फिचर

भारत-पाकिस्तानकै कारण नेपालले एसिया कप खेल्न नपाउने सम्भावना बढ्दै

सञ्जीव शाह |
बैशाख २९, २०८० शुक्रवार ११:१ बजे

काठमाडौँ-  पाकिस्तानले २०२३ को सेप्टेम्बर मा आयोजना गर्ने भनिएको एसियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गतको एसिया कपका लागि नेपाल छनोट भइसकेको छ । नेपालमै भएको एसीसी प्रिमियर कपको उपाधि जितेर नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

एसिया कपका लागि नेपाल दोस्रो पटक छनोट भएको हो । २१ वर्ष अगाडि अर्थात सन् २००२ मा नेपालले एसिया कपमा पहिलो पटक स्थान सुरक्षित गरेको थियो । तर भारत र पाकिस्तानबीचको कारगिल युद्धका कारण एसिया कप रद्ध भयो । त्यससँगै पहिलो पटक एसिया कप खेल्ने नेपालको सपना पनि चकनाचुर भयो ।


तर २१ वर्षपछि छनोट भएर नेपालले पुनः एसिया कपमा छनोट भएको छ । तर अहिले पनि खेल्न पाउने कि नपाउने ‘सस्पेन्स’ यथावत् छ । यस वर्षको एसिया कपका लागि पाकिस्तान, भारत र नेपाल समूह ‘ए’ मा रहेका छन् । यसको अर्थ नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाउँदै थियो । अर्को समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

तर भारतको क्रिकेट बोर्ड (बीसीसीआई) ले एसिया कपका लागि पाकिस्तानको भ्रमण नगर्ने प्रस्ट पारिसकेको छ । यसको विकल्पमा पाकिस्तान क्रिकेट बोर्डले भने ‘हाइब्रिड मोडल’ अर्थात एसिया कपका १३ मध्ये ४ खेलमात्र पाकिस्तानमा आयोजना गरेर बाँकी खेल तटस्थ मैदानमा खेलाउने विकल्प दिएको क्रिकइन्फोले जनाएको छ । पाकिस्तानमा तटस्थ मैदान चाहिँ यूएईलाई मान्ने गरेको छ । पाकिस्तान आउन नचाहने टोलीसँग पाकिस्तानले यूएईकै मैदानमा खेल खेल्‍ने गरेको छ ।

यसको अर्थ नेपाल, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले एक खेलका लागि पाकिस्तानको भ्रमण गर्नु हो । पाकिस्तान क्रिकेट बोर्ड भारतले खेल्ने खेल भने पाकिस्तानमा नहुने विकल्प प्रस्तुत गरेको छ ।

यति हुँदाहुँदै बीसीसीआईले भने एसिया कप पाकिस्तानमा हुन नहुने अडान लिएको छ साथै भारतीय संचारमाध्यमहरुले पनि एसिया कप पाकिस्तानमा नभई श्रीलंकामा हुने जनाइरहेका छन् । यसका लागि बंगलादेश र श्रीलंका पनि भारतकै पक्षमा उभिएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख नजाम सेठी भने बंगलादेश र श्रीलंकाले पनि पाकिस्तानबाट एसिया कप सार्नुपर्ने कुरालाई समर्थन गरेपछि असन्तुष्ट बनेको क्रिकइन्फोले उल्लेख गरेको छ । गत मंगलबार एसीसीको पदाधिकारीसँगको छलफलमा सेठीले एसिया कप आयोजनाका लागि विकल्पहरुको बारेमा समेत छलफल गरेका थिए । उनले एसिया कपका केवल ४ खेलमात्र पाकिस्तान गराएर बाँकी सबै खेल अन्यत्र खेलाउने विकल्प समेत अघि सारेका थिए ।

पाकिस्तानले तटस्थ मैदानका लागि यूएईलाई प्राथमिकतामा राखेपनि श्रीलंका र बंगलादेशले भने प्रतियोगिताका समयमा यूएईमा तापक्रम उच्च हुने भएका कारण खेल्न नसकिने भन्दै असन्तुष्टि जनाएका छन् ।

अर्कोतर्फ भारतले यसै वर्षको अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म आईसीसीको एकदिवसीय विश्वकप आयोजना गर्दैछ । र यसका लागि पाकिस्तानले पनि विकल्पहरु अघि सारिरहेको छ । पाकिस्तान बोर्डका अध्यक्ष सेठीले यदि भारतले एसिया कपका लागि पाकिस्तानको भ्रमण नगरे पाकिस्तान सरकारले पनि पाकिस्तान क्रिकेट टिमलाई विश्वकपका लागि भारतको भ्रमण गर्न नदिने बताएका छन् ।

उनले यदि एसिया कपमा हाइब्रिड मोडेलले काम गरे विश्वकपमा पनि पाकिस्तानका लागि तटस्थ मैदानको विकल्प खोज्नुपर्ने अन्यथा पाकिस्तानले भारतको भ्रमण नगर्ने चेतावनी दिएका छन् ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा हिंसा भड्किएको छ र यसले एसिया कप पाकिस्तानबाट सार्ने मुद्दालाई थप सहयोग गर्ने विश्लेषण गरिएको छ ।

तर पाकिस्तान क्रिकेट बोर्डले भने एसिया कप पाकिस्तानबाट सारिए पाकिस्तानले एसिया कपमा सहभागी नहुने पनि चेतावनी दिँदै आएको छ ।

एसीसीका अध्यक्ष तथा बीसीसीआईका सचिव जय शाहले एसिया कपलाई लिएर पछिल्लो समय केही नबोलेपनि एसिया कप हुनेमा आशंका भने उब्जिएको छ र यसबाट सबैभन्दा धेरै घाटा हुने भनेको नेपाललाई नै हो । नेपालले एसिया कपबाट अपेक्षा गरिएको ‘माइलेज एन्ड एक्पोजर’ गुमाउने सम्भावना बढ्दै छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x