केहि दिनदेखि नगरको कामकाज गर्दै आए पनि बिधिवतरुपमा आज सोमबारदेखि मेयरको जिम्मेवारी सम्हालेको परनियादेवी पटेलले जानकारी दिइन् । 

देवाही गोनाही नगरपालिकाका निलम्बित मेयर धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औं दिन धरौटीमा रिहा भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौको विशेष अदालतमा गत ७ गते सोमबार ४ लाख रुपैयाँ धरौटीमा मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा गत ६ गते आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएका थिए । 

मेयर धर्मेन्द्र पटेल, सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरि ४ जनालाई फागुन १५ गते हेटौंडाबाट गएको अख्तियारको टोलीले दुईलाख ५० हजार नगद र त्यतिकैको चेक सहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । 
पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघिनै छुटिसकेका थिए । 

अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका थिए । तर मेयर पटेल तथा उनका पक्षधरहरुले उक्त आरोपको खण्डन गर्दै आएका छन् । 

पटेलले घुस मागेको सूचनाको आधारमा  अख्तियारले उनीविरुद्ध अप्रेशन चलाएर छापामारी गर्दा उनी आफ्नो एकजना सहयोगसँगै रकम र चेकसहित पक्राउ परेका थिए । आरोपी धर्मेन्द्र पटेल सहयोगी सहित धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म पटेल निलम्बित रहने कानुनी व्यवस्था छ।

देवाही गोनाही नगरपालिकामा गत स्थानीय निर्वाचनमा जसपाबाट धर्मेन्द्र पटेल मेयरमा र तत्कालीन माओवादीबाट परनियादेवी पटेल उपमेयरमा निर्वाचित भएकी थिइन। उपमेयर पटेल हाल एमालेमा रहेकी छन् ।


Author

थप समाचार
x