संगीत

१० वर्षपछि हेटौँडामा नेपथ्यको सांगीतिक प्रस्तुति

इकागज |
मंसिर २२, २०७९ बिहिवार २१:२१ बजे

मकवानपुर- नेपालको चर्चित नेपथ्य ब्यान्डले १० वर्षपछि मकवानपुरको हेटौँडामा सांगीतिक प्रस्तुति प्रदर्शन गरेको छ । नेपथ्यले हेटौँडा ४ स्थित भुटनदेवी चौरमा मानवताका लागि सांगीतिक यात्रा प्रस्तुति गरेको हो 

मानवसेवा आश्रम हेटौँडाको सहयोगका लागि बिहीबार बेलुका ६ बजेदेखि निरन्तर २ घण्टा नेपथ्य ब्यान्डका अमृत गुरुङले आफ्नो गीत प्रस्तुत गरेका थिए । गुरुङको प्रस्तुतिले हजारौं हेटौँडेली दर्शकले मनोरञ्जन लिनुका साथै चिसो मौसममा तताएको थियो । 


नेपथ्यले हेटौँडामा यसपटक सातौंपटक प्रस्तुत गरेको हो । छैटौं पटक एक दशकअघि ‘शान्तिका लागि शिक्षा’ अभियान अन्तर्गत उसले सन् २०१२ मा हेटौँडामा प्रस्तुत गरेको थियो । दुईपटक ‘सुन्दर, शान्त, नेपाल’ र चारपटक ‘शान्तिका लागि शिक्षा’ अभियानअन्तर्गत आफूलाई प्रस्तुत गरिसकेको नेपथ्यको सर्वाधिक कन्सर्ट गरिएका सहरमध्ये हेटौँडा पनि पर्छ । 

मानवता प्रवर्द्धनका लागि हेटौँडाको लामसुरेधापमा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रितको संरक्षण र पालन पोषण सहयोगार्थ भएको सांगीतिक कार्यक्रममा नेपथ्यका मुख्य गायक गुरुङले लोक/पप गीतहरू प्रस्तुत गर्दा हेटौंडेली दर्शक उत्सहपूर्वक नाचेका थिए । गुरुङले नेपथ्यको छेक्यो छेक्यो देउराली डाडा.. रेशम...शिर फूल शिरैमा..तालको पानी... मै नाचे छमछमी... जोगले हुन्छ भेट.. लगायत दर्जनौँ गीत गाउँदै माहौल तताएका थिए । 

संगीतका साथसाथै मानवता प्रवर्द्धन उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्न लागेको हो । मुलुकका प्रमुख १० सहरमा गर्न लागेको सांगीतिक कार्यक्रम मकवानपुरको हेटौँडामा तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ । 

हेटौँडा पछि मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ रामनगर मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।  

मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन स्व राज्य थापा स्मृति भवनको निर्माण कार्य सम्पन्न भए पनि बालबालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरू निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरू आश्रित छन् । 

संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम हेटौँडाका लागि महत्वपूर्ण हो,’ मानवसेवा आश्रमको हेटौँडास्थित संयोजक हुमनाथ पौडेलले भने ।  मानवीयताको बीउ रोपिएको हेटौँडाबाटै सडक आश्रित बेसहाराको उद्धार अभियान सुरु भएको थियो । हेटौँडावासीले अत्यन्त उत्साहका साथ सहभागिता जनाएर नेपथ्यसंग मानव सेवा अन्तरगतको सांगीतिक कार्यक्रमलाई भव्य र सभ्य बनाएको पौडेलले बताए ।


Author

थप समाचार
x