फिचर

एसियामा रोनाल्डो प्रवेशको अर्थ

इकागज |
पुस २२, २०७९ शुक्रबार १५:३९ बजे

काठमाडौँ- अरु विधासँगै खेलकुदको मामिलामा पनि युरोप धेरै अगाडि छ । उदाहरणका लागि फुटबल हेरे पुग्छ । त्यो पनि कठिन भए जल्दाबल्दा उदाहरण क्रिष्टियानो रोनाल्डोको भनाइ हेरे पुग्छ ।

उनले युरोपमा आफूलाई अब्बल प्रमाणित गरेर एसिया प्रवेश गरेका छन् । युरोपको सबैभन्दा ठूलो मानक मानिने च्याम्पियन्स लिग ५ पटक जितेर सर्वाधिक गोलकर्तासहित रोनाल्डो युरोपबाट एसिया झरेका हुन् ।


युइएफएले आयोजना गर्ने च्याम्पियन्स लिग ५ पटक जित्दा उनले चारपटक रियल मड्रिडमा छँदै उपाधि चुमेका थिए । पहिलोपटक भने उनले इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाईटेडबाट च्याम्पियन्स लिगको ट्रफी चुमेका थिए ।

पाँचपटक च्याम्पियन्स लिग जित्दा १४१ गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगकै सर्वाधिक गोलकर्ता हुन् । यो कीर्तिमान तोड्न मेस्सीबाहेक अरु खेलाडीका लागि असम्भव जस्तै छ । मेस्सी १२९ गोलसहित दोस्रो स्थानमा छन् ।

म्यानचेस्टर युनाईटेडसँगको दोस्रो सहयात्रामा आपसी विवादले ब्रेक लागेपछि रोनाल्डो साउदी आएका हुन् । यसलाई धेरै दृष्टिकोणबाट व्याख्या गरिएको छ । त्यसमा पहिलो निर्विवाद विषय हो, महंगो पारिश्रमिक ।

३७ वर्षको उमेरमा पनि रोनाल्डो सर्वाधिक पारिश्रमिक लिने खेलाडी बनेका छन् । फुटबलका ठूला समाचार ब्रेक गर्ने स्पेनिस पत्रिका मार्काका अनुसार रोनाल्डो २१४ मिलियनसहित सर्वाधिक पारिश्रमिक लिने पहिलो खेलाडी बनेका छन् ।

साउदी क्लब अल नासरसँगको सम्झौता नै रोनाल्डोका लागि यो कीर्तिमान रच्न काफी रह्यो । दोस्रो स्थानमा छन्, पीएसजीका फ्रेन्च स्ट्राइकर एमबाप्पे । उनले वार्षिक ६३ मिलियन तलब पाउने गरेका छन् । तेस्रो स्थानमा रहेका मेस्सीले ४१ र चौथो स्थानमा रहेका नेयमारले ३७ मिलियन तलब पाउने गरेका छन् ।

एमबाप्पे, मेस्सी र नेयमार पीएसजीमा छन् । कतारी लगानीको पीएसजीले विश्व फुटबलकै सबैभन्दा ठूला र महंगा खेलाडी खरिद गरेर च्याम्पियन्स लिग जित्ने सपना सजाएको छ । तर महंगो पारिश्रमिकको बहसमा रोनाल्डोले पीएसजीका सबै खेलाडीको कीर्तिमान उछिनेका छन् ।

मेस्सीले विश्वकप जितेपछि पीएसजी नयाँ खुशी मनाउँदैछ । कतार विश्वकपमा निकै खराब प्रदर्शन र निराशाजनक हेडलाइन/समाचारले दुखित रोनाल्डो युरोपमा अवसर नपाएपछि एसियाली क्लब अल नासर आइपुगेका हुन् ।

यसबारे पनि उनका दुई वटा अभिव्यक्ति छन्, पहिलो युरोपेली फुटबलमा सबै रेकर्ड तोडिसकेको । अर्थात उनकै शब्दमा युरोपेली फुटबलमा उनले गर्नुपर्ने उत्कृष्ट काम गरिसकेका छन् । उनले पाएका पाँच बालोन डी’ओरले पनि त्यसलाई प्रमाणित गर्छ । दोस्रो, महंगो पारिश्रमिकमा एसियामा नयाँ कीर्तिमान बनाउन आएको ।

रोनाल्डोले रियलबाट च्याम्पियन्स लिग जित्दा ह्याट्रिक गरेपछि आफूले ४० वर्षसम्म व्यवसायिक फुटबल खेल्ने घोषणा गरेका थिए । त्यसमा पनि महंगो पारिश्रमिक र करियरको उच्च लयमा हुँदा ।

रोनाल्डोले भनेजस्तो पारिश्रमिक पाएकै छन् । तर लय पहिलेजस्तो छैन । उनको खुट्टाबाट पहिले जति गोल निस्किन्थ्यो, अहिले केवल विवाद मात्रै निस्कन्छ । प्रिमियर लिगमा एक प्रशंसकको मोबाइल खसालेर फुटाइदिएका कारण उनी साउदी पुग्दा पनि प्रतिबन्ध झेलिरहेका छन् ।

जसकारण उनको डेब्यु साउदी ओर्लेकै दिन हुने भए पनि दुई साता पर लम्बिएको छ ।

रोनाल्डो साउदी आउँदा एसियाली फुटबललाई धेरै ठूलो ब्राण्डिङ गर्न सहयोग पुगेको छ । उनले अल नासरसँग सम्झौता गर्दा उनको जर्सी नै यतिबेला लाखौको संख्यामा बिक्री भइसकेको छ । रियाद सहरमा रोनाल्डोको जर्सी किन्नेको भीड छ । जबकि कतार विश्वकप अघिसम्म साउदीको यो क्लबसँग विश्व फुटबलप्रेमी खासै परिचित थिएनन् ।

रोनाल्डोले सम्झौता गरेको एक हप्तामै इन्स्टाग्राममा अल नासरलाई पछ्याउनेको संख्या ९ मिलियन पार गरेको छ । जबकि रोनाल्डो आउनुअघि यो क्लबलाई पछ्याउनेको संख्या १० लाख पनि थिएन ।

रोनाल्डो इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा धेरै पछ्याइने खेलाडी हुन् । इन्स्टाग्राममा मात्रै उनका ५२९ मिलियन फ्लोअर्स छन् । जुन विश्वमा रहेका अरु सेलिब्रेटी र फुटबलरभन्दा धेरै हो ।

रोनाल्डोकै कारण अल नासरले युरोपकै अरु टिमलाई पनि पछाडि पारेको छ । इन्स्टाग्राममा रोनाल्डोकै कारण अल नासरलाई पछ्याउनेको संख्या बढ्दो छ । उमेर बढ्दै जाँदा तथा लय खस्किँदै गर्दा युरोपका उत्कृष्ट खेलाडी प्राय: अमेरिका वा चीनतिर जाने गरेका छन् ।

रोनाल्डोलाई पनि अमेरिकी, युरोपेली क्लबदेखि उनकै देशको पुरानो र पहिलो क्लबबाट पनि प्रस्ताव नआएको होइन । तर आफूलाई सर्वाधिक महंगो मूल्य र उच्च पारिश्रमिक अफर गरेको अल नासर क्लबलाई रोनाल्डोले वचन दिए ।

यसले अब एसियाली क्लबलाई पनि युरोपका उत्कृष्ट खेलाडीलाई भित्र्याउने स्वर्णिम अवसर मिलेको छ । रोनाल्डोजस्ता उत्कृष्ट र झण्डै डेढ दशक विश्व फुटबलमा राज गरेका खेलाडी साउदीमा भित्र्याउनु सुखद पक्ष हो ।

प्रिमियर लिग, ला लिगा र सिरी ए फुटबल लिग जितेर कीर्तिमान बनाएका रोनाल्डोले यी तीन वटै लिगमा गरेर ८०० भन्दा बढी गोल गरेका छन् ।

रियलमा त उनी सर्वाधिक गोलकर्ता नै हुन् । अब उनले साउदी क्लबमा कति गोल गर्छन् ? त्यो चासोको विषय हुनेछ । अनि उनको च्याम्पियन्स लिग खेल्ने सपना पनि जिवितै छ । यद्यपि त्यो अल नासर क्लबमा सम्भव छैन ।

च्याम्पियन्स लिग खेल्न उनी अर्को सिजन लोनमा न्यूकासल जाने योजनामा छन् । मार्काको दाबीलाई मान्ने हो भने साउदीकै व्यापारीको लगानी रहेको न्यूकासल प्रिमियर लिगमा अहिले शीर्ष चार क्लबभित्र छ । उसको यो प्रदर्शन जारी रहे आउँदो सिजन च्याम्पियन्स लिग खेल्नेछ ।

न्यूकासलबाट च्याम्पियन्स लिग खेल्ने सपनासहित साउदी आएका रोनाल्डोले एसियाली क्लबको जसरी चर्चा र उचाई बढाएका छन्, त्यो अब एसियाका लागि अवसर हो ।

रोनाल्डोजस्ता अरु सुपरस्टार खरिद गर्दै एसियाको फुटबल चम्काउने हो भने कतार विश्वकप मात्रै होइन, आउँदाे वर्ष एसियामै उत्कृष्ट फुटबलर फस्टाएको हेर्न सकिनेछ । त्यसको सुरुवात रोनाल्डो र अल नासरले गरेको मानिनु आधुनिक फुटबलको विशेषतासँगै व्यापारको कमाल पनि हो ।


Author

थप समाचार
x