प्रमुख समाचार

संवैधानिक परिषद्को बैठक आइतबार

लोकसेवा, अख्तियार, निर्वाचन आयोग लगायतमा नियुक्ति सिफारिस हुने

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १६:५२ बजे

फाइल फाेटाे

काठमाडौँ : संवैधानिक परिषद्को बैठकमा उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेगरी अध्यादेश जारी भएको तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका छन् । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले  आइतबार बैठक राखेका हुन् । अब प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएको जानकारी सभामुख र प्रमुख प्रतिपक्ष दलका नेतालाई पनि दिनेछन् । 

उनले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख अग्‍नि सापकोटाको उपस्थिती नहुने वा भएर पनि समर्थन नगर्ने देखिएको छ । तर प्रधानमन्त्रीले आफू, राष्ट्रिय सभा अध्यक्ष र प्रधान न्यायाधीश मिलेमा नै नियुक्ति गर्न सकिने गरी ब्यवस्था गरिसकेका छन् ।


बैठकमा सहभागी भए पनि देउवा र सापकोटाले सिफारिस भएका व्यक्तिको नाम अनुमोदन नगर्ने नीति लिने जानकारी निकट स्रोतले बताएको छ । यद्यपि बैठकमा उपस्थित भएर साक्षी बस्नु भन्दा सहभागि नहुन उनीहरुलाई सुझाव दिइएको छ । 

संसद् बस्न मिल्ने समय नै रहेकाले किन अध्यादेश ल्याएको भन्दै विरोध गरिरहेको प्रतिपक्ष दल नै सहभागि हुँदा विरोधको तुक नहुने पनि बुझाइ विपक्षी दलकाे छ । आइतबार बस्ने बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । 

विशेष गरी उक्त बैठकमा लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारीको नियुक्ति सिफारिस गर्ने तयारी छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी पनि सिफारिस गर्न पर्ने देखिएको छ । त्यो बैठकमा सहभागी भए कांग्रेसको पनि भाग पर्ने र नभएमा नपर्ने भन्दै ओलीले यसबारेमा जानकारी दिन बुढानिलकण्ठ नै पुगेका थिए । 

विश्वासको मत माग्न बुढानिलकण्ठ पुगेका उनले संवैधानिक अंगमा नियुक्ति सिफारिस गर्ने बारे पनि छलफल गरेका थिए । त्यस्तै समावेशी आयोगले पनि पूर्णता पाएको छैन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार जारी गरेकी थिइन । 


Author

थप समाचार
x