प्रमुख समाचार

सुदूरपश्‍चिमका अर्थमन्त्रीले विनियोजन गरे आफ्नै कुलदेवताको मन्दिरलाई एक करोड

नवराज पनेरु |
असार १७, २०७८ बिहीबार १६:२३ बजे

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समुदाय र जात विशेषका मन्दिर निर्माणका लागि झण्डै १९ करोड बढी बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको रातो किताबमा अटाएका अधिकांश मन्दिर २/४ परिवारले पूजा गर्ने कुलदेवताका मन्दिर छन् । 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा पनि बजेट विनियोजन भएको छ । बाजुराको खप्तड छेडेदेह गाउँपालिका-४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो । ज्यूलेख मन्दिर मन्त्री शाहको कुल देवताको मन्दिर रहेको एक स्थानीयले बताए । 


चालू आर्थिक वर्षमा दुई सय ७० मन्दिरका लागि २४ करोड बढी बजेट मन्दिरमा विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षका लागि भने विगतभन्दा कम १९ करोड छुट्याएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले बताए ।

‘समग्र रूपमा सुदूरपश्चिम धार्मिक पर्यटनको गन्तव्य हो,’ उनले भने, ‘मन्दिरको बजेट विगतकै निरन्तरता हो । तर पनि यो वर्ष बजेट घटाइएको छ ।’ विगतमा चर्को विरोध भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले स–साना मन्दिरमा बजेट नहाल्ने घोषणा गरेका थिए । तर ५ लाखदेखि ५० एक करोडसम्म मन्दिर निर्माणका लागि बजेट छुट्याइएको हो । 

५ लाख बजेटले कुनै पनि मन्दिरलाई मौलिक शैलीमा विकास गर्न नसकिने भए पनि कार्यकता रिझाउन बजेट कनिका छरे जस्तै विनियोजन हुँदै आएको छ । सुदूरपश्चिम धार्मिक पर्यटनका दृष्ट्रिकोणले निकै संम्भावना बोकेको प्रदेश हो । 

यहाँ खप्तड धाम, सिद्धनाथ-बैधनाथ धाम, बडिमालिका, परशुराम, मालिकार्जुन, डिलाशैनी, उग्रतारा, शैलेश्वरी, त्रिपुरासुन्दरी, मेलौली, बेहडाबाबा जस्ता धार्मिक गन्तव्य छन् । ति धार्मिक क्षेत्रमा प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा पर्यटन प्रवद्र्धनमा समस्या भइरहेको छ । 

तर निश्चित जाती र समुदायका कूल देवताका मन्दिरमा बजेट विनियोजन गर्दै प्रदेश सरकार पर्यटनबाटै समृद्ध प्रदेश बनाउने सपना बुनिरहेको छ ।


 


Author

थप समाचार
x