फिचर

किन राेकिएन राष्ट्रिय खेलाडी विदेश पलायन हुने लहर ?

खेलाडीमाथिकाे करोडौ लगानी खेर जाँदा पनि मौन छ सरकार

सञ्जीव शाह |
माघ ८, २०७९ आइतबार १६:३२ बजे

काठमाडौँ- पछिल्ला दुई वर्षमै राष्ट्रिय फुटबल टिम तथा उमेर समूहबाट खेलेका ३० भन्दा बढी फुटबल खेलाडी अस्ट्रेलिया पुगेका छन् ।

फुटबल पनि खेल्न पाइने तथा राम्रो कमाइ पनि हुने अपेक्षासहित खेलाडीहरु अस्ट्रेलिया पुगेका हुन् । सबक्लास ४०० भिसा अन्तर्गत अस्ट्रेलिया पुग्ने अधिकांश खेलाडी त्यहाँको नेपाली क्लबमा आवद्ध हुने गरेका छन् ।


अस्ट्रेलियाको स्थानीय नेपाली क्लबको निम्तोमा अस्ट्रेलिया पुगेका खेलाडीहरुले केही महिनापछि आफ्नो भिसालाई विद्यार्थी भिसामा स्थानान्तरण गराउन पाउँछन् ।

अस्ट्रेलियाको अध्यागमन नीति अनुसार सबक्लास ४०० भिसा अन्तर्गत अस्ट्रेलिया पुग्नेहरुले उक्त भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने प्रावधान छ ।

खासमा नेपालमा नियमित फुटबल नहुने तथा भए पनि समयमा पारिश्रमिक नपाउने भएका कारण पनि खेलाडीहरु अहिले धमाधम अस्ट्रेलिया पुगिरहेका छन् ।

अस्ट्रेलियन नेप्लीज फुटबल संघका पूर्व अध्यक्ष राजु मानन्धरका अनुसार अस्ट्रेलियामा स्थापना भएका नेपाली फुटबल क्लबहरुले नेपालबाट गएका खेलाडीहरुलाई फुटबल खेलमा मात्र सिमित नराखेर उनीहरुलाई आवास तथा रोजगारका लागि समेत अवसर जुटाइदिने गरेका छन् ।

‘नेपाली खेलाडीहरुलाई बसोबास तथा रोजगारका लागि समेत समन्वय गरिरहेका छन्’ मानन्धरले इकागजसँग भने ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व-उपाध्यक्ष समेत रहेका मानन्धरले अस्ट्रेलिया पुगेका खेलाडीहरुले महिनाको करिब एक लाखसम्म बचत गरिरहेको समेत दावी गरे । अस्ट्रेलियामै रहेका मानन्धरका अनुसार फुटबल खेलाडीमात्र नभएर अन्य खेलका दर्जनौ नेपाली खेलाडीहरु अहिले अस्ट्रेलिया पुगिरहेका छन् ।

तर यति भनिरहँदा पछिल्लो केही समयभित्रै दर्जनौं नेपाली खेलाडीहरु अस्ट्रेलिया पुगेपछि सरकारले खेलाडीहरुलाई नेपालमा टिकाउन पर्याप्त प्रयास गर्न नसकेको हुन सक्ने उनले दावी गरे ।

‘पछिल्लो समय नेपालमा पर्याप्त प्रतियोगिता नहुने तथा भएको प्रतियोगितामा खेलेबापत खेलाडीहरुले समयमा पारिश्रमिक पनि नपाउने भएपछि खेलाडीहरु बाध्य भएर नेपाल छाडिरहेका छन्’ उनले थपे ।

खेलाडीमाथि करोडौंको लगानी जाँदै खेर   

तर खेलाडीहरु धमाधम विदेश जान थालेपछि अधिकांश खेलाडीमाथि गरिएको राज्यको करोडौ लगानी खेर गइरहेको छ ।

हाल विदेश पलायन भएकामध्ये एकजना फुटबल खेलाडीकै उदाहरण लिने हो भने उनीमाथि राज्यको करिब २५ लाखसम्म लगानी भइसकेको फुटबल विश्लेषक संजिव मिश्र बताउँछन् ।

‘अहिले खेलाडीहरु जसरी विदेश गए । धेरै खेलाडीहरु एन्फा एकेडेमीमै बसेका खेलाडीहरु हुन् । तेज तामाङ, दिनेश राजवंशी जस्ता खेलाडी एन्फा एकेडेमीकै उत्पादन हुन् । उनीहरु चारदेखि पाँच वर्ष एन्फा एकेडेमीमा बसे ।,’

‘एन्फा एकेडेमी चलाउन वर्षको २० लाख जति लाग्छ । त्यसमध्ये एउटा खेलाडीको लागि करिब २ लाख खर्च हुन्छ । त्यससँगै उनीहरु आवद्ध क्लबको पनि उत्तिकै लगानी हुन्छ । रकमको ठ्याकै लेखाजोखा गर्न नसकिएपनि एउटा खेलाडीमाथि नै राज्यको २० देखि २५ लाखसम्म खर्च भइसकेको छ,’ मिश्रको भनाइ छ।

मिश्रका अनुसार एउटा राष्ट्रिय खेलाडी बन्नका लागि एन्फाले खेलाडीलाई यू-१६ देखि नै एक्सपोजर दिइरहेको हुन्छ ।

मिश्रले नै दिएको उदाहरणअनुसार दिनेश राजवंशी तथा तेज तामाङको उदाहरण लिँदा उनीहरुले यू-१६, यू-१९, यू-२३ खेल्दै राष्ट्रिय टिमसम्म आइपुगे । ती खेलाडीहरुलाई राज्य (एन्फा र क्लब) ले थुप्रै मौकाहरु दिए । ‘अपवाद बाहेक यस प्रक्रियाबाट राष्ट्रिय टोलीसम्म आइपुग्दा राज्यले उनीहरुमाथि ५ देखि ७ वर्षसम्म लगानी गरिसकेको हुन्छ । समग्रमा एउटा खेलाडीलाई राष्ट्रिय खेलाडी बनाउन २० देखि २५ लाख खर्च लगानी हुन्छ ।’

यसरी लगानी खेर जाँदा पनि एन्फाले भने उनीहरुलाई रोक्न सकेको छैन । मिश्रका अनुसार खेलाडीलाई नेपालमा टिकाइराख्नका लागि गम्भीर भएर फरक तरिकाले सोच्नुपर्ने अवस्था आइसकेको छ ।

‘क्षमतावान खेलाडी कम हुँदा समस्या आउँछ । अब एन्फाले खेलाडीको संख्यामा पनि ध्यान दिनुपर्ने भएको छ । खेलाडी धेरै भएपछि क्षमतावान खेलाडी निकाल्न सकिन्छ । नीतिमा परिवर्तन ल्याउनु पर्‍यो तथा नजाने बाटो पहिल्याउनु पर्‍यो,’ मिश्रले थपे ।

तर अर्कोतर्फ एन्फा नेतृत्व भने फुटबलको विकास भन्दा बढी एन्फाको नेतृत्वमा पुग्न राजनीतिमा लाग्ने गरेको खेलाडीहरुले आरोप लगाउँदै आएका छन् ।

एन्फाको नेतृत्वका लागि सधै विवाद भइरहँदा खेलाडीहरुले नेपाली फुटबलमा भविष्य नदेखेको पनि प्रष्ट भइसकेको छ ।

विदेशिनु खेलाडीको बाध्यता हो

अस्ट्रेलियामा बस्दै आएका तथा फुटबल खेल्न नेपाल आइरहने जगजित श्रेष्ठले पनि बाध्यता भएकै कारण खेलाडीहरु विदेश जाने गरेको बताए ।

एन्फाले पटक पटक फुटबल लिग सारेर खेलाडीहरुलाई निराश तुल्याउने गरेको सार्वजनिक रुपमै अभिव्यक्ति दिइरहेका जगजितका अनुसार एन्फाले लिग नगरेको एक वर्ष पुग्नै लागिसक्यो साथै अन्य फुटबल प्रतियोगिताहरु पनि हुन सकेको छैन ।

‘नेपालमा नियमित फुटबल नहुने तथा फुटबलमा देखिएका अन्य वेथितिका कारण खेलाडीहरु पलायन हुन बाध्य भएको छ । खान लाउन तथा परिवारलाई पाल्नका लागि बाध्य भएर पनि खेलाडीहरु विदेश गइरहेका छन्,’ विगत ६ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका जगजितले बताए ।

उनले पर्याप्त प्रतियोगिता आयोजना गर्नका लागि पटक पटक माग गर्दै आएका छन् ।

डिफेन्डर अनन्त तामाङले पनि केही समय अघि क्लबहरुले खेलाडीहरुलाई समयमा पारिश्रमिक नदिने गरिएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका थिए । उनले फुटबलको सर्वोच्च निकाय ‘एन्फा आफैमा यति धमिलो भाईसक्यो कि अब कडा भन्दा कडा डेटर्जेन्टले पनि सफा हुन गार्हो छ भलै असम्भव नहोला,’ भने उल्लेख गरेका थिए ।

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले पनि एन्फाले फुटबल प्रतियोगिता सञ्चालनमा गर्ने ढिलासुस्तीलाई लिएर प्रश्नहरु तेर्स्याएका थिए ।

अर्कोतर्फ एन्फाले खेलाडीलाई टिकाउनका लागि पर्याप्त प्रयास नगरिरहेको अवस्थामा सरकारमा पुगेका दलहरुले पनि खेलकुदलाई लिएर खासै प्रयास गरेको देखिदैन ।

विश्लेषक मिश्रका अनुसार गत आम निर्वाचनमा नयाँ पार्टीहरुले युवाहरुलाई देशबाट पलायन हुनबाट बचाउन युवाहरुमाथि लगानी गर्ने, युवाहरुले नै देश चलाउनुपर्ने नारा दिएर निर्वाचनमा सफल भएपनि उनीहरुले युवाहरु लक्षित केही कार्यक्रम ल्याउन सकेको छैन ।

उनका अनुसार मन्त्रालय विभाजन हुँदा पनि युवा तथा खेलकुद मन्त्रालय लिन पनि कुनै नयाँले कुनै मतलब गरेनन् । खेलकुद मन्त्रालय अहिले पनि प्रधानमन्त्रीकै मातहतमा रहेको छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x