महाकाली सन्धि विशेष

वार्ता

महाकाली सन्धि कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : सूर्यनाथ उपाध्याय

विकास थापा |
असोज ४, २०७८ सोमबार १२:२ बजे

भारत र विशेष गरी नेपाल-भारत जलस्रोत मामिलामा गहिरो ज्ञान राख्ने पूर्व जलस्रोत सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय महाकाली सन्धिमा फरक धारणा राख्छन् । महाकाली सन्धि ठीक रहेको तर त्यसको पालनामा भारतले उपेक्षा गरेकाले यो सन्धि कार्यान्वयनमा जान नसकेको उपाध्यायको ठहर छ । अन्तर्राष्ट्रिय जलस्रोत कानुनका ज्ञातासमेत रहेका उपाध्यायसँग इकागजका विकास थापाले महाकाली सन्धिको यो हबिगत हुनुमा कुन-कुन तत्वको भूमिका रह्यो भनी कुराकानी गरेका थिए । तिनै कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत छ :

महाकाली सन्धि भएको २५ वर्ष बितेछ, यस अवधिमा यो सन्धि एक कदम पनि अघि बढेन । यसलाई कसरी लिनुभएको छ ?
यो हाम्रो कूटनीतिक कमजोरी नभई भारतको हेपाहा प्रवृत्तिको परिणाम हो । 


महाकाली सन्धिमा व्याख्या गर्ने प्रावधान छ, यसको गलत व्याख्या गर्दै भारतले सन्धिमै उल्लिखित नेपालले पाउने हक उपभोग गर्न दिएको छैन, यस्तो किन भयो ?
सन्धिमा उल्लेख भएअनुसार भारतलाई के गर्नुपर्छ, के गर्नु पर्दैन भन्‍ने कुरा राम्ररी थाहा छ । उसले सन्धिमा लेखिएका कुरा लागू गर्न मानेन, टेरेन । हामीले अब महाकाली सन्धिअन्तर्गत नै महाकाली आयोग गठन गर्न भारतलाई आग्रह गर्नुपर्छ । यो आग्रह मानेन भने यो विषयलाई संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्छ । भारतको हेपाहा प्रवृत्ति कायम रह्यो । सन्धिमा भएका कुरा मान्दैन/टेर्दैन भने त्यसको पुनरवलोकन गर्नेभन्दा सन्धिमा भएबमोजिमको काम भएन भनेर हामीले आर्बिटेसन (अन्तर्राष्ट्रिय मध्यस्थता) मा जानुपर्छ ।

‘प्याकेज डिल’का नाममा पञ्चेश्वरलाई पनि समेटेर अड्काइयो, खास दुवै देशको हित हुने गरी यो सन्धि कस्तो हुनुपर्थ्यो ?
सन्धिमा उल्लेख भएअनुसार एक कदम काम पनि अघि बढेन । नेपाललाई भारतले वास्ता गरेन । सन्धिको गलत व्याख्या गर्‍यो । सन्धि ठीक छ । भारतले सुरुमै हेपाहा किसिमको काम गरेर टनकपुर बाँध बनायो । टनकपुर बनाउने बेलामा उसले सल्लाह गर्छु भनेको थियो । त्यो कुरा सम्झौतामै उल्लेख थियो । कुनै संरचना बनाउनु परे एकापसमा सल्लाह गर्ने भन्‍ने थियो तर सल्लाह पनि गरेन, भनेको पनि टेरेन, जबर्जस्ती बनायो । त्यहीबेला गिरिजाप्रसाद कोइरालाले गएर सही गर्नुभयो । त्यो गर्न नहुने थियो । महाकाली एफलेक्स बन्डलाई ब्रह्मदेवनेर ल्याएर बाँध्‍ने भनियो । त्यो गर्न हुने थिएन । त्यो गरेपछि हाम्रो विकल्प के थियो भने, सन्धि हुनुअघि सन् २०२० मै ब्रिटिसहरूकै पालामा महाकालीको पानीका विषयमा सहमति भएको थियो । 

नेपालको कूटनीति असफल भएको होइन कि भारतले हामीलाई सजिलो नपारेको हो ।

शारदा ब्यारेज उसले आफ्नो क्षेत्रमा बनायो, त्यो ब्यारेजको एग्रिमेन्ट २०२० मै भएको हो । त्यहीअनुसार काम भइरहेको थियो । एक्कासी टनकपुुर बनाउन थाल्यो । हामीसँग भनेन । टनकपुर ब्यारेज बनाइसकेपछि यो सन्धि गर्नु उपयुक्त थियो । यो गर्दा कमसेकम पन्चेश्वर बन्छ, हामीलाई पनि पानी दिन्छ । किनकि २०२० को सन्धिले त थोरै पानी आउँथ्यो । अब बढी पानी आउँछ भनेर त्यो सन्धिको भन्दा बढ्दा पानी र बिजुली बढी पाउँछौँ भनेरै हामीले एग्रिमेन्ट गरेको हो । यो एग्रिमेन्ट राम्रो थियो । यो बनाउँदा दुवै देशलाई फाइदा हुन्थ्यो । अहिलेसम्म सन्धिअनुकूलको काम नगरिदिएपछि अब हामी अन्तर्राष्ट्रिय मध्यस्थतातिर जानुपर्छ । 

यो सन्धिलाई पुनरवलोकन गर्न भारत सहमत भएमा के-कस्ता प्रावधान राखे नेपालको हित हुन सक्छ ?
त्यसका लागि पहिलो स्टेप, महाकाली आयोग गठन गर्न भारतलाई आग्रह गरौं । त्यो पनि टेरेन भने हामीले यो विषयलाई अन्तर्राष्ट्रियकरण गरौं । अन्तर्राष्ट्रिय क्षेत्रमा उठाऔं यो विषयलाई । भारतले गरेका काम ज्यादतीपूर्ण छन् । संविधान र कानुन विपरीत छन् । भारतले महाकालीमा मात्र होइन, कोशी र गण्डकमा गरेका काम पनि कानुन विपरीत छन् । भारतले हामीलाई अन्याय गरिरहेको छ । 

सन्धिमा महाकाली आयोग बनाउने कुरा उल्लेख छ, आज २५ वर्ष व्यतित भइसक्दा पनि आयोग बनाउनेतिर कसैको ध्यान गएन, बरु पञ्चेश्वर प्राधिकरण बन्यो, त्यसले पनि काम गरेन नि ?
पञ्चेश्वर प्राधिकरणको कामै छैन । त्यो खारेज गरिदिए हुन्छ । त्यसको ठाउँमा महाकाली आयोग चाहिँ गठन गर्नैपर्छ । प्राधिकरणले पञ्चेश्वरको मात्र कुरा गर्छ, महाकाली आयोगले त सबैको कुरा गर्छ नि । आयोग बनाउन पनि भारत मानेन भने यसमा पनि आर्बिट्रेसनमा जान पाइन्छ । भारतले महाकालीमा झुलाइराखेको छ, हामी त्यसैमा झुलिराखेका छौं, यो गलत कुरा हो ।

नेपाली कूटनीति असफल भएको प्रमाण हो त यो ?
होइन, हाम्रा पत्रिकाले नेपालले कूटनीति गर्न जानेन भनेर हाम्रा मान्छेलाई गाली गर्न छोडौं । हाम्रो कूटनीति फेल भयो भन्‍नु हीनताबोध हो । हामीले मुलुकहितमै काम गरेको हो । जबर्जस्ती गर्नेसँग के लाग्छ र ? नेपाली पत्रकार र जनताले के बुझ्‍नुपर्‍यो भने, कसैले हामीलाई हेप्यो भने उसैलाई फाइदा हुने गरी हामीलाई नै गाली गर्ने र हाम्रोविरुद्धमा लेख्‍ने काम बन्द गरौं । यसले राष्ट्रियता कमजोर बनाउँछ ।

भारतले महाकालीमा मात्र होइन, कोशी र गण्डकमा गरेका काम पनि कानुन विपरीत छन् । भारतले हामीलाई अन्याय गरिरहेको छ । 

भारत हामीलाई राम्रो भएको देख्‍नै चाहँदैन, सहयोग नै गर्दैन । कुन चाहिँ कुरामा सहयोग गरेको छ भारतले ? हरेक कुरामा भारतले अप्ठ्यारो पारिदिएको छ । त्यसैले नेपालको कूटनीति असफल भएको होइन कि भारतले हामीलाई सजिलो नपारेको हो ।

महाकाली सन्धि विशेष 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x