प्रमुख समाचार

सांसदलाई शुभकामना दिँदै बालेनले भनेः तपाईहरूसँग सहकार्यगरी काठमाण्डौँ बनाउन आतुर छौँ

इकागज |
मंसिर ८, २०७९ बिहीबार १६:४३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई शुभकामना तथा बधाइ दिँदै खोला किनार व्यवस्थापन ,फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्या समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्ने बताएका छन् ।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले निर्वाचनमा उम्मेदवारको कोसिसलाई सम्मान गरेका छन् । शाहले काठमाण्डौँ महानगरपालिका देशकै राजधानी रहेकाले देशभरीका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा महानगर जोडिनु पर्ने अवस्था रहेको बताएका छन् ।


‘महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरी नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ,’ मेयर शाहले भने,’ तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरू यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ ।‘

खोला किनार व्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरूको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता रहेको उनले औल्याएका छन् ।

काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन सबै निर्वाचित सबै सदस्यहरूको साथ आवश्यक हुने उनको भनाइ छ । उनले अगाडि थपे,’ तपाईहरूसँग सहकार्य गरी काठमाण्डौँ बनाउन हामी आतुर छौँ ।‘

 


Author

थप समाचार
x