फिचर

हामीसँग हारका लागि समय छैन : युनाइटेड प्रशिक्षक सोल्स्यार

म्यानचेस्टर युनाइटेडविरुद्ध लिभरपुल

इकागज |
कात्तिक ७, २०७८ आइतबार १४:५९ बजे

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले ओले गनर सोलस्यारलाई डिसेम्बर, २०१८ मा ओल्ड ट्राफोर्डमा फिर्ता ल्यायो । र, काम चलाउ प्रशिक्षकको जिम्मेवारी दियो । आफ्ना पूर्वखेलाडी क्लबमा फर्कदा युनाइटेड समर्थक उत्साहित नै देखिए । मार्च, २०१९ मा सोल्स्यार स्थायी प्रशिक्षकमा नियुक्त भए । त्यसबेला तीन वर्षका लागि सम्झौता गरेका सोल्स्यारले गत जुलाईमा फेरि नयाँ सम्झौता गरेका छन्, युनाइटेडसँग । 

सोल्स्यायरलाई युनाइटेडले विश्वास गरेको छ । यसको प्रमाण हो, सम्झौता नवीकरण । भरोसा नभए, कुनै उपाधि जिताउन नसकेका सोल्स्यारलाई फेरि किन नयाँ सम्झौता दिन्थ्यो र ? तर यही भरोसाका कारण सोल्स्यार दबाबमा छन् । सुरुवातमा युनाइटेडलाई ट्रयाकमा ल्याउने जिम्मेवारी पाएका सोल्स्यारलाई दिइएको नयाँ लक्ष्य हो, इंग्लिस प्रिमियर लिग ट्रफी ।  


युनाइटेड गत सिजन लिगमा दोस्रो भयो । लिभरपुलको प्रदर्शनमा गिरावट आएपछि च्याम्पियन म्यानचेस्टर सिटीलाई नजिकबाट पछ्याउने टिम बन्यो, युनाइटेड । अब भने दोस्रो बनेर सोल्स्यार र युनाइटेडलाई धर छैन । प्राथमिक लक्ष्य भनेको च्याम्पियन बन्ने नै हो । तर यो बोटो सहज छैन । किनभने उपाधि दौडमा चेल्सी फर्किएको छ । थोमस टुकेलको नेतृत्वमा रहेको चेल्सी अहिलेको लिग लिडर हो । दोस्रो स्थानमा सिटी छ । तेस्रो स्थानमा लिभरपुल आसिन छ । 

यही लिभरपुलसँग आइतबार भिड्दैछ छैटो स्थानको युनाइटेड । ओल्‍ड ट्रार्फोडमा हुने खेलअघि सोल्स्यारले आफ्ना खेलाडीहरूलाई चेतावनी दिएका छन्, ‘हामीसँग हार्ने विकल्प छैन । हारका लागि समय छैन,’ सोल्स्यारको यो अभिव्यक्ति आफ्नो टिम र लिभरपुलबीचको अंक दूरीका कारण पनि आएको हो भनेर अनुमान गर्न गाह्रो छैन । युनाइटेड हारे, दुई टिमको दूरी सात अंकमा पुग्‍नेछ ।  

युनाइटेडले पछिल्लो समय उति राम्रो खेल्न सकेको छैन । गएका तीन खेलबाट उसको खातामा एक अंक मात्रै चढेको छ । उसको पछिल्लो जित भनेको वेस्टह्याम युनाइटेडविरुद्धको हो । जुन एक महिनाअघि हासिल गरेको थियो । यता लिभरपुल भने सबैखाले प्रतियोगितामा गरी १२ खेलमा अपराजित छ ।  

कमसेकम कागजमा युनाइटेड प्रिमियर लिगकै बलियो टिम हो । क्रिस्टियानो रोनाल्डो सम्मिलित युनाइटेडले जेडोन सान्चोलाई पनि अनुबन्ध गरेको छ । जो गत सिजनसम्म जर्मन बुन्डेसलिगामा उत्कृष्ट दरिएका विंगर हुन् । अनि युनाइटेडले रियल म्याड्रिडबाट राफाएल भारानलाई पनि भित्र्याएको छ । ह्यारी मग्वाएर, भिक्टर लिन्डेलफ जस्त नाम चलेका रक्षक त पहिल्यैबाट छँदै थिए । यति हुँदाहुँदै पनि गोल गर्ने मामलामा युनाइटेड शीर्ष तीनका टिमभन्दा कमजोर सावित भएको छ भने उनीहरूले भन्दा बढी गोल खाएको छ । 

यद्यपि सोल्स्यार आशावादी छन्, आफ्नो टिमको प्रदर्शन सुध्रने कुरामा । ‘हामीसँग रोनाल्डो र एडिन्सन काभानी छन्, जो विपक्षीको बक्समा खतरनाक मुभ बनाउन सक्छन् । मार्कस रोसफोर्ड पनि टिममा फर्किएका छन् । यसकारण म आशावादी छु । हामीसँग पर्याप्त गोलकर्ता छन् तर टिममा सन्तुलन कायम राख्‍न जरुरी छ,’ सोल्स्यारले भनेका छन् ।  

युनाइटेड र लिभरपुल, इंग्लिस फुटबलका दुई सर्वाधिक सफल क्लब हुन् । उपाधि जित्ने मामलामा यी दुई टिमको दूरी ठूलो छैन । युनाइटेड २० पटक च्याम्पियन बन्दा लिभरपुलको ‘ट्रफी क्याबिनेट’मा १९ प्रिमियर लिग ट्रफी छन् । यस्तोमा यी दुई टिम आमनेसामने हुँदा, विश्व फुटबल तरंगित हुन्छ नै । दुई टिमबीचको प्रतिद्वन्द्वीताबारे विश्व जानकार छ । सोल्स्यार पनि यो खेलको महत्वबारे जानकार छन् ।

‘यो प्रतिद्वन्द्वीता दुई क्लबको मात्र होइन, दुई सहरको पनि हो । यसको बेग्लै इतिहास छ । यस किसिमको प्रतिद्वन्द्वीता विश्वका अन्य भागमा बिरलै भेटिन्छ । यसकारण हामीले यो प्रतिद्वन्द्वीता र खेललाई ठूलो महत्व दिन जरुरी छ र दिन्छौँ पनि,’ सोल्स्यार भन्छन् । 

लिभरपुल बलियो टिम भएका तथ्यलाई स्विकार गर्ने मामलामा सोल्स्यार इमान्दार देखिएका छन् । ‘पछिल्ला चार वर्षमा धेरै परिवर्तन भएको छ । हामी लिभरपुललाई निरन्तर पछ्याइरहेका छौँ । अब हामीले महत्वपूर्ण खुड्किलो पार गर्ने समय आएको छ । यो भनेको लिभरपुललाई पछि पार्ने कदम हो । लिभरपुल असाध्यै बलियो टिम भएको शंका छैन । तर हामीलाई लिभरपुलभन्दा बलियो हुनु छ,’ सोल्स्यारले भनेका छन् । दी गार्डियनको सहयोगमा 


Author

थप समाचार
x