फिचर

भारतसँग अस्ट्रेलियाको हारले टेस्ट च्याम्पियनसीपको समीकरण रोमाञ्चक बन्दै

इकागज |
फागुन ९, २०७९ मंगलबार १४:१ बजे

काठमाडौँ- भारतमा चलिरहेको बोर्डर–गाभस्कर ट्रफीले विश्व क्रिकेट टेस्ट च्याम्पियनसीप फाइनलको समीकरण रोचक बनेको छ । भारत भ्रमणमा रहेको अस्ट्रेलिया सुरुवाती दुई टेस्टमा पराजित भएपछि टेस्ट च्याम्पियनसीप फाइनल रोमाञ्चक बनेको हो ।

लगातार दुई टेस्टको हारले शीर्ष स्थानमा रहेको अस्ट्रेलिया फाइनल खेल्न वञ्चित हुन्छ कि भन्ने आशंका समेत बढेको छ ।


नागपुर र दिल्लीमा शानदार जित निकालेपछि भारतले लगातार दोस्रोपटक च्याम्पियनसीप फाइनल खेल्ने सम्भावना देखाएको छ । यदि यो चार खेलको सिरिजमा भारतले सोचेजस्तो नतिजा ल्याएमा र न्यूजील्याण्ड भ्रमणमा एसियाकै अर्को टोली श्रीलंकाले दुई टेस्ट जितेमा फाइनल रोमाञ्चक बन्नेछ । वर्षौदेखि शीर्ष स्थानमा रहेको अस्ट्रेलिया फाइनलबाट बाहिरिनेछ भने भारत र श्रीलंकाले फाइनल खेल्नेछन् । तर यो समीकरण त्यति सजिलो हुनेछैन ।

अस्ट्रेलिया र भारतबीचको टेस्ट सिरिजलाई बोर्डर–गाभस्कर ट्रफी भनिन्छ । क्रिकेट दूनियाँका ‘पावर हाउस’ मानिने यी दुई देशबीचको टेस्ट सिरिज सधैँ रोचक र चर्चामा रहने गर्छ ।

बोर्डर–गाभस्कर ट्रफीमा पछिल्ला तीन सिरिज लगातार भारतले जितेको छ । त्यसमा पनि भारतले दुई पटक अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा पराजित गरेर सिरिजमाथि कब्जा जमाएको छ ।

पहिलो ऐतिहासिक सिरिज विराट कोहलीकै कप्तानीमा जित्दा दोस्रो सिरिज भारतले अजिन्क्या रहाणेको कप्तानीमा जितेको थियो । त्यसअघि भारतमा भएको टेस्ट सिरिज पनि कोहलीकै कप्तानीमा आफ्नो पक्षमा पारेको थियो ।

भारत र अस्ट्रेलियाबीच अब दुई टेस्ट बाँकी छ । निर्णायक ठानिएका दुवै टेस्टका लागि अस्ट्रेलियाको ‘ड्रेसिङ रुम’ चिन्तित छ । त्यसको पहिलो कारण हो, कप्तान प्याट कमिन्सको ‘अवसेन्स’ ।

कमिन्स परिवारका सदस्य विरामी भएपछि अस्ट्रेलिया फर्किएका छन् । कमिन्स फर्किएपछि अस्ट्रेलियाको ‘पेश बलिङ’ धरापमा परेको छ । जसको दोस्रो कारण हो, तीव्र गतिका बलर जोश ह्याजलउड घाइते हुनु ।

उनी तेस्रो टेस्ट खेल्ने वा नखेल्ने एकिन छैन । खेलेपनि उनी पूर्ण रुपमा फिट देखिँदैनन् । पछिल्लो समय विश्व टेस्ट टिममा प्रभावशाली जित निकाल्न र आफ्नै बलबाट विकेट हात पार्न कमिन्स माहिर छन् ।

स्पिन पीचमा पनि कमिन्स विकेट लिन सक्ने बलर हुन् । टिमलाई खाँचो परेका बेला ब्याट पनि राम्रैसँग चलाउने कमिन्सलाई बलरभन्दा एक कदम अगाडि बढेर अस्ट्रेलिया क्रिकेट बोर्डले टेस्ट कप्तानीको जिम्मेवारी दिएको हो ।

तर इंग्ल्याण्डसँगको ‘एसेस’ सिरिजभन्दा पनि चुनौतीपूर्ण मानिने भारतसँगको बोर्डर–गाभस्कर ट्रफीको तेस्रो निर्णायक खेलमा कमिन्स नहुनु अस्ट्रेलियाको टाउको दुखाई हो । त्यसमाथि ह्याजलउडको चोट अर्को चिन्ताको विषय छ ।

कमिन्सको अनुपस्थितीमा स्टिभ स्मिथले कप्तानी सम्हाल्ने सम्भावना छ । इन्दोरमा हुने तेस्रो टेस्टमा स्मिथले कप्तानी सम्हाल्दा मुख्य बलर टिममा नहुनु स्वभाविक चिन्ता हो । त्यसमाथि लगातारको दुई हारले अस्ट्रेलियाका खेलाडीको मनोबल हदैसम्म गिरेको छ ।

यद्यपि नागपुर र दिल्लीमा स्पिनरको जादू चल्दा भारत हावी भएको थियो । इन्दोर टेस्ट जोगाउन नसके अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसीपको शीर्ष स्थान गुमाउनेछ । भारत ३–० को जितसहित शीर्ष स्थानमा उक्लिँदा चौथो टेस्टले आगामी फाइनल समीकरण पक्का गर्नेछ ।

यदि भारतले बोर्डर–गाभस्कर ट्रफी ४–० ले जिते अस्ट्रेलियाको फाइनल खेल्ने सम्भावना श्रीलंका र न्युजिल्याण्डको नतिजामा भर पर्नेछ । जहाँ तेस्रो स्थानमा रहेको श्रीलंकाले न्युजिल्याण्डलाई २–० ले हराउन सके अस्ट्रेलियाको सपना चकनाचुर हुनेछ ।

तर न्युजिल्याण्डमा किवी टिमलाई हराउन श्रीलंकालाई सहज छैन । यस्तो अवस्थामा भारत र अस्ट्रेलियाले नै फाइनल खेल्ने सम्भावना धेरै छ । चार वर्षअघि न्युजिल्याण्डसँग फाइनल हारेको भारत फेरि अर्को फाइनल हार्न चाहदैन ।

तर इंग्ल्याण्डमा हुने फाइनल जित्न भारत र अस्ट्रेलिया दुबैका लागि चुनौतीपूर्ण छ । श्रीलंकालाई केवल आश भएपनि फाइनल खेल्ने भरोसा देखिदैन । यद्यपी क्रिकेट अन्तिम बलसम्मको नतिजामा भर पर्ने भएकाले विश्व टेस्ट च्याम्पियनसीप फाइनल रोमाञ्चक हुने निश्चित छ ।

डिफेन्डिङ च्याम्पियन न्युजिल्याण्ड भने यसपटक फाइनल दौडबाट यसअघि नै बाहिरिसकेको छ ।


Author

थप समाचार
x