फिचर

आर्कषक खेल शैली नभएको म्यानचेस्टर युनाइटेडमा रोनाल्डो नै बलियो अस्त्र !

इकागज |
कात्तिक ४, २०७८ बिहीबार १९:३१ बजे

काठमाडौँ- पछिल्लो समय म्यानचेस्टर युनाइटेड र प्रशिक्षक ओले गनर सोल्स्यारको खुबै आलोचना भइरहेको छ । आलोचकहरू भनिरहेका छन्, युनाइटेडको आफ्नो प्रकारको खेल शैली भएन । हुन पनि फुटबलमा कुनै पनि टिमको ‘आइडेन्टिटी’ महत्वपूर्ण रहन्छ । झन् युनाइटेड जस्तो ठूलो क्लबको त खेल ‘आइडेन्टिटी’ हुनैपर्छ । 

तर सोल्स्यारको टिमको ‘आइडेन्टिटी’ भनेको ३६ वर्षिय क्रिस्टियानो रोनाल्डो हुन् कि भन्‍ने भान भइरहेको छ । उनै पाका रोनाल्डोले च्याम्पियन्स लिगमा एटलान्टाविरुद्धको खेलमा युनाइटेडको उद्दार गरे । आफ्नो टिमलाई जित दिलाउन निर्णायक गोल गरे । त्यो पनि ८१ औँ मिनेटमा । 


इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग चार गोल खाएपछि सोल्स्यारको भविष्यमाथि नै प्रश्न उठेको थियो । अनि सोधिँदै थियो, अफ्ठ्यारा खेलमा युनाइटेडलाई जिताउन सोल्स्यारको अस्त्र के हो ? इटालियन क्लब एटलान्टासँगको खेलमा रोनाल्डोले सोल्स्यारमाथि उठेको प्रश्नको जवाफ दिने प्रयत्न गरे । 

जितले युनाइटेडलाई समूह एफको शीर्षस्थानमा पुर्‍याएको छ । युनाइटेडले तीन खेलबाट ६ अंक बनाउँदा दोस्रो स्थानमा एटलान्टा छ । एटलान्टा र स्पेनको भिल्लारियालको चार–चार अंक भएपनि गोल अन्तरमा यी दुई क्लब तलमाथि छन् ।

ओल्ड ट्राफोर्डमा इटालियन क्लबको सामना गर्दा युनाइटेड पहिलो हाफमा पछि पर्‍यो । पहिलो हाफको नतिजाले युनाइटेड समूहको चौथो स्थानमा थियो । तर खेल सकिँदा युनाइटेडले पहिलो स्थानमाथि कब्जा जमायो । युनाइटेड जितको हकदार थियो । निर्धारित ९० मिनेटको खेलमा युनाइटेडले एटलान्टाले भन्दा धेरै पटक आक्रामण बुन्यो । 

खेलमा एटलान्टाविरुद्ध हावी भएपनि युनाइटेडको खेल शैलीमा उसका समर्थकले चित्त बुझाउन सकेनन् । सजिलै गोल खाएको र फितलो आक्रामण बुनेको भन्दै सोल्स्यारको टिमको आलोचना गरियो । हुन पनि मारियो पासालिकले गरेको पहिलो गोल रोक्न सकिने प्रकारको थियो । अनि उनलाई असिस्ट दिन डेभिड जापाकोस्टाले बनाएको मुभ पनि त्यस्तै थियो । फुलब्याक जापाकोस्टाले युनाइटेडका तीन खेलाडीलाई बिट गरेका थिए । 

हुन त युनाइटेडले यसअघिका खेलहरूमा पनि यसरी सजिलै गोल खाएको छ । यसैकारण हुनसक्छ, युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले एटलान्टाको खेलअघि नै आफूहरूले रक्षापंक्तिमा सुधार गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । 

रक्षापंक्तिमा मात्र होइन, अन्य पोजिसनमा पनि युनाइटेडको प्रदर्शन खस्केको छ । यसमा ब्रुनो फर्नान्डेजको कमजोर लय पनि कारक हो । एटलान्टासँगको खेलमा पहिलो हाफमा बु्रनोको प्रदर्शन बिर्सनलायकको थियो । यद्यपि दोस्रो हाफमा उनी निर्णायक साबित भए । दुई असिस्ट प्रदान गरे । उनकै असिस्टमा भएका दुई गोलले युनाइटेडलाई जिततर्फ डोहोर्‍याए । यस्तोमा प्रश्न उठ्छ, युनाइटेडले कहिलेसम्म यो तरिकाले हारलाई झुक्काउन सक्छ ? 

प्रिमियर लिगमा आउँदो आइतबार युनाइटेडले लिभरपुलको सामना गर्दैछ । यो खेल सोल्स्यार र उनका खेलाडीहरूका लागि कठिन परीक्षा हुने देखिन्छ । किनभने लिभरपुल ‘प्रेसिङ गेम’ खेल्छ । लिभरपुलका खेलाडीहरूको प्रेसिङ युनाइटेडको रक्षापंक्ति र मिडफिल्डले धान्न सक्छ ? यो महत्वपूर्ण सबाल हो ।

युनाइटेडका पूर्वखेलाडी पउल स्कोल्स सोल्स्यारको टिमले लिभरपुललाई चुनौती दिननसक्ने ठहर गर्छन् । ‘युनाइटेडका खेलाडीहरू एकताबद्ध भएर खेल्न सक्दैनन् । उनीहरुले एटलान्टाविरुद्ध जसरी खेले, त्यसरी नै लिभरपुलविरुद्ध खेल्दा के होला ? वा म्यानचेस्टर सिटी अनि अन्य ठूला टिमसँग भिड्दा? युनाइटेड निकै नै चिन्ताजनक अवस्थामा छ,’ स्कोल्सले बेलायती टेलिभिजन च्यानल बीटी स्पोर्ट्ससँग भनेका छन् । 

स्कोल्सले संकेत गरेझैँ युनाइटेडमा सुधारको आवश्यकता छ । सोल्स्यारले आफ्ना खेलाडीहरूलाई भनिसकेका छन्, ‘अब यो तरिकाले हुँदैन ।’ हो, युनाइटेडका खेलाडीहरू अन्तिम समयसम्म पनि लड्न छाड्दैनन् । तर सुरुबाटै आफ्नो स्तर अनुसारको खेल देखाए, जितका लागि उत्तर्राद्धसम्म पर्खनु पर्दैन । सोल्स्यारको सन्देश यही हो । आउँदा साता युनाइटेडले कठिन प्रतिद्वन्द्वीहरूको सामना गर्नुपर्ने भएकाले पनि सोल्स्यारको यो सन्देशको महत्व असाध्यै धेरै छ । 


Author

थप समाचार
x