नारायणगोपाल

गीत–गंगा

तीस वर्षपछि साकार हुँदै स्वरसम्राट्को सपना (फोटो/भिडियो)

सरोज बैजु |
मंसिर १९, २०७७ शुक्रबार १५:३९ बजे

नारायणगोपालको बैठक कोठा

नारायणगोपालको सपना थियो, संगीत स्कुल खोल्ने र आर्थिक रूपले विपन्न तथा असहायलाई संगीत पढाउने । उनले यसको नाम पनि जुराएका थिए, गीत–गंगा । उनको चाहना थियो, गीत–गंगाबाट चौबिसै घण्टा गीतसंगीतको धुन प्रवाह होस् । तर, सरस्वतीको बरदपुत्रलाई लक्ष्मीको कृपा कहाँबाट हुन्थ्यो ?

जीवनभरको कमाइले मुस्किलले घरको तला थप्न सकेका नारायणगोपालको यो सपना उनको निधनसँगै धेरैका लागि विस्मृत हुँदै गयो । तर, स्वरसम्राट् पत्नी पेमालाको मनमा यो सपना झन् झन् हुर्कंदै गयो । यही सपनाले नारायणगोपाल संगीत कोष बन्यो अनि अहिले यही कोषको पहलमा गीत–गंगा बनिरहेको छ । यसका लागि स्वरसम्राट्को घर भएकै ठाउँमा काठमाडौं महानगरपालिकाले ६ करोडमा नयाँ भवन बनाइरहेको छ । यसमा त्यहाँका वडाध्यक्ष दीपक केसी मेयर विद्यासुन्दर शाक्यलाई तताउन खुबै लागिपरेका पनि थिए । बन्दै गरेको यो स्वरसम्राट्को सपनाको संसारमा अब संगीत प्रशिक्षण, संगीत लाइब्रेरीसँगै नारायणगोपालले प्रयोग गरेका समानको म्युजियम देख्न पाइनेछ । 


भिडियो :

नारायणगोपाल संगीत कोषका भ्वाइलिन प्रशिक्षक राजकुमार श्रेष्ठका अनुसार महानगरले गत आर्थिक वर्षभित्रैमा भवन निर्माणको काम सकेर कोषलाई जिम्मा लगाउने तयारी थियो तर महामारीका कारण निर्माणको काम सकिएन । अब भने चाँडै सकेर प्रशिक्षण, म्युजिम आदिका काम सुरु गर्ने कोषको तयारी छ ।

राजकुमारका अनुसार कोषले नारायण गोपालले प्रयोग गरेका सबै सामान सुरक्षित राखेको छ । उनले अभ्यास गर्ने हार्मोनियम तथा मादल, उनले लगाउने चश्मा, उनले चलाउने गरेको मोटरसाइकल, उनले संग्रह गरेका किताब र उनले प्रयोग गरेका अन्य सामान पनि नयाँघरमा संग्रहित गरिनेछ ।  नयाँघर बनेसँगै पूरा हुनेछ आर्थिक रूपले विपन्न तथा असहायलाई संगीत पढाउने नारायणगोपालको सपना पनि ।

नारायणगोपालले १ लाख ५५ हजारमा किनेको होन्डाको मोटरसाइकल र हेलमेट (तल)


नारायणगोपालले प्रयोग गर्ने हार्मोनियम


नारायणगोपालले प्राप्त गरेका तक्माहरू


नारायणगोपालले प्रयोग गर्ने चस्मा


नारायणगोपालको घर


नारायणगोपाल अस्पतालमा हुँदा


नारायणगोपालको स्वास्थ्यलाथको लागि आएका पोष्टकार्डहरू ।



थप समाचार
x