फिचर

संयोग होइन नेपाली क्रिकेटको सफलता

इकागज |
फागुन २९, २०७९ सोमबार १३:५४ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई भारी मतान्तरले हराउँदै नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको हो ।

नेपालले अब बाँकी रहेको एक खेल पनि जित्न सके एकदिवसीय विश्वकप छनौट खेल्न पाउनेछ । नेपालले सबैभन्दा ठूलो लक्ष्य राखेको एकदिवसीय मान्यता जोगाउने योजना भने पूरा गरेको छ । एक महिना अघिसम्म नेपालले एकदिवसीय मान्यता जोगाउन सक्छ भन्ने कुरा पनि असम्भव जस्तै देखिएको थियो ।


नेपालले खेलेका पछिल्ला ११ खेलमध्ये १० खेल जितेको छ । यसअघि कीर्तिपुरमा स्कटल्याण्ड र नामिबियासँग खेलेका चारै खेल जितेको नेपालले दुबईमा युएई र पीएनजीसँग भएका चार खेलमध्ये तीन खेल जितेको थियो ।

कीर्तिपुरमा जारी युएई र पीएनजीसँगको अन्तिम सिरिजमा नेपालले लगातार २ खेल जित्दै एकदिवसीय मान्यता जोगाउन सक्षम भएको हो । नेपालले लगातार ३ खेल जितिसकेको छ र अब बाँकी एक खेलमा युएईलाई हराउन सके नेपालले नामिबियालाई पछि पार्दै कूल ३६ खेलबाट ४० अंकसहित लिग-२ को शीर्ष तीनमा रहेर एकदिवसीय विश्वकप छनौट खेल्न पाउने भएको छ ।

शीर्ष स्थानमा रहेका स्कल्याण्ड र ओमान यसअघि नै विश्वकप छनौटमा परिसकेका छन् । शीर्ष ३ का लागि बाँकी एक स्थानका नेपाल र नामिबिया दौडमा छन् । नेपालले लगातार खेल जित्दै शीर्ष तीन टोलीमा पर्ने सम्भावना बलियो बनाएको छ ।

नेपालको अबको लडाई नामिबियासँग मात्रै छ । बाँकी रहेको एक खेल जितेमा नेपाल ४० अंकसहित शीर्ष तीन टोलीमा पर्नेछ । नामिबियाको भने ३६ खेलबाट ३९ अंक छ । बाँकी एक खेलमा जित हात पारे एक अंक बढी पाएर नेपाल नामिबियालाई स्तब्ध पार्दै शीर्ष तीन टोलीमा पर्नेछ ।

युएई र पीएनजीलाई यसअघि नै दुबई र कीर्तिपुरमा हराएको अनुभवले नेपाल बाँकी एक खेलमा जित निकाल्न सक्षम पनि छ । त्यो सक्षमता सफलतामा परिणत गर्न सके नेपालले दुई महिनामा नसोचेको जित हात पार्दै नसोचेको सफलता र ऐतिहासिक उपलब्धी हासिल गर्नेछ ।

यो उपलब्धी हासिल गर्नुमा सबैभन्दा ठूलो श्रेय नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईमा जान्छ । उनी नेपाल आउनु र टिम सम्हाल्नु नै नेपाली क्रिकेटले लगातार एकदिवसीयमा जित हात पार्नु सम्भव भएको हो ।

कप्तान रोहित पौडेल पनि टिमको सफलता र सक्षमता हासिल गर्नुको मुख्य हात टिमका खेलाडीपछि प्रशिक्षक देशाई रहेको बताउँछन् । नेपालले एकदिवसीय मान्यता जोगाएको खेलमा ‘प्लेयर अफ द म्याच’ अर्थात उत्कृष्ट खेलाडी घोषित भएका कप्तान पौडेल यो अविश्वसनीय सफलताप्रति खुशी छन् ।

नेपाली टिम संकट र विवादमा परेका बेला रोहितले कम्तानी सम्हाल्दा लगातारको जित र सफलता हासिल हुनु संयोग मात्रै होइन, अथक मेहनत र निरन्तरको प्रयास पनि महत्वपूर्ण छ ।

धरापमा परेको एकदिवसीय मान्यता जोगाउनु र एकदिवसीय विश्वकपका लागि छनौट खेल्न पाउने गरि प्रदर्शन गर्नु नेपाली खेलाडी र प्रशिक्षकले सारा नेपालीलाई ‘सरप्राइज’ दिएकै हुन् ।

नेपाली क्रिकेट सक्षम छ भन्ने कुरा यसबाट प्रमाणित भएको छ । अब नेपाली क्रिकेट टिम, टिमका खेलाडी, प्रशिक्षक र मैदानमा सरकारको सहयोग चाहिएको छ । सरकारले नेपाली क्रिकेट टिमका सबै खेलाडीलाई सबैभन्दा पहिले उचित र आवश्यक पारिश्रमिक दिनुपर्छ । जसले गर्दा खेलाडी पूरै समर्पित भएर क्रिकेट खेल्न सकून् ।

नेपालमा सबैभन्दा कमजोर रहेको क्रिकेट खेलिरहने वातावरण र संरचना अर्थात् मैदान बनाउन आवश्यक छ । अहिले रहेको कीर्तिपूर मैदानको स्तरोन्नति गर्ने र चाँडै नै मूलपानी क्रिकेट रंगशाला सम्पन्न गरेर क्रिकेट खेलाउन सुरु गर्नुपर्छ ।

नेपाली क्रिकेटले बेला बेला सबै नेपालीको भावनालाई जोडेर जितमा हर्ष उल्लास मनाउन सहयोगी भूमिका खेल्दै आएको छ । यसकारण पनि यो भावना, खेल समर्पण र खेलाडी तथा उनीहरूको परिवारलाई पनि निरन्तर उत्साहित पारिरहन नेपाली सक्षम क्रिकेटलाई सरकारले आर्थिक, भौतिक र अन्य आवश्यक सहयोग गरेर दिगो क्रिकेट विकासमा ठोस कदम चाल्न आवश्यक छ ।


Author

थप समाचार
x