संगीत

लोकगीतका नेपाल प्रथम गायक शिव संगीतकाे सांगितिक यात्रा

‘जो मौलिक झयाउरे गीतका आधुनिक ब्रान्ड बन्‍न चाहन्छन्’

विष्णु विश्‍वकर्मा |
मंसिर १८, २०७८ शनिबार १८:५८ बजे

काठमाडौँ - 

बालबालिका पालुवा साना
भोलिका हुन् सुनौला बिहान


सुर्खेतका शिव संगीतले राष्ट्रिय मञ्चमा गाएको यो पहिलो गीत हो । जुन गीतले २०५५ सालको राष्ट्रिय बालगीत प्रतियोगितामा तेस्रो स्थान जित्यो ।

त्यो बेलाका फुच्चे गायक शिव त्यही गीतबाट राष्ट्रियस्तरमा चर्चा बटुल्न सफल भए । प्रतियोगितामै आफूले गाएको गीत तेस्रो भएपछि उनको संगीतको सुर उकालो लाग्यो । आधुनिक ‘फ्लेभर’मा गुन्गुनाउने शिवको असली गायन चाहिँ लोकगीत हो । त्यसमा पनि झ्याउरे । कर्णालीको मौलिक परिचय बोकेको झ्याउरे शिवको नशा नशामा छ । 

लोकगीतमा आफ्नै परिचय बनाउने ‘गोल सेट’ गरेका शिवका लागि ‘टर्निङ प्वाइन्ट’ चाहिँ  २०६१ सालको राष्ट्रिय लोकगीत प्रतियोगिता बन्यो । जहाँ उनले सुर्खेतबाट प्रतिनिधित्व गरेका थिए ।

माया सानै पो थियो देश म जाने बेलैमा
घाट वारि पिपलु त घाट वारि छायाँ
जस्तो तिमलाई पानी तिर्खा उस्तै तिम्लाई माया ।

सुर्खेतको बागीना समूहबाट उदाएका शिवले गाएको यो गीतले प्रतियोगितामा प्रथम स्थान हासिल गर्‍यो । झ्याउरे गीतका गुरु मानिने प्रेमदेव गिरी, गंगा केसी, भीमबहादुर कार्कीको समीपमा शिवले भाका हालेका हुन् । सुर्खेतबाट काठमाडौँको मञ्चमा शिवले झ्याउरे लय हाल्दा दर्शक झुलेका थिए । 

त्यही मन्त्रमुग्ध स्वरमा शिवको प्रतिभा प्रष्फुटन भयो । आफ्नो गायनले प्रथम स्थान हासिल गरेपछि शिवलाई लाग्यो, अब आधुनिक होइन लोकगीतमै मन बसाउनुपर्छ । अनि, सुरु भयो झ्याउरे गीतको संघर्ष यात्रा ।

सानैबाट बहुमुखी प्रतिभाका धनी शिवलाई त्यति ठूलो संघर्ष त आवश्यक थिएन । तर बहुचर्चित नृत्य निर्देशक कुलमान नेपालीका छोरा भएका कारण शिवलाई आफ्नै परिचय जरुरी थियो ।

त्यही कारण नेपाल प्रथम लोकगीतका गायकले बाल क्लबबाट उदाँउदो छविलाई गायक, रेडियोकर्मी, युवा अभियन्ता हुँदै कर्णालीको एक अब्बल युवासम्ममा ढाले । तर आफूलाई लोकगीतमै केन्द्रित गरे । त्यसमा पनि झ्याउरेलाई मुटुमा राखेर ।

‘सानैदेखि गायक बन्ने सपना त थियो नै । तर सबै विधामा हात हाल्दा पनि सन्तुष्टि भने गीत गाउँदा मात्रै मिल्थ्यो,’ बबरमहलको एउटा रेष्टुरेन्टमा फ्ल्यासब्याकमा जाँदै  शिवले भने, ‘जुन कुरा मनमा छ । त्यही कुराको प्राप्तिमा लाग्ने निधो गरेँ। बाँकी कुरा छोडिँदै गए ।’

साठीको दशकमा लोकगीतमा नेपाल प्रथम भएका शिव १० वर्ष कर्णालीमा होमिए । सुर्खेतको केन्द्रदेखि कर्णालीका हरेक गाउँ बस्ती शिवले चहारेका छन् । हरेक मञ्चमा शिव गाइएका छन् । दर्शक उचालेका छन् । आफ्नो स्वर मिसाएका छन् । 

उनी गायकको परिचयमा चिनिन्थे । तर त्योभन्दा बढी एक रेडियोकर्मी, युवा मन भएको अभियन्ता, परिवर्तन रुचाउने समाजसेवी र कर्णालीमा केही गरौँ भनेर बढी देखिन्थे । त्यसले उनलाई लोकगीतमा ‘झ्याउरे’लाई ब्रान्डिङ गर्न अल्झायो ।

लोकगीत राष्ट्रिय गित हो । तर लोकगीतभित्रका अनेक विधामा आफूलाई राष्ट्रिय बनाउन काठमाडौँ आउनुपर्ने बाध्यता छ । धेरै कलाकारका लागि यही ध्रुवसत्य हो । राष्ट्रिय रुपमै अब्बल स्वर भएर पनि कर्णालीलाई कर्मथलो बनाएका शिवलाई पनि अब काठमाडौँ नआई राष्ट्रिय भइँदैन जस्तो लाग्यो ।

त्यसमाथि उनलाई काठमाडौँमै झ्याउरे गीतको ब्रान्डिङमा आफ्नो परिचय बनाउने रहर थियो । त्यसपछि उनले कर्णालीमा बनाएको बहुमुखी प्रतिभाको परिचयलाई सुर्खेतमै राखेर २०७१ सालमा काठमाडौँको ‘नाइट’ बस चढे ।

धेरैपटक सुर्खेत–काठमाडौँ गरिरहेका शिवलाई नाइट बसको यात्राले फेरि एकपटक ‘फ्ल्यासब्याक’मा पुर्‍यायो । किनकि उनलाई अब काठमाडौँमै बस्नु थियो । आफ्नो गायकीलाई शिखरमा पुर्‍याउनु थियो । अनि कर्णालीको मौलिक झ्याउरेलाई राष्ट्रिय भाका बनाउनु थियो ।

यसबीचमा शिवले ‘आउनु है माया’, ‘वनमा चरी’, ‘सिम्ता दरा’, लगायतका दर्जनौँ गीत गाए । सुरु सुरुमा आफ्नै गीतमा स्वर र संगीत दिने शिव अहिले अरुका गीतमा पनि सुर दिन थालेका छन् । उनको यो व्यस्ततामा संघर्ष, सफलताको भोक र एक शिखर छुने लगन छ । 

‘ गायक बन्न सजिलो छ । तर आफ्नै नाममा गायकको परिचय बनाउन गाह्रो छ,’ शिवले आफ्नै संगीतको गहिराइमा डुबेर भने , ‘लामो संघर्ष अनि गाह्रो कामलाई सहजै गर्न सक्ने क्षमतामै सफलताको रहस्य लुकेको छ । म त्यसैको एउटा पर्याय हुँ ।’

त्यसैले उनी सबै गीत गाउँदैनन् । सबै गायनका लागि गरिएका अफर स्वीकार गर्दैनन् । गीतमा स्वर र संगीत मिसाएर मात्रै होइन, लय र भावको गतिलाई पनि दर्शकको मनमा बसाउने गरी गीत गाउनुपर्ने उनको धारणा छ । त्यसका लागि हतार होइन, विस्तारपूर्वक यात्रा गर्ने उनको ध्येय छ ।

‘अहिले सफलताको नाममा भाइरल हुने लहर छ । अनि भाइरल नै भएर गीत संगीतको गुणस्तरलाई सिध्याउने लस्कर पनि देखिन्छ,’ शिवले सारमा संगीतको सार्थकता औल्याउँदै भने, ‘त्यसैले दुई चार दिनका लागि भाइरल बन्ने गीत होइन, जीवन्त बन्ने गीतको गायक बन्नुछ ।’


Author

थप समाचार
x