प्रमुख समाचार

गुम्यो कतार विश्‍वकपमा पाहुनाको सुरक्षा गार्ड नेपाली पठाउने मौका

इकागज |
असोज १, २०७८ शुक्रवार २१:६ बजे

काठमाडौँ - कतारले सन् २०२२ को विश्वकपमा आउने विशेष पाहुनाको सुरक्षार्थ गार्डको लागि नेपालबाट युवाहरू लिने निर्णय गरेको थियो । तर पनि कर्मचारी र शक्ति केन्द्रको मिलेमतोका त्यो अवसर नेपालले गुमाएको छ । नेपालीले मासिक दुई लाख कमाउने दिगो जागिर गुमेको हो । एक वर्षअघि नै कतारले नेपालबाट युवा लैजाने भने पनि त्यसमा काम अघि नबढ्दा अहिले रद्द भएको हो ।
 
कतारमा अधिक रकम कमाउने रोजगारी भएकाले व्यापक हल्ला खल्ला भयो । नेपालबाट कतार प्रहरीमा किन जानेदेखि किन नजाने भन्नेसम्म बहस चले । अन्ततः त्यही बहसबीचमा नेपालमा रहेका म्यानपावर कम्पनीले मोटो रकम लिनसमेत थालेको खबर आउन थाले । विश्वकपको चटारोमा रहेको कतारले विशिष्ट पाहुनालाई सुरक्षा दिने प्रहरी भर्ना गर्न हतारो भइरहेको थियो । 

कतारले त्यही हतारोबीच यसअघि नेपालबाट लगेका करिब दुई सय जना नेपालीको कार्यक्षमता, हसमुख अनुहार, इमानदारीताले थप संख्या लैजान खोजेको थियो । दुई वर्षअघि नै लगेका नेपालीको क्षमताले नै उनीहरू उत्साहित भएका थिए । 


तर कतार र नेपालबीच भर्ना मोडलमा कुरा मिलेन । सेवा र आम्दानीको हिसाबले आकर्षक भएकाले यसमा निजी क्षेत्रको संलग्नताभन्दा सरकारी संयन्त्रमार्फत नै भर्ना प्रक्रिया अगाडि बढाउँदा उपयुक्त हुने भनिए पनि पछि त्यो सरकारको कारण रोकियो । कतारले छनौट गरेको म्यानपावर कम्पनीलाई सरकारले स्वीकार नगर्दा यस्तो अवस्था आएको हो । 

कतार आफूले कामदार लैजादा आफ्नो छनौट खोज्छ नै तर त्यो मोडालिटी नेपालले तय गर्न खोज्दा यसतो अवस्था आएको र मोटो रकम आउने रोजगारी गुमेको हो । कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैलले बारम्बार भन्दै आएको एउटै कुरा हो इजाजत प्राप्त जुनसुकै म्यानपावर कम्पनीले श्रमिकलाई पठाउन सक्नेछ । उनी थप स्पष्टसमेत भएका थिए, ‘कतारले कहिले पनि नेपालबाट श्रमिक पठाउने म्यानपावर कम्पनीलाई तोक्दैन । कतार सधै प्रतिस्पर्धी बजारमा विश्वास राख्छ ।’

तर यहाँ ठूलो रकम केही मेनपावर कम्पनीेले उठाउन थालेको खबरपछि कतार सचेत भएको र सरकारसँग सहकार्य गरेर अघि बढ्न खोजेको थियो । दुई हजार अमेरिकी डलर मासिक पारिश्रमिक पाउने प्रहरीमा जान धेरैले चासो राख्ने र म्यानपावरले पनि अधिक रकम उठाउने भएपछि त्यसमा दुवैतर्फ सचेत हुने र नेपाल सरकारले सधै निर्णयमा ढिलाई गर्ने पुुरानै प्रथाले कोटा गुमेको हो । 

आरम्भमा करिब एक लाख मासिक र प्रशिक्षण सकिएपछि दुई लाख भन्दा बढी मासिक पारिश्रमिक पाउने प्रहरीको जागिर गुमेको हो । तलब आकर्षक भएपछि मागपत्र हात पार्न म्यानपावर कम्पनी शक्ति केन्द्र धाउने र प्रभावमा पार्न थालेपछि यस्तो अवस्था आएको हो । अनेकन सूची बाहिर ल्याउने र त्यो काम हत्याउने हतकण्डा म्यानपावर कम्पनीबाट भएपछि सरकारी अधिकारी पनि म्यानपावरको पछि लाग्न थालेपछि यो अवस्था निम्तिएको बुझाइ परराष्ट्र अधिकारीको छ । 

कतारले अन्र्तवार्ता गर्ने टोलीसमेत पठाएको तर वैदेशिक रोजगार विभागले नै पूर्वस्वीकृतिविना अन्तर्वार्ता लिन नपाउने भन्दै अनेकन कार्य गरेपछि कतारीहरू निरश भएर फर्केको एक महिनापछि आन्तरिक मन्त्रालयले दुई सय जना भर्ना गर्ने भनेको थियो । तर त्यो पनि अनेकन विषय उठेपछि त्यसै रोकियो । 

मन्त्रालय कहिले जीटुजी (सरकार–सरकार) त कहिले बीटुबी (बिजनेस टु बिजनेस) मोडल भनेरै बस्यो । शक्तिमा भएकाहरूले आफ्नो शक्ति प्रदर्शनमा लागे । तर कतारले अफ्रिकी महादेशबाट प्रहरी लिन थालिसकेको थियो । 

यो नेपालको हितका लागि दिर्घकालिन रोजगार थियो भन्दै कतारी राजदूत हैलले भने, ‘अहिलेलाई नलिने भएका छौं । अब, पुन कुनै त्यस्तो अवस्था जुरेमा नेपालीलाई सम्झने छौ । नेपालीले नै कतारलाई बनाएको हो । हामी नेपाली बिर्सन सक्दैनौ तर एउटा कुरामा स्पष्ट हुनुपर्छ । प्रतिष्प्रर्धी बजारमा नेपालभित्रको सबैको आकांक्षा पुरा गर्न गाह्रो हुन्छ नै ।’ 
 


Author

थप समाचार
x