छिमेक

चीन-अमेरिका वार्ता

चीनले जितेको त्यो वार्ता

अजय अलौकिक |
मंसिर ८, २०७८ बुधबार ८:४४ बजे

बेइजिङ- विश्‍वका दुई शक्तिशाली आर्थिक राष्ट्रहरू सर्वशक्तिमान तथा सबैभन्दा विकसित देश अमेरिका र सबैभन्दा ठूलो विकासोन्मुख देश तथा उदीयमान शक्ति चीनको टकरावले विश्व मञ्चमा नकारात्मक प्रभाव पारिरहेको छ । यी दुईको सहकार्यमा जलवायु परिवर्तनका मुद्दादेखि विश्वका जल्दाबल्दा समस्यामा उल्लेख्य उपलब्धि हासिल हुनुका साथै विश्वमा दीर्घकालसम्म शान्ति र स्थिरता कायम रहने विश्वास गर्न सकिन्छ । 

यसरी यी दुई देशबीच रहेका मत भिन्‍नतालाई हटाउँदै साझा जीत हासिल गर्न एउटै दिशामा ल्याउनु र दुई देशबीचको सम्बन्धलाई स्वस्थ तथा स्थिर बाटोमा फर्काउनका लागि वार्ता नै सबैभन्दा उत्तम उपाय हो । पारस्परिक सम्मानको भावना लिँदै गरिने द्विपक्षीय वार्ता नै सफलताको प्रत्याभूति मान्‍न सकिन्छ । यसबाहेक, चीनले सदा नै निर्विकल्प रूपमा सबै समस्याको समाधान वार्ता रहेकोमा जोड दिँदै आएको छ ।


यसैबीच दुई देशका राष्ट्रनायकबीच गत साता नोभेम्बर १६ मा दुई चरणमा भिडियो वार्ता भएको छ । दुई पक्षबीच साझा अभिरुचिका महत्त्वपूर्ण समस्याहरू र चीन र अमेरिकाको सम्बन्धको भावी रणनीतिक समस्याबारे वैचारिक आदान-प्रदान भएको छ । यसरी अमेरिकासँग सार्थक वार्ता हुनु नै चीनको पहिलो जित हो ।

वार्ताको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडनलाई चीन र अमेरिका दुवै देशको विकास महत्त्वपूर्ण चरणमा रहेको भन्दै मानवजातिको ‘ग्लोबल भिलेज’ समक्ष चुनौती देखा परेकोले मानवजातिको शान्ति र विकासको कार्यलाई अघि बढाउँदै जानुपर्ने औँल्याए । चीन र अमेरिकाले एक अर्काको सम्मान गर्नुका साथै शान्तिपूर्वक व्यवहार गरी सहकार्यमार्फत् साझा जीतको लक्ष्यलाई साकार तुल्याउन पनि राष्ट्रपति सीले जोड दिए । 

आगामी ५० वर्षमा अन्तर्राष्ट्रिय सम्बन्धमा चीन र अमेरिकाले उचित तवरमा सहअस्तित्वको तरिका खोज्‍नु सबैभन्दा महत्त्वपूर्ण रहेको भन्दै चीन र अमेरिकाको सम्बन्धको विकासमा अनुभवको समीक्षा गर्दै नयाँ समयमा दुई देशले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोग तथा साझा जीतको तीन सिद्धान्तको पालना गर्नुपर्ने औँल्याए । 

राष्ट्रपति सीले चीनको विकास मार्ग र रणनीतिक उद्देश्यको चर्चा गर्दै नयाँ चीन स्थापनादेखि कुनै युद्ध वा भिडन्त सुरू नगरेको तथा अरू कुनै देशको भूभाग कब्जा नगरेको भन्दै चीनले विश्वव्यापी रूपमा विभिन्‍न देशलाई आफ्नो अवस्थासँग अनुकूल विकास मार्ग खोज्न प्रोत्साहन गरेको बताए । सीले घुमाउरो शैलीमा मानवअधिकारको नाममा अरू देशको आन्तरिक मामिलामाथि चीनले हस्तक्षेप नगरेको पनि बताए । 

थाइवान मामिलामा चीनको सिद्धान्त तथा अडानबारे सीले स्पष्ट पार्दै थाइवान पृथकतावादी शक्तिले उत्तेजना फैलाए वा ‘रेड लाइन’ तोडेमा चीनले निर्णायक कदम चाल्ने चेतावनीसमेत दिए । अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा रचनात्मक र एकताका लागि हितकर हुने भूमिका निर्वाह गर्नसक्ने आशा व्यक्त गर्दै नयाँ शीत युद्धतर्फ अग्रसर नहुन आग्रह पनि गरे । 

चीनका लागि अमेरिकाले तर्क संगत तथा व्यावहारिक नीति उपनाउने आशा रहेको राष्ट्रपति सीले व्यक्त गरेका छन् । अमेरिका चीनबीचको व्यापार सम्बन्धलाई सुधार गर्नकालागि ट्रम्प सरकारले अँगालेको नीतिको समीक्षा गर्दै लचिलो हुनुपर्ने, सुधार गर्नुपर्ने र आफ्नो हितमात्र नभई सबैको हित हेरेर काम गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ । यसरी चीनले स्पष्ट रूपमा आफ्नो अडान राख्नु अर्को जीत हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त भिडियो वार्तामा अमेरिका चीन सम्बन्धलाई विथोल्न नहुने भन्दै चीनको राजनीतिक व्यवस्थालाई परिणत गर्न अमेरिकाको कुनै इच्छा नभएको प्रष्ट्याए ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनका अनुसार, यस वर्ष अमेरिकी राष्ट्रपति जो बाइडनको निमन्त्रणामा राष्ट्रपति सी चिनफिङले दुईपटक टेलिफोन वार्ता गरिसकेका छन् । यस पटक भिडियो वार्ता गरेका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त भिडियो वार्तामा अमेरिका चीन सम्बन्धलाई विथोल्न नहुने भन्दै चीनको राजनीतिक व्यवस्थालाई परिणत गर्न अमेरिकाको कुनै इच्छा नभएको प्रष्ट्याए । यसका साथै चीनको विरोध गर्न अमेरिकाले अमेरिकी गठबन्धनलाई सबल पार्न खोजेको छैन भन्दै चीनसँग भिडन्त गर्न नचाहेको पनि औँल्याए । अमेरिकाले थाइवान स्वतन्त्र पक्षधरको समर्थन नगर्ने पनि बताए । यसरी चिनियाँ पक्षको माँगलाई अमेरिकाले स्वीकार गर्नु चीनको अर्को जीत हो ।

यो वार्तासँगै अमेरिकाले वास्तविक क्रियाकलापमार्फत दुई देशका राष्ट्रनायकबीचको वार्ताको भावनालाई व्यवहारमा उतार्ने, चीनसँगको आदान-प्रदान र सहयोगलाई सबल पार्ने र अन्तर्राष्ट्रिय जिम्मेवारी वहन गर्ने आशा चीनले राखेको छ । 

यसैबीच, चिनियाँ राज्य परिषद्‌का सदस्य एवम परराष्ट्र मन्त्री वाङ यीले विश्व थिङ्क ट्याङ्क बैठकलाई नोभेम्बर २० तारिख भिडियोमार्फत् सम्बोधन गर्दै चीन र अमेरिकाको सम्बन्ध तथा राष्ट्रनायकको वार्ताबारे चीनको अडानको व्याख्या गरेका छन् । 

मन्त्री वाङका अनुसार राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडनबीचको वार्ता रचनात्मक रहेको छ । वार्ताबाट चीन र अमेरिकाबीच एक आपसमा सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोग तथा साझा जीतको आधारमा नयाँ शीत युद्ध नगर्ने, भिडन्त तथा प्रतिस्पर्धा नगर्ने, थाइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने र ठोस नीति तथा गतिविधिलाई अमेरिकाले व्यवहारमा उतार्ने आशा चीनले गरेको छ ।

वास्तवमा वार्तामा सहभागी सबै पक्षबीच हुने छलफलबाट अनेकन् सहमति, सम्झौता, समझदारीसँगै समस्याको हल हुँदै मेलमिलाप र पुनःमिलनका साथै घनिष्ठता समेत बढ्ने गर्छ । यसरी अमेरिकासँग सार्थक वार्ता गर्दै चीनले आफ्नो अडान स्पष्ट रूपमा राख्नु र चीनको माँग र सम्बोधनलाई अमेरिकाले स्वीकार्नु चिनियाँ पक्षको जीत हो ।

अब, अमेरिकाले चीनसँगको वार्ता र सहकार्यलाई बढाउँदै विवादको निरूपण गरी दुई देशबीचको सम्बन्धलाई स्वस्थ तथा स्थिर विकासको सही बाटोमा फर्काउने आशा चीन र विश्वले गरेको छ । आशा गरौँ, दुई देशका नेताहरूले प्राप्त गरेका अनेकन् सहमतिहरू कार्यान्वयन हुने छन् र चीन र अमेरिकाको सम्बन्धले स्थिरता पाउने छ । जसबाट विश्वले पनि साझा हित र जितसँगै दीर्घकालीन शान्ति र स्थिरता पाउने छ ।


Author

थप समाचार
x