नारायणगोपाल

दार्जीलिङका मानिससँग सङ्गत भएपछि नारायण हामीसँग छुट्यो

प्रेमध्वज प्रधान |
मंसिर १९, २०७७ शुक्रबार १८:४८ बजे

ऊसँग मेरो भेट २००८ सालमा भएको हो । त्यस बेलामा हामी ८÷९ जना मिलेर एउटा समूह खोलेका थियौँ । हिन्दी–नेपाली गीतहरू गाइन्थ्यो । जहाँ ऊ पनि गाउँथ्यो र राम्रो तबला पनि बजाउँथ्यो । हामीले ‘नवकला परिवार’ नामक अर्को संस्था पनि खोलेका थियौँ । त्यसमा राममान तृषित’ पनि हुनुहुन्थ्यो । 

नारायणगोपाल र म सँगसँगै हुर्केका हौँ । तर पछि दार्जीलिङका मानिसहरूसँग सङ्गत भएपछि ऊ हामीसँग छुट्यो । त्यो बेला उसको, विशेष गरेर मसँग सम्पर्क भयो । हामी (आमासँग) जमलमा बस्थ्यौँ । जहाँ ऊ आइरहन्थ्यो । आमा चुरोट खानुहुन्थ्यो र ऊ पनि । त्यसैले मेरी आमासँग उसको कुरा मिल्थ्यो । 


ऊ स्कूलमा पनि टेबल ठटाएर फिल्मी गीतहरू गाइरहन्थ्यो । पढ्नतिर त्यति मन दिँदैनथ्यो । उसलाई एलएलसी परीक्षा दिनका लागि मैले नै कर गरेको हुँ । हिसाबमा अलिक कमजोर थियो, मैले अलिअलि सहयोग पनि गरिदिएँ र एसएलसी पनि पास गयो । पछि बीएमा हामी सँगै भयौँ त्रिचन्द्र कलेजमा । 

सिन्धुपाल्चोक–चौतारामा हाम्रो काका बस्नुहुन्थ्यो । २०१५ सालमा नारायणगोपाल र म चुनाव प्रचार गर्ने बहानामा त्यहाँ गएर दुई महिना बस्यौँ । ऊ त्यो बेला यस्तो गम्भीर थिएन । जतिबेला पनि हँसाइरहन्थ्यो । उसले बिहा गर्नुअघि मेरी आमालाई हुनेवाला श्रीमती देखाउन पनि ल्याएको थियो । 

वास्तवमा नारायणगोपालले गर्दा नै गोपाल योञ्जन चर्चित भए । पछि यस्तै कारणले उनीहरूबीचमा फाटो पनि प¥यो । गोपाल योञ्जनलाई छाडेपछि उसले झन् राम्रा गीतहरू गायो । 

मैले २०१७ सालमा जागिर गर्न थालेपछि, म आफ्नो काममा व्यस्त भएँ र ऊसँग सम्पर्क कम हुन थाल्यो । २०१६ सालको कुरा हो ऊ आफूले ट्युनिङ गरेको गीत सुनाउन मकहाँ आएको थियो । र, त्यसै बेला स्वर–परीक्षाका लागि माणिकरत्न र मैले नै उसलाई रेडियो नेपाल पुर्‍याएका हौँ ।

‘पक्षीको पङ्खमा धर्तीको याद दियो’ भन्ने राममान ‘तृषित’को गीतलाई तयार गरेका थियौँ । उसले पहिलोचोटि स्टेजमा गाएको थियो, नेवारी गीत । इन्द्रजात्राको बेला भेडासिङमा हुने ज्यापूको डबलीमा उसले एउटा नेवारी गीतबाट आफ्नो गायनकलाको सुरुवात गरेको थियो । त्यस कार्यक्रममा मैले हार्मोनियम बजाएर उसलाई साथ दिएको थिएँ । 

ऊ मन क्लिन भएको मान्छे थियो । पहिलेदेखि नै अलि एकोहोरो स्वभावचाहिँ उसमा थियो तर कसैलाई बिगारौँ भन्ने भावना उसमा थिएन । सानैदेखि भजनमण्डलीमा जान्थ्यो र तबला बजाइरहन्थ्यो । 

२०१६ सालदेखि मात्र रेडियोमा गाउने मन गर्‍यो, नत्र ऊ आफ्नै धुनमा हुन्थ्यो, रेडियोमा गाउने कुरामा वास्तै गर्दैनथ्यो । उसले त्यसबेला रेडियोमा गाएका गीतहरू अहिलेभन्दा पनि लोकप्रिय भएका थिए, त्यसबेला त्यस्ता नेपाली गीतहरू निस्केकै थिएनन् । ऊ आफैँमा क्षमता भएको मान्छे थियो । ती सबै गीतमा ऊ आफैँले सङ्गीत हालेको थियो । 

सिन्धुपाल्चोक–चौतारामा हाम्रो काका बस्नुहुन्थ्यो । २०१५ सालमा नारायणगोपाल र म चुनाव प्रचार गर्ने बहानामा त्यहाँ गएर दुई महिना बस्यौँ । ऊ त्यो बेला यस्तो गम्भीर थिएन । जतिबेला पनि हँसाइरहन्थ्यो । 

वास्तवमा नारायणगोपालले गर्दा नै गोपाल योञ्जन चर्चित भए । पछि यस्तै कारणले उनीहरूबीचमा फाटो पनि पर्‍यो । गोपाल योञ्जनलाई छाडेपछि उसले झन् राम्रा गीतहरू गायो । ‘आँखा छोपी नरोऊ भनी’, ‘ईश्वर तैँले रचेर फेरि’ यसका उदाहरण हुन् । उसलाई सङ्गीतमा पनि त्यतिकै गहिरो ज्ञान थियो । 

उसलाई क्यारिकेचर गर्न पनि आउँथ्यो । हामी जमलमा बस्दा आमा, माणिकरत्न र मलाई चीन रेडियोले हिन्दीमा समाचार भनेको र अरु पनि थुप्रै क्यारिकेचर गरेर खुब हँसाउँथ्यो । ऊ थुप्रै प्रतिभा भएको मानिस थियो । 

बागबजार, काठमाडौँ 

(साभार : बागिना, नारायणगोपाल स्मृति अंक ।  आभार : नारायणगोपाल संगीत कोष)



थप समाचार
x