संगीत

नेपथ्य टिमलाई हेटौंडामा स्वागत, भोलि नेपथ्य लाइभ कन्सर्ट हुने

इकागज |
मंसिर २१, २०७९ बुधबार १७:२१ बजे

मकवानपुर- मकवानपुरको हेटौंडास्थित भुटनदेवी चौरमा भोलि मंसिर २२ गते हुने ‘नेपथ्य लाइभ कन्सर्ट’ का लागि नेपथ्य समूह हेटौंडा आइपुगेको छ ।

'मानवताका लागि संगीत' भन्ने नाराका साथ मानव सेवा आश्रमले गर्न लागेको कन्सर्टमा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङसहितको टिमलाई स्वागत गरे । नेपथ्य टिमलाई हेटौंडाका स्थानीयले ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ बोलको गीत गाउँदै गायक गुरुङलाई स्वागत गरेका थिए । 


वीरगञ्जको कार्यक्रम सकेर नेपथ्यको टोली हेटौंडा आइपुगेको हो । नेपथ्यले कन्सर्टका लागि चाहिने उच्च स्तरका प्रविधि सबै काठमाडौँबाट ल्याएको छ । पाँच वटा ट्रकमा सामान ल्याइएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आश्रमले जनाएको छ । आन्तरिक तयारी पुरा भएको छ भने नेपथ्यको प्राविधिक टोलीले स्टेज बनाउन थालिसकेको छ । फिल्ड र स्टेजको काम आज साँझसम्म हुने आश्रमले जनाएको छ ।

मानवीयताको बीउ रोपिएको हेटौंडा मानवसेवा आश्रमको केन्द्रीय कार्यालय भएको सहर पनि हो । मानवता प्रवर्द्धनका साथै हेटौंडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरूको संरक्षण र पालन पोषणको सहयोगार्थ भोलि २२ मंसिरमा ‘नेपथ्य लाइभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक/पप गीतहरू प्रस्तुत गर्नेछन् । कार्यक्रमको तयारी तीव्र भएको र टिकट बिक्री करिब करिब सकिएको मानवसेवा आश्रम हेटौंडाले जनाएको छ ।

मानवता प्रवर्द्धनका लागि मुलुकका प्रमुख १० सहरमा गर्न लागेको कन्सर्टअन्तर्गत मकवानपुरको यो कार्यक्रम तेस्रो हो  । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ ।

मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन (स्व. राज्य थापा स्मृति भवन) को निर्माण कार्य सम्पन्न भए पनि बालबालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरू निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरू आश्रित छन् । 

कन्सर्ट यही मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । 

अन्तिम कार्यक्रमका रूपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागी हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइनबाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ । 


Author

थप समाचार
x