फिचर

दुई भेट्रानको बलमा ५० वर्षपछि च्याम्पियन बनेका मिनेरो

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १२:३९ बजे

काठमाडौँ- यसपालिको ब्रालिलियन लिग च्याम्पियन बन्यो, एट्लेटिको मिनेरो । ब्रासिलेरो सिरी ए भनिने ब्राजिलियन पहिलो श्रेणी जित्न मिनेरोले ५० वर्ष पर्खनु पर्‍यो । ३६ खेलबाट ८१ अंक बटुलेर मिनेरो लिग विजेता बन्दा फ्लामेङ्गो दोस्रो स्थानमा रह्यो । मिनेरोका लागि यो अहिलेसम्मकै दोस्रो लिग उपाधि हो । 

मिनेरोलाई लिग जिताउन दुई भेट्रान खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । ती खेलाडी हुन्, हल्क र डिएगो कोस्टा । हल्क त लिगको उच्च गोलकर्ता नै रहे । उनले ३५ लिग खेलमा १९ गोल गरे । उनले सात असिस्ट पनि गरे । कोस्टाले भने चार गोल गरे । उनी मिनेरोका लागि पहिलो रोजाइको स्ट्राइकर नभए पनि उनको उपस्थितिले ब्राजिलियन च्याम्पियनका युवा खेलाडीहरूलाई हौसला भने मिल्यो । 


३३ वर्षीय कोस्टाका लागि यो उनको करियरको पाँचौँ लिग उपाधि थियो । उनले २०१३–१४ सिजनमा एट्लेटिकोबाट स्पेनिस ला लिगा उपाधि जिते । यो एट्लेटिकोले १८ वर्षमा जितेको पहिलो लिग उपाधि थियो । उनले गत सिजन फेरि पनि ला लिगा जिते । त्यो पनि एट्लेटिकोकै जर्सीमा । पहिलो स्पेनिस लिग जितेर चेल्सी गएका कोस्टा इंग्ल्यान्डमा दुई पटक च्याम्पियन बनेका थिए । चेल्सी छाडेपछि उनी एट्लेटिको फर्किए र लिग जित्दै स्पेनबाट बिदा लिए । त्यसपछि उनी ब्राजिल फर्किएका हुन् । 

कोस्टा ब्राजिलमै जन्मेका हुन् । तर करियरको सुरुवाती चरणमा उनी पोर्चुगल पुगे । त्यहाँको दोस्रो श्रेणीमा एक सिजन बिताएपछि उनी स्पेन गए । कोस्टाले स्पेनमा दोस्रो श्रेणी हुँदै पहिलो श्रेणीसम्मको यात्रा तय गरे । अनि स्पेनको राष्ट्रिय टिमबाट पनि खेले । तर करियरको उत्तर्राद्धमा उनले मातुभूमि फर्किने निर्णय लिए । र, मिनेरो पुगेको चार महिनामै ब्राजिलियन च्याम्पियन बने ।

मिनेरोको सफलतामा कोस्टोको भूमिका सीमित भए पनि हल्क भने मुख्य नायक बने । युरोपियन क्लब फुटबलमा लामो अनुभव बटुलेका हल्कले पनि आफ्नो भूमिमा पहिलो पटक लिग जितेका हुन् । हुन त हल्कले यसअघि ब्राजिलमा पूरा सिजन लिग नै खेल्न पाएका थिएनन् । भिटोरियाबाट करियर सिनियर करियर सुरु गरेका उनले त्यहाँबाट सिरी ए का जम्मा दुई खेल मात्रै खेलेका थिए । त्यसपछि उनको यात्रा जापानतर्फ सोझिएको थियो । जहाँ उनले आफूलाई सिद्ध गरे र युरोपियन क्लब फुटबलमा प्रवेश गर्ने माध्यम बनाए । 

यी दुईबाहेक अर्का पाका खेलाडी पनि मिनेरोका लागि महत्वपूर्ण साबित भए । ती हुन्, एडुवार्डो भार्गस । चिलीबाट कोपा अमेरिका जितेका भार्गसले १६ खेल खेल्दै चार गोल गरे । मिनेरोमा अर्जेन्टिनाका दुई मिडफिल्डर इग्नासियो फर्नान्डेज र माटियास जाराचोको प्रदर्शन पनि सम्झनलायकको रह्यो । यी दुई मिडफिल्डरले क्रमशः पाँच र सात गोल गरे । 

मिनेरोले घरेलु लिग जित्यो नै महादेसीय प्रतियोगिताको सेमिफाइनल पनि पुग्‍न सफल भयो । कोपा लिबेर्टोडोरेसको सेमिफाइनलमा मिनेरोलाई पालमेरासले हरायो । जो अन्ततः च्याम्पियन नै बन्यो । मिनेरोले अझै दुई उपाधि आफ्नो पोल्टामा पार्न सक्छ । मिनेरो घरेलु कप कोपा डो ब्रासिलको फाइनलमा पुगेको छ । यसैगरी प्रान्तीय लिगमा पनि मिनेरो शीर्षस्थानमा छ । 

३५ वर्ष पुगिसकेका हल्कले सन् २०२१ मा मात्रै ६६ खेल खेल्न भ्याए । उमेर बढ्दै गए पनि उनको फिटनेसमा शंका गर्ने ठाउँ छैन । उता कोस्टाले पनि तीन महिनाभित्र २५ खेल खेले । आउँदो सिजन पनि यी दुई भेट्रानको गति कायम रहने अनुमान गर्न गाह्रो छैन । जसरी जित्नुपर्छ भन्‍ने मानसिकता भएका यी दुई फरवार्डको उपस्थितिमा मिनेरोले फेरि पनि ब्राजिलियन लिग उपाधिमाथि आफ्नो ध्यान केन्द्रित गर्ने नै छ ।
     

   
 


Author

थप समाचार
x