फिचर

‘स्पट फिक्सिङ’ प्रकरण : विकासतर्फ लम्केको क्रिकेटलाई विनाशको संकट

सञ्जीव शाह |
माघ १४, २०७९ शनिवार १५:१३ बजे

काठमाडौँ- सन् २०१४ मा बंगलादेशमा आयोजना भएको आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप खेल्दा नेपालका लागि त्यो विश्वकपमा डेब्यू थियो । डेब्यू प्रतियोगितामै समूह चरणका दुई खेल जित्दै नेपालले विश्वकपमा आफ्नो प्रभाव छाड्न सफल भयो । त्यसपछि अधिकांशलाई लागेको थियो नेपाली क्रिकेटले कहिल्यै पछि फर्केर हेर्नु पर्दैन ।

विश्वकपमा सहभागिता जनाएसँगै नेपालले २०१५ को टी-ट्वान्टी विश्वकप छनोटसम्मका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता पायो । नेपालले विश्वकपमा देखाएको प्रदर्शन तथा देशमा देखिएको क्रिकेटप्रतिको लगावका कारण नेपाल क्रिकेट संघ (क्यान) सँगै निजी क्षेत्रले कैयौँ क्रिकेट प्रतियोगिताहरु आयोजना गर्ने हिम्मत गरे ।


त्यतिमात्र नभई नेपाललाई एकदिवसीय विश्वकप खेल्ने तथा टेस्ट राष्ट्र बन्न सक्ने क्षमता भएको टिमको रुपमा हेरियो । क्यान पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले पनि नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिलाउने आशा जगाउने खालका अभिव्यक्तिहरु दिइरहे ।

नेपालले गरेको प्रदर्शनकै कारण सरकारबाट अनावश्यक हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ सालमा (सन् २०१६) मा क्यानलाई निलम्बन गरे पनि नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय सहभागितासँगै नेपालमा क्रिकेट गतिविधिलाई निरन्तरता दिइरह्यो । सोही क्रममा सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियसँगै पुनः टी-ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालको अपेक्षा झन् बढ्यो ।

आईसीसीले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा २०७६ असोज (सन् २०१९) मा सम्पन्न विशेष साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष निर्वाचित भएसँगै सन् २०१९ को अक्टोबरमै आईसीसीले क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्‍यो ।

क्यान निलम्बनका समयमा निजी क्षेत्रबाट आयोजित प्रतियोगिताहरुले राम्रो प्रभाव मात्र छाडिरहेका थिएनन्, खेलाडीलाई खेल्ने वातावरण तथा राम्रै पारिश्रमिक पनि दिएका थिए ।

आईसीसीको प्रतिबन्ध फुकुवापछि पुनः नेपाली क्रिकेटले अर्को उचाइ छुने अपेक्षा गरियो । सोही अपेक्षालाई साकार पार्ने गरी क्यानले गत जेठ ४ गते निकै नै महत्वाकांक्षी परियोजनाका रूपमा नेपाल टी-ट्वान्टी लिगको घोषणा गर्‍यो ।

क्यानले लिगको ‘कमर्सियल स्ट्राटेजिक राइट्स’ भने भारतीय कम्पनी सेभेनथ्री स्पोर्टसलाई ८ वर्षका लागि ३३ करोड नेपाली रूपैयाँमा बेचेको जानकारी गरायो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-ट्वान्टीलाई नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त एक मात्र आधिकारिक क्रिकेट लिग हुने घोषणा गरे ।

अध्यक्ष चन्दले यसअघि निजी क्षेत्रबाट आयोजना हुँदै आएका फ्रेन्चाइज्ड लिगलाई राष्ट्रिय स्तरमा नभई क्षेत्रीयस्तरमा आयोजना गर्नका लागि मात्र मान्यता दिने बताए ।

अध्यक्षको घोषणापछि क्यानले आयोजना गर्ने लिग निकै नै व्यवस्थित हुने तथा मिलेमतो ‘फिक्सिङ’ जस्ता कुराबाट टाढै रहने अपेक्षा गरिएको थियो ।

तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी-ट्वान्टी लिगमा ‘स्पट फिक्सिङ’ भएको तथा त्यसमा नेपाली र विदेशी गरी १० खेलाडीको संलग्नता रहेको समेत पुष्टि गर्‍यो । साथै दुई क्रिकेटरलाई पक्राउ गरिसकेको तथा अन्यलाई पनि पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराएको थियो ।

स्पट फिक्सिङमा परेका खेलाडीहरुलाई फिक्सिङ गर्न लगाउनेहरुले आर्थिकदेखि लिएर विभिन्न ठूला ठूला प्रतियोगितामा खेल्न पाउने लोभ देखाएको सीआईबीको ठहर छ । यसरी हेर्दा ती प्रलोभनमा नेपाली क्रिकेटमा भर्खरै आफ्नो छाप छाड्न लागेको खेलाडीहरु फस्न लागेको देखिन्छ ।

स्पट फिक्सिङ प्रकरणअघि नै नोभेम्बर १८ मा त्रिवि क्रिकेट मैदानमा नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेल चलिरहँदा मैदानबाट लाइभ बेटिङ गरिरहेका ४० भन्दा बढीलाई सिआईबीले पक्राउ गरेको थियो । उनीहरुले अनलाइनबाटै रकमको लेनदेन गरेको पाइएको थियो ।

स्वीट्जरल्यान्डको स्पोर्ट्सराडारले सार्वजनिक गरेको ‘बेटिङ करप्सन एन्ड म्याच-फिक्सिङ इन २०२१’ प्रतिवेदन अनुसार विभिन्न १० वटा खेलमा विभिन्न ७६ देशमा ९०३ शंकास्पद गतिविधि भएका थिए । ती खेलका क्रममा भएको बेटिङमा १.४५ ट्रिलियन युरोको कारोबार भएको थियो । ती मध्ये ६८ बिलियन युरो क्रिकेटमा भएको बेटिङको थियो ।

स्पोर्ट्सराडारले जनाएअनुसार विभिन्न खेलमा विश्वभरि नै बेटिङ बढ्दै गएको छ । पछिल्लाे उदाहरण हेर्दा नेपाली क्रिकेट पनि बेटिङ र स्पट फिक्सिङमा फसिसकेको छ ।

तर स्पट फिक्सिङमा सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अहलुवालियाकै प्रमुख हात रहेको सिआइबीले दाबी गरेसँगै यसले क्यानमाथि पनि थुप्रै प्रश्नहरु तेर्स्याएको छ । नेपालमा क्रिकेट हेर्ने सर्वोच्च निकायले नै सम्झौता गरेको कम्पनीका प्रमुख फिक्सिङमा संलग्न भएपछि क्रिकेट नै अपराधीको कब्जामा गएको क्यान सदस्यहरु नै दाबी गर्छन् ।

तर क्यानका मुख्य पदाधिकारीहरु भने नेपाल टी–ट्वान्टी लिगका लागि भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकारेर पानीमाथिको ओभानो हुने कोशिस गरिरहेका छन् ।

क्यानका अध्यक्ष चन्दले लामो अनुभवका आधारमा सेभेनथ्री स्पोर्ट्ससँग सम्झौता गरेको तर सम्झौतापछि आवश्यक जिम्मेवारीबाट पछि हटेर सेभेनथ्री स्पोर्ट्सले धोका दिएको दाबी गरेका छन् । अध्यक्ष चन्दले स्पट फिक्सिङ काण्डले लिग नै विवादमा परेको र यसको असर क्यान र समग्र नेपाली क्रिकेटमा परेको स्वीकार पनि गरेका छन् ।

चन्दले स्पट फिक्सिङ काण्डमा प्रहरीलाई क्यानको पूर्ण सहयोग हुने तथा फिक्सिङ र कुनै अनियमिततामा क्यानका कुनै पदाधिकारी संलग्न भए कारबाही भोग्न तयार रहेको धारणा समेत राखिरहेका छन् ।

तर क्यानले स्पष्टिकरण दिइरहँदा भने नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरु भने क्रिकेटसँग माया मार्ने अवस्थामा पुगिसकेका छन् । कतिपय समर्थकहरुले हेर्दा हेर्दै नेपाली क्रिकेट डुबिसकेको बताइरहेका छन् ।

पछिल्ला बेटिङ र स्पट फिक्सिङको खुलासापछि यसले भविष्यमा क्यानमाथि कतिको प्रभाव जमाइराख्ने भन्ने प्रश्न उठ्नेछ । साथै नेपाली क्रिकेटमाथि अपराधीहरु हाबी हुने डर पनि त्यतिकै बढ्दै गएको छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x