फिचर

युवा खेलाडीको काँधमा एल क्लासिको

इकागज |
कात्तिक ७, २०७८ आइतवार १७:५५ बजे

तस्बिर स्पेनिस अखबार मार्काबाट

काठमाडौँ- स्पेनिस रेफ्रि एडुवार्दो गोन्जालेज नोभेम्बर, २०१० को घटना सम्झिन्छन् । सोमबारको त्यो रात, बाार्सिलोना र रियल म्याड्रिड भिडिरहेका थिए । एल क्लासिकोको त्यस खेल दौरान बार्सिलोनाका लियोनल मेस्सी र रियलका सर्जियो रोमोसबीच घम्साघम्सी पर्‍यो । ‘रामोस मेस्सी भएतर्फ आइरहेका थिए । मलाई लाग्यो, रामोसले मेस्सीलाई हिर्काउने छन्,’ गोन्जालेज भन्छन् । घम्साघम्सीपछि रामोसले रातो कार्ड पाए । 

संयोग नै मान्‍नु पर्छ कुनैबेला प्रतिद्वन्द्वी टिममा रहेका यी दुई खेलाडी अहिले एकै क्लबमा छन् । आइतबार रातिको खेलका लागि उनीहरूले आफूलाई तयार गरिरहेको हुनुपर्छ । किनभने पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिगमा चिरपरिचित प्रतिद्वन्द्वी मार्सेको सामना गर्दैछ । उता स्पेनमा भने एल क्लासिकोको नयाँ खेलमा बार्सिलोनाले रियललाई स्वागत गर्दैछ । 


एल क्लासिकोको इतिहासमा मेस्सी र रोमोसले कीर्तिमान बनाएका छन् । कीर्तिमान खेल संख्याको हो । मेस्सी र रामोसले ४५ एल क्लासिको खेलेका छन् । ला लिगामा आ–आफ्नो टिमका कप्तान रहेका यी दुई खेलाडीले एक पटक स्पेन छाडे । तब त १६ वर्षपछि पहिलो पटक मेस्सी र रामोसविनाको एल क्लासिको हुँदैछ, आइतबार राति । 

स्पेनमा घम्साघम्सीमा उत्रन पछि नपर्ने यी दुई खेलाडी पेरिसमा भने मित्र हुन् । जब मेस्सी पेरिस ओर्लिए, रामोसले प्रस्ताव राखे, मेरै घरमा बसौँ । ‘कसले अनुमान गरेको थियो र, कुनै दिन हामी एउटै टिमबाट खेल्नेछौँ भनेर ?,’ रामोस भन्छन् । हुन त यी दुवै खेलाडीले स्पेनमै रहने इच्छा नराखेको होइन । तर अन्ततः उनीहरुले आफूलाई मनपर्ने ठाउँ छाड्नु पर्‍यो । र, संयोग नै मान्‍नु पर्छ, दुवै एउटै बाटो लागे । 

पीएसजीमा मेस्सी लगातार खेलिरहेका छन् । रामोस भने चोटका कारण मैदान बाहिर छन् । दुवै जना सँगै मैदान उत्रने मौका जुरिसकेको छैन । रामोसले दुवै खेल टेलिभिजनमा हेर्ने छन् । पहिले एल क्लासिको अनि चार घण्टापछि पीएसजी र मार्सेबीचको खेल । 

कुनै समय थियो, बार्सिलोनाको फरवार्ड युरोपभरिकै बलियो थियो । मेस्सी, नेयमार र लुइस स्वारेज सम्मिलित त्यस फरवार्ड लाइनले कयौँ उपाधि जित्यो । च्याम्पियन्स लिग पनि उचाल्यो । त्यस फरवार्ड लाइनका दुई खेलाडी पीएसजीमा छन् । मेस्सी र नेयमारलाई साथ दिने अर्का जुझारु फरवार्ड पनि छन्, किलियान एमबाप्पे । हुन त एमबाप्पे लगातार पीएसजीसँग जोडिइरहेका छन् । आगामी जुलाईमा एमबाप्पे रियलको नयाँ स्टार बन्‍ने सम्भावना प्रबल छ । 

उता बार्सिलोना भने कयौँ समस्यामा फसेको छ । उसले पछिल्लो सरुवा बजारमा फ्रि–ट्रान्सफरमा मात्रै खेलाडी अनुबन्ध गरेको छ । यस्तोमा बार्सिलोनाको टिम लगभग नयाँ छ । युवा प्रतिभा थपिएका छन् । र, एल क्लासिकोमा जित हात पार्न पनि बार्सिलोना युवा खेलाडीहरूकै भरमा हुनेछ । 

नयाँ संस्करणको एल क्लासिको खेलाइने दिन आइपुग्दा, कोभिड–१९ को भय हराइसकेको छैन । क्याम्प नौउ पूर्णरूपमा भरिएको देखिएको छैन । बार्सिलोना पुग्ने पर्यटकको संख्यामा व्यापक गिरावट आएका कारण पनि क्याम्प नौउका सिट नभरिएका हुन् । त्यसमाथि मेस्सी पनि छैनन् । 

सन् २०१० को एल क्लासिको सम्झिने हो जो कोही पनि रोमाञ्चित हुन्छ । दुवै टिममा एक सय एक खेलाडी थिए । विश्व फुटबलमा कहलिएका प्रशिक्षकहरू थिए । अहिलेको अवस्था भने बिलकुलै फरक छ । दुई टिमलाई एउटै घानमा हालेर हेर्ने हो भने, रियलका करिम बेन्जेमा मात्रै ठूला स्टार हुन् । जो यसपालीको बालोनडोरको दौडमा छन् । उनले वर्तमान लय पनि बाँकी खेलाडीले छुन नसक्ने प्रकारको छ । 

यीनै बेन्जेमा एल क्लासिकोको महत्व नघटेको दाबी गर्छन्, भलै बार्सिलोना र रियलमा स्टारहरुको संख्या घटेको होस् । उसो त बार्सिलोनामा जेरार्ड पिके अझै छन् । सर्जियो अग्वेरो र मेम्पिस डिपे पनि क्याट्लन क्लबसँग जोडिएका छन् । उता रियलमा एडेन हाजार्ड, टोनी क्रुस, लुका मोड्रिच पनि त छन् । यीबाहेक प्रतिभाशाली युवा खेलाडीहरुको उपस्थिती पनि बाक्लो छ । रोड्रिगो, भिनिसियस, गाभी, निको, पेड्री, आन्सु फाती आदि । आन्सुलाई त मेस्सीकै जर्सी दिइएको छ । 

दुवै टिममा किशोर तथा युवा खेलाडीहरुको आगमन हुँदै गर्दा प्रतिद्वन्द्वीता फरक विन्दूमा पुगेको अनुमान गर्न सकिन्छ । कतिले भनिरहेका छन्, प्रतिद्वन्द्वीताको स्तर उस्तै छैन । किनभने दुई क्लबबीचको ऐतिहासिक प्रतिद्वन्द्वीतलाई काँध हाल्ने विश्व विख्यात खेलाडीहरू दुवै टिममा बाँकी छैनन् । स्पेनका सञ्चार माध्यमहरू, एल क्लासिकोलाई फाती र भिनिसियसबीचको भिडन्तका रुपमा पनि प्रचार गरिरहेको भेटिए । तर यो प्रयास निरश छ । मेस्सीविरुद्ध क्रिस्टियानो रानोल्डो हुने एल क्लासिको अब दुई किशोरको भरमा पर्ने बेला आइपुग्नु खासै उत्साहजनक घटनाक्रम होइन । 

हुन त बार्सिलोना र रियल जस्ता ठूला क्लबमा खेलाडी आउने, जाने भइरहन्छ नै । यो नयाँ कुरा होइन । मेस्सीले छाडेपछि उनको जर्सी पाएका फातीमाथि ठूलो दबाब छ । र, उनीबाट आशा पनि उत्तिकै छ । उनी आफू चाहिँ मेस्सीलाई कसैले प्रतिस्थापन गर्न नसकने बताइरहेका छन् । 

उता पिके पनि फातीबाट मेस्सीको जस्तो प्रदर्शनको अपेक्षा राख्नु गलत भएको बताउँछन् । ‘फाती किशोर खेलाडी हुन् । भर्खरै चोटमुक्त भएका छन् । मैदान फर्कने वित्तिकै गोल त गरेका छन्, तर उनीमाथि दबाब सिर्जना गर्नु गलत हो । हो बार्सिलोना र रियल जस्ता टिममा मेस्सी जस्ता खेलाडी चाहिन्छ । तर हालका लागि यो सम्भव छैन,’ पिकेले भनेका छन् । 

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्ता भने फातीले एल क्लासिकोमा गोल गर्ने विश्वास राख्छन् । ‘फातीले गोल गर्ने कुरामा म आशावादी छु । गोल कसरी गर्ने भन्ने कुरा फातीलाई थाहा छ,’ लापोर्ताको भनाइ थियो । फाती आफैँ चाहिँ कत्तिको आत्मविश्वासी छन् ? हुनसक्छ, एल क्लासिकोमा गोल गर्दै बार्सिलोनाको नयाँ स्टार बन्ने बाटोमा लम्कन सक्छन्, फाती । 

दी गार्डियनबाट 


Author

थप समाचार
x