संगीत

प्रेमध्वजको जन्मजयन्तीमा खरेल, तुलाधर र नेवार सम्मानित

इकागज |
जेठ २७, २०८० शनिवार १६:३५ बजे

फाइल फोटो

काठमाडौँ - स्वर्गीय प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा तीन स्रष्टा सम्मानित भएका छन् । सम्मानित हुनेमा गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार रहेका छन् । 

ललितपुरमा आज आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले गीत तथा सङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत् वरिष्ठ गीतकार खरेललाई रू एक लाखसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मान प्रदान गरे । यस्तै, वरिष्ठ सितारवादक तुलाधरलाई रू ७५ हजारसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सङ्गीत सम्मान प्रदान गरे । यसैगरी गायिका नेवारलाई रू ५० हजारसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कारबाट सम्मानित गरिएको छ ।


सम्मान तथा पुरस्कार हस्तान्तरणपछि लोकसंस्कृतिविद् दिवसले साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा जनस्तरमा ल्याउनु जरुरी रहेको बताए । “देशको विकास भौतिक रुपले मात्रै नभई कलात्मक र साहित्यिक रुपले पनि अगाडि बढ्नु जरुरी छ । प्रेमध्वजलाई आधार बनाएर गरिएको कार्यक्रमको प्रशंसा गर्दछु”, उनले भने । गीत र सङ्गीतले मनोरञ्जन मात्रै दिँदैन, देश र विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने दिवसको भनाइ थियो ।

वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीले प्रेमध्वज प्रधानको आवाजमा रेडियो नेपालमा २०१३ सालमा पहिलो गीत ‘रेकर्ड’ भएपछि हिन्दी गीतको दबदबा हट्दै गएको बताए । “प्रेमध्वज प्रधानको आवाजमा रेडियो नेपालमा २०१३ सालमा ‘यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ...’ भन्ने गीत रेकर्ड भएको थियो । विसं २०१४ पछि नेपाली गीत रेकर्ड हुन थाले, त्यसअघिसम्म हिन्दी गीतको दबदबा थियो । हिन्दी गीत विस्थापित हुन थाले, नेपाली गीत स्थापित हुन थाले”, उनले भने । 

गीतकार अधिकारीले नेपाली भाषाको परिष्कृत र परिमार्जनलाई हेर्नुपर्‍यो भने खरेलका गीतलाई अध्ययन गर्दा हुने धारणा राखे । खरेलका गीतमा प्रकृति, प्रेम र लोकजीवन पाउन सकिने उल्लेख गर्दै उनले खरेलका दुई दर्जनभन्दा बढी गीत प्रेमध्वज प्रधानको आवाजमा प्रवाहित भएको बताए । 

सम्मान कार्यक्रममा आनन्द कार्की, उदेश श्रेष्ठ, सुरज थापा र पुरस्कृत कलाकार नेवारले प्रेमध्वज प्रधानका गीत प्रस्तुत गरेका थिए । रासस


Author

थप समाचार
x