फिचर

अझै छ मेस्सी र रोनाल्डोको क्रेज

इकागज |
माघ ६, २०७९ शुक्रवार १८:१३ बजे

काठमाडौँ- कतार विश्वकपपछि धेरैको अनुमान थियो, वर्तमान विश्व फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको युग सकियो । क्लबको वर्चश्व, फुटबलको रोमाञ्चकता र विश्वका करोडौं फुटबलप्रेमीको आँखामा एक हिसाबले त्यो सही हुन सक्थ्यो ।

तर करोडौँ फुटबलप्रेमीका लागि अझै पनि रोनाल्डो र मेस्सीको क्रेज सकिएको छैन । झन् बढी पर्खाइ, आशा, भरोसा र खेल भावनाप्रतिको गहिरो बुझाइ बढ्दै गएको छ । 


विश्वकपपछि त्यो उचाइ मेस्सीका लागि झनै बढेको छ भने रोनाल्डोका लागि अझै कायम राख्न चुनौती छ । तर यी दुई महान फुटबलरको रोचक भिडन्त भने जहिले पनि चर्चामा रहन्छ ।

जुन साउदी अरबको रियाद सहरमा पनि बिहीबार राति रोमाञ्चक रह्यो । मैत्रीपूर्ण फुटबल खेल्न फ्रान्सको पीएसजी क्लब रियाद उत्रेको थियो । यसलाई कतिपयले युरोपबाट बाहिरिएका रोनाल्डोसँग मेस्सीको भेटका रुपमा लिएका छन् ।

अनि कतिपयले साउदी क्लब अल नासरमा रोनाल्डोको डेब्यू नै विशेष बनाउन मेस्सी, नेयमार र एमबाप्पे सम्मिलित पीएसजी हिउँदे सिजनको पहिलो मैत्रीपूर्ण फुटबल खेल्न रियाद पुगेको टिप्पणी गरिरहेका छन् ।

यो अनुमान र टिप्पणी त्यतिमै मात्रै सिमित छैन, रोनाल्डो र मेस्सीको विशेष फुटबल खेल हेर्न बलिउड सुपरस्टार अमिताभ बच्चन पनि रियाद पुगेर मेस्सी तथा रोनाल्डोसँग हात मिलाएको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

मैत्रीपूर्ण भनिएको खेलमा पीएसजीले पाँच गोल गर्दा रोनाल्डोको अल नासरले चार गोल गरेको थियो । जुन सामान्य होइन । पीएसजी ५–४ गोलले विजयी हुँदा रोनाल्डो र मेस्सी दुवैले गोल गरेका थिए ।

दुई गोल गरेका रोनाल्डो म्यान अफ द म्याच पनि चुनिन सफल भए । खेलमा अग्रता भने पीएसजीले मेस्सीको गोलबाट लिएको थियो ।

खेल सुरु भएको तेस्रो मिनेटमै अग्रता लिएको पीएसजीलाई पहिलो हाफमा रोनाल्डोको अल नासर क्लबले २–२ गोलको बराबरीमा रोक्न सफल भयो ।

जसमा दुई गोल रोनाल्डोले गरे । खेल सकिँदा नतिजा पीएसजीको पोल्टामा पुगे पनि अल नासरले युरोपकै सुपरस्टार खेलाडीले भरिएको पीएसजीसँग निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक खेल खेल्नु सानो कौशल होइन । यसको ठूलो क्रेडिट भने रोनाल्डोलाई जान्छ ।

रोनाल्डो साउदी आए यता अल नासर चर्चामा छ । उसको फ्यान फ्लोइङ नै रोनाल्डो आएपछि लाखबाट करोडौँमा पुगेको छ । यो सानो उपलब्धी होइन । त्यसमाथि पीएसजीजस्तो टिमविरुद्ध चार गोल गर्नु पनि सानो होइन ।

किनकि युरोपका ठूला टिमसँग एसियाका प्राय: टिम डराउने गर्छ । त्यसमाथि दक्षिण एसिया र खाडीका टिम झनै डराउँछन् । रियादमा भएको मैत्रीपूर्ण खेलमा पनि पीएसजीले सजिलै जित हात पार्छ भन्ने अनुमान गरिएको थियो । तर नतिजा सोचेजस्तो भएन ।

पीएसजी सुपरस्टारले भरिँदा एक्लै सुपरस्टार रहेका रोनाल्डो उनीहरुविरुद्ध उत्कृष्ट खेलिरहेको चर्चा सामाजिक सञ्जालमा धेरैले गरेका छन् ।

‘धेरै राजाहरुविरुद्ध रोनाल्डो एक्लै राजा’ भएर लडिरहेको चर्चा सञ्जालमा झन् बढी चर्चित छ । विश्वका करोडौँ फुटबल फ्यानले पीएसजी र अल नासरबीचको मैत्रीपूर्ण खेल हेरेका थिए । त्यसमा रोनाल्डो र मेस्सीको गोलले झन् बढी रोमाञ्चकता थपेको थियो ।

धेरै ठूला खेलाडी र दर्शकको टाइमलाइन रोनाल्डो र मेस्सीको संयुक्त फोटोले भरिएका छन् । दुवै जना फुटबलका लिजेन्ड हुन् । तर मेस्सीले कतार विश्वकप जितेर आफूलाई सबैभन्दा महान खेलाडी बनाउँदा रोनाल्डोले विश्वकप ट्रफी चुम्न नसक्दा साउदी झर्नुपरेको तथ्यमाथि बहस फेरि छेडिएको छ ।

एक खेल, दुई सुपरस्टार, सयौँ संयोग, हजारौँ भावना र करोडौँ दर्शकका लागि रोनाल्डो र मेस्सी अझै पनि विशेष छन् । जसको सुरुवात स्पेनबाट भएको थियो ।

रोनाल्डोले प्रिमियर लिग छाडेर ला लिगा खेल्न रियल मड्रिड पुगेपछि मेस्सीसँगको खास प्रतिस्पर्धा सुरु भएको थियो । स्पेनमा रहँदा रोनाल्डोले समग्रमा पाँच वटा च्याम्पियन्स लिग जिते । धेरै ह्याट्रिक गरे ।

बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त झन् उचाइमा पुर्याए । च्याम्पियन्स लिग उपाधिमा ह्याट्रिक गरेपछि फर्ममा फर्किन नसक्दा रोनाल्डोले रियल छाडेर युभेन्ट्स पुगेपछि यी दुई सुपरस्टारको भिडन्त पातलिएको थियो ।

रोनाल्डो युभेन्ट्सपछि प्रिमियर लिगको पुरानै क्लब म्यान्चेष्टर युनाईटेड फर्किए । तर क्लबसँग सम्बन्ध बिग्रिएपछि रोनाल्डो युरोपबाटै बाहिरिएर साउदी अवतरण गरेका हुन् । रोनाल्डो अत्यन्तै विवाद र चर्चामा रहँदा मेस्सीले बार्सिलोना छाडे पनि देशका लागि पीएसजीमा रहँदा विश्वकप ट्रफी जिते । यो उनको करियरकै सबैभन्दा महत्वपूर्ण उपाधि हो ।

तर दुवै फुटबलरका लागि जति नै महत्वपूर्ण उपाधि जिते पनि एक अर्कासँगको भेट, भिडन्त र रोचक फुटबल खेल आम दर्शकका लागि पनि अविष्मरणीय रहने गर्छ । जुन साउदीमा पनि देखियो ।

यसले समग्रमा आधुनिक फुटबलका सुपरस्टारद्वय मेस्सी र रोनाल्डोले फुटबल खेल्दासम्म दर्शकको माया घट्ने छैन । चर्चा कम होला, तर फुटबलमा उनीहरुको नाम र प्रतिष्पर्धा सधैँ ऐतिहासिक रहनेछ ।


Author

थप समाचार
x