संगीत

वाइन खेतिका लागि प्रसिद्ध अष्ट्रेलियाको एडिलेडमा नेपथ्यको भव्य कन्सर्ट

इकागज |
माघ १५, २०७९ आइतबार १०:१२ बजे

एडिलेड - अष्ट्रेलिया यात्रामा रहेको नेपथ्यले एडिलेडमा अहिलेसम्मकै भव्य कन्सर्ट  आयोजना गरेको छ । अघिल्लोपटक पनि यसै हलमा नेपथ्यको कन्सर्ट आयोजना गरेका गगन गिरीका अनुसार यसपटकको सो एडिलेडमा  सबैभन्दा व्यापक र व्यवस्थित बनेको हो  । एडिलेड सहरमा चौथोपटक प्रस्तुत नेपथ्यले हिन्डले हलमा  तीन वर्षको अन्तरालपछि यो दोश्रोपटक आफूलाई उभ्याएको थियो ।  

कार्यक्रमको प्रारम्भमै ब्याण्डको भर्खरै रिलिज भएको गीत ‘भटभटे’ प्रस्तुत गरिएको थियो । काठमाडौंका मोटरसाइकल पुस्ता दर्शाउने गीतको भावले एडिलेडका दर्शकहरुलाई उनीहरुको पुरानो यादसँग जोडेको देखिन्थ्यो । त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊन’ हुँदै ‘लामपाते सुरती’ गाएर सुनाइएको थियो ।


कुनै समयकी बेलायती रानीको नाम दिइएको एडिलेड सहर अष्ट्रेलियाकै अरु ठूला सहरभन्दा बेग्लै छ । अरु सहरजस्तो यो ठाउँ उतिबेलाको बेलायती साम्राज्यका कैदी बन्दी राख्नका निम्ति नभई व्यवस्थित सहरीकरणकै उद्देश्यले रानी एडिलेडको नाम दिएर बसाइएको थियो ।

सिड्नी र मेलबर्नको तुलनामा असाध्यै थोरै नेपालीहरुको बसोबास रहेको यो सहरमा पछिल्लो समय भने पढ्न वा बसोबासका निम्ति आउनेहरुको संख्यामा तीव्र वृद्धि हुँदै गइरहेको छ । त्यसमा पछिल्लो समय पुनर्वास गराइएका नेपाली मूलका भुटानीहरुको संख्या पनि यहाँ थपिन पुगेको छ । कार्यक्रम अघि बढ्दै जाँदा गायक अमृतले ‘चरि मर्यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरुले ल्याएको गीत ‘नैनाताल’ सुनाउँदै गए ।

यतिबेला दक्षिणी गोलाद्र्धमा उखरमाउलो गर्मी महिना चलिरहेको छ । यस्तोमा नेपथ्यले नेपाली लोकरक घन्काउन थालेदेखि नै वातानुकुलित हलको तापक्रम पनि बाहिरकै जस्तो बन्नपुगेको थियो । स्तरीय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरुको निम्ति विश्वमै प्रसिद्ध भिनयार्डहरु समेटेको यो सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो ।

शनिबार कन्सर्ट हेर्नआउने दर्शकहरु मध्ये ‘माउन्ट कम्पास वाइन कम्पनी’का मालिक जोडी जो र जोरिका पनि थिए । पचास किलोमिटरको यात्रा गरेर आइपुगेको यो जोडी सुरुदेखि अन्त्यसम्मै हलमा रमाएको देखिन्थ्यो ।
‘तपाईँहरुले गाएको भाषा त बुझेनौं,’ उनीहरु भनिरहेका थिए, ‘तर, हलमा भएका नेपाली दर्शकहरु असाध्यै रमाइरहेको र गायकले भनेको कुरालाई असाध्यै गम्भीरताका साथ लिइरहेको देख्दा हामीलाई पनि कतै न कतैबाट जोडिएको अनुभूति भइरह्यो ।’

यसरी रमाउने अष्ट्रेलियनमा ती दुई जोडी मात्र नभएर आयोजनास्थल ‘हिण्डले म्यूजिक हल’की व्यवस्थापक अन्या पनि थिइन् । ‘गायकमा भएको उर्जा हलभरिका दर्शकहरुमा रोचक तवरले प्रसारित भइरहेको देखिन्थ्यो,’ उनी भनिरहेकी थिइन्, ‘मलाई त्यो दृश्य असाध्यै मनपर्यो।’ आफ्नो कर्मचारीहरुबाट पनि उत्साहजनक प्रतिक्रिया पाएको उनले बताइन् ।

यहाँको कार्यक्रममा पनि ‘यो जिन्दगानी’ प्रस्तुत गरिरहँदा मानवसेवा आश्रममा उद्धार गरिएका आश्रितहरुको तस्बिर देखाइएको थियो । ब्याण्डले यो वर्षभरि नै आफूलाई ‘मानवताको लागि संगीत’ नाराका साथ प्रस्तुत गर्ने संकल्प लिएको छ ।

मञ्चबाट जस्तोसुकै मुडको गीत गाइरहँदा पनि तल दर्शकहरु साथमा साथ मिलाएर गाइरहेका देखिन्थे । अमृतले लोकगीतहरुको श्रृंखलावद्ध प्रस्तुति दिइरहँदा नेपालका कुना कन्दरा घुम्दै लोकगीत संकलनका आफ्ना अनुभवहरु पनि दर्शकसँग साटेका थिए ।

‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरुलाई एकतामा जोड्ने काम गर्छ,’ स्थानीय आयोजक गगन गिरी भनिरहेका थिए, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो ।’ कार्यक्रम सँधैजस्तै अन्तिम लहरमा ‘रेशम’ बाट ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’मा पुगेर अन्त्य भएको थियो ।

‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महसुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘जहाँ बसे पनि नेपाल र नेपालीलाई माया गर्न नछोड्नुस् है ।’ अमृतले त्यस क्रममा नेपाली तन्नेरीहरुलाई जता बसेता पनि मानवताको भावना मुटुमा सँगालेर राखिरहन अनुरोध गरेका थिए ।

रातको ठीक नौ बजे सुरुभएको कन्सर्ट दुइ घन्टासम्म चलेको थियो । अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब क्वीन्सल्याण्ड राज्यतर्फ प्रस्थान गर्नेछ । ब्रिसबेनस्थित ‘फोर्टिच्यूड म्यूजिक हल’मा जनवरी ३१ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरु घन्काउनेछ । ब्रिसबेनपछि फेब्रुअरी ३ तारिखका दिन केन्द्रिय राजधानी क्यानबेरा, ५ तारिख पर्थ, १० तारिख सिड्नी, १३ तारिख मेलबर्न र अन्त्यमा फेब्रुअरी १७ तारिखका दिन होबार्टमा आफूलाई प्रस्तुत गरेपछि ब्याण्ड स्वदेश फिर्नेछ ।


Author

थप समाचार
x