फिचर

अफ्रिका अफ नेसन्सः

कोभिड र खेलाडी ‘रिलिज’ विवादका बाबजुत सुरु हुँदै अफ्रिकाको सर्वाधिक ठूलो प्रतियोगिता

इकागज |
पुस ९, २०७८ शुक्रबार १४:३३ बजे

काठमाडौँ- कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव विश्वभर नै परिरहँदा अफ्रिका कप अफ नेसन्स (एफ्कोन) स्थगित हुने हो कि भन्‍ने शंका थियो । तर आयोजक क्यामरुनले यो प्रतियोगिता नरोकिने बताएको छ । एफ्कोन जनवरी ९ बाट सुरु हुँदैछ । 

क्यामरुन र अफ्रिकी फुटबल महासंघ (सीएएफ)ले एफ्कोन स्थगित नहुने बताइरहँदा त्यहाँ सहभागी हुने टिमसँग सबै खेलाडी हुनछन् कि हुँदैनन् भन्ने चिन्ताको समाधान भने भइसकेको छैन । यो चिन्ताको मुख्य स्रोत युरोपियन क्लबहरूले दिएको पछिल्लो अभिव्यक्ति हो । 


युरोपका ठूला क्लबहरूले आफूसँग भएका अफ्रिकी खेलाडीहरूलाई सजिलै रिलिज गर्न नसकिने प्रष्ट पारिसकेका छन् । अफ्रिकामा कोभिड प्रोटोकल पालना हुने नहुनेमा शंसय भएकाले आफूहरूले खेलाडी रिलिज नगर्ने अवस्था पनि आउने उनीहरूको भनाइ छ । 

युरोपियन क्लबहरूसँग विवाद नहोस् भनेर सीएएफले नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार युरोपका क्लबहरूले जनवरी ३ भन्दा अगाडि खेलाडी रिलिज गर्न जरुरी छैन । यसो हुँदा साडियो माने र मोहम्मद सलाह लगायतका स्टारहरूले घर फर्कनुअघि थप दुई लिग खेल खेल्न पाउनेछन् । इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग र स्पेनको ला लिगामा जनवरी २ मा पनि खेल सञ्चालन हुनेछन् । र, एफ्कोनभरी नै यी दुवै लिग जारी रहनेछन् । 

३३ औँ संस्करणको यो एफ्कोन सन् २०२१ को जुन र जुलाईमा हुने तालिका थियो । तर कोभिडका कारण अफ्रिकी फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२२ को जनवरीका लागि सरेको हो । कोभिडको नयाँ भेरियन्ट देखिने र संक्रमणमा पर्नेको संख्या बढ्ने भएपछि एफ्कोन फेरि पनि सार्नुपर्ने बहस सुरु भएको थियो । तर सीएफ र क्यामरुन यस किसिमको तर्कसँग सहमत भएका छैनन् । 

विश्वभरका ४१ लिगको संगठन विश्व लिग फोरमले राष्ट्रिय टिमहरुका लागि खेलाडी रिलिज गर्न आफूहरूलाई समस्या नरहेको तर फिफा र सीएएफले आफूखुशी निर्णय भने गर्न नहुने बताएको छ । 

क्यामरुनले सन् २०१९ को एफ्कोन आयोजना अधिकार पाएको थियो । तर समयकै पूर्वाधार तयार नगरेको भन्दै सीएएफले उबाट अधिकार खोसेको थियो । यसको क्षतिपूर्ति स्वरुप क्यामरुनलाई दोस्रो पटक महादेसीय प्रीतयागिता आयोजना गर्ने मौका दिइएको हो । तर यसपटक पनि क्यामरुनले व्यवधानको सामना गर्नु परेको छ ।

आयोजक क्यामरुनले रंगशालामा उपस्थित हुन चाहनेले अनिवार्य रुपमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने नियम लगाएको छ । प्रतियोगितामा सहभागी हुने २४ टिमका सबै सदस्यको कोभिड जाँच गर्ने चाँजोपाँजो पनि मिलाइएको छ । प्रत्येक रंगशालामा जाँचको व्यवस्था गरेको क्यामरुनले बताएको छ । 

यति हुँदाहुँदै पनि युरोपका क्लबहरू खेलाडी रिलिज गर्न डराएका छन् । किनभने क्यामरुनमा खोप कार्यक्रम प्रभावकारी ढंगले लागू गरिएको छैन । त्यहाँ हालसम्म करिब तीन प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् । दुई करोड ६० लाख जनसंख्या रहेको क्यामरुनले ५० वर्षपछि एफ्कोन आयोजना गर्ने मौका पाएको हो । तर खोप लगाएकाले मात्रै रंगशालाभित्र प्रवेश पाउने भएकाले एकदमै थोरै स्थानीयले मात्रै अफ्रिकी स्टारहरूको खेल प्रत्यक्ष रुपमा हेर्न पाउनेछन् । 

यो एफ्कोनका लागि ओलेम्बे रंगशालालाई मुख्य मैदानका रुपमा विकसित गरिएको छ । करिब ३७ करोड अमेरिकी डलर खर्च गरेको निर्माण गरिएको यो रंगशाला आधिकारीक रुपमा खुल्ला भने गरिएको छैन । यही रंगशालामा हुने उद्घाटन् खेलमा आयोजक क्यामरुन र बुरकिना फासो भिड्नेछन् । फेबु्रअरी ६ मा हुने उपाधि भिडन्त पनि यही रंगशालामा हुनेछ । 
 


 


Author

थप समाचार
x