फिचर

नेयमारको नायकत्वमा विश्वकप जित्ने ब्राजिलको सपना

पेलेको मृत्युयुद्ध, रोमारियोको पत्र र ब्राजिलियनको भरोसा

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १६:१३ बजे

काठमाडौँ- भनिन्छ, ब्राजिलियनको रगतमै फुटबल हुन्छ । त्यो रगतमा फुटबल भर्ने काम पेलेले गरेका हुन् । जसको उदयसँगै विश्व फूटबल रोचक बनेको थियो । अनि ब्राजिललाई सबैभन्दा धेरै विश्वकप उपाधि जिताउने काम पनि पेलेले नै गरेका हुन् । उनले तीनपटक ब्राजिललाई उपाधि जिताए ।

ब्राजिललाई सुरुका विश्वकपमा उपाधि जिताएर विश्व च्याम्पियन बनाएका पेले अहिले अस्पतालमा मृत्युसँग जुधिरहेका छन् । कतार विश्वकप चलिरहँदा पेले जति चिन्तित छन्, त्यतिकै आशाको अन्तिम त्यान्द्रो पनि राखिरहेका छन् ।


किनकी ब्राजिलका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफैँसँग राखेका पेलेले त्यो विरासत नेयमारलाई सुम्पिएका छन् । पेलेको ७७ गोलको कीर्तिमान भंग गर्न नेयमारलाई मात्रै एक गोलको आवश्यकता छ ।

जतिबेला पेलेको कीर्तिमान भंग हुनेछ, त्यतिबेला ब्राजिलको विश्वकपको छैटौँ उपाधि उचाल्ने सपना झन् बढेर जानेछ । पेले अस्पताल भर्ना भएपनि उनले विश्वकप अपडेट हेरिरहेको बताएका छन् ।

यसले देखाउँछ कि पेले कतार विश्वकपमा ब्राजिलले उपाधि जितेको हेर्न कति आतुर छन्, अनि त्यो हेराईसँगै जीवनको अन्तिम सास पनि ढुक्कले फेरेर यो संसारबाट बिदा हुन चाहन्छन् ।

ब्राजिलले सन् १९५८, सन् १९६२ र सन् १९७० को विश्वकप जित्दा पेले नायक थिए । त्यही नायकत्वले ब्राजिलियनको रगतमा फूटबल भरिदिएको हो । त्यसपछि ब्राजिलले सन् १९९४ र सन् २००२ मा विश्वकप जित्यो ।

पेलेले विश्वकप जित्दा ह्याट्रिक गरेका थिए । पेलेपछि रोनाल्डो, रोमारियो र रोनाल्डिन्होले विश्वकप जिते । सन् १९९४ को विश्वकप जित्दा रोमारियो नायक थिए ।
सन् २००२ को विश्वकप जित्दा रोनाल्डो र रोनाल्डिनो ब्राजिलका नायक भए । अहिले पनि सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिलका लागि पेले, रोमारियो, रोनाल्डो र रोनाल्डिनो नायक मानिन्छन् ।

त्यसपछि उदाएका हुन्, नेयमार । सन् २०१४ को विश्वकप ब्राजिलमै हुँदा प्रमुख खेलाडी थिए, नेयमार । जतिबेला ब्राजिलको परिपक्व टिमसामु नेयमार निकै युवा भएपनि उनमा अब्बल क्षमता थियो ।

मार्सेलो, डानी अलाभेस, डेभिड लुइज, थियागो सिल्भा, नेयमार जस्ता भेट्रान खेलाडी हुँदा ब्राजिल उपाधिको दाबेदार थियो । किनकी त्यो विश्वकपमा डिफेन्डिङ च्याम्पियन स्पेन समूह चरणबाटै बाहिरिएको थियो ।

तर सेमिफाइनल पुगेको ब्राजिल जर्मनीसँग ७–१ गोल अन्तरले पराजित भयो । जुन विश्वकप फूटबलकै सबैभन्दा खराब सेमिफाइनलको नतिजा मानिन्छ । ब्राजिलमा भएको विश्वकप जर्मनीले जित्दा निर्णायक खेलमा नेयमार थिएनन् । फाइनलमा अर्जेन्टिनालाई १–० गोलले हराएर जर्मनीले चौथोपटक विश्वकप जितेको थियो ।

फाइनलमा गोल गर्ने युवा खेलाडी थिए, मारियो गोट्जे । विश्वकपका सर्वाधिक १६ गोल गर्ने गोलकर्ता मिरोस्लाभ क्लोजलाई प्रतिस्थापन गर्दै मैदान छिरेका मारियोले आकर्षक गोल गर्दा जर्मनीको युवा पुस्ताले चौथोपटक च्याम्पियन बन्ने अवसर पायो । तर जर्मनी पछिल्ला विश्वकपका दुई संस्करणमा लगातार समूहचरणबाटै बाहिरियो ।

कतार विश्वकपमा नेयमार फेरि एकपटक सबैका आशा र भरोसाका केन्द्रविन्दुका रुपमा रहेका छन् । घाइते भएकै कारण ब्राजिल र रसियामा भएको विश्वकप जित्न नसकेका नेयमार कतारमा फेरि फिट छन् । समूह चरणको पहिलो खेलमै घाइते भएका उनी नकआउट चरणको खेलबाट टिममा फर्किएका छन् ।

नकआउट चरणको पहिलो खेलमा दक्षिण कोरियालाई हराउँदा एक गोल गर्दै नेयमार पेलेसँगको कीर्तिमान नजिक पुगेका छन् । उनी अब एक गोलले मात्रै टाढा छन् । शुक्रबार क्रोएसियासँगको क्वाटरफाइनलमा गोल गर्न सके नेयमारले पेलेको सर्वाधिक ७७ गोलको राष्ट्रिय कीर्तिमान भंग गर्नेछन् ।

समूह चरणको पहिलो खेलमै गोल गरेपनि नेयमार घाइते भएपछि ब्राजिलका फ्यान स्तब्ध भएका थिए । त्यही बेला रोमारियाले लामो पत्र लेखेर, ‘ब्राजिललाई छैटौँ विश्वकप उपाधि जिताउने जिम्मेवारी नेयमारकै काँधमा छ’ भनेर सम्झाएका थिए ।

सन् १९९४ को विश्वकप जित्दाका नायक रोमारियाले केही अनुभवसहित पूरा हौसला दिएर नेयमारलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिरहेका छन् । किनकी नेयमारले पछिल्ला तीन संस्करण खेलिसकेका छन् । विश्वकै सबैभन्दा महंगा पीएसजी क्लबका खेलाडी नेयमार कतार विश्वकपमा करियरकै उच्च लयमा पनि छन् ।

कीर्तिमान, गोल गर्ने कला, कसिलो क्षमता र कप्तानी शैलीमा खेल्न सक्ने नेयमारबाट आश गर्नु ब्राजिलका लागि अनिवार्य हो । किनकी रोनाल्डिनोको सन्यासपछि नेयमार नै ब्राजिलका मुख्य नायक हुन् । ब्राजिलका लागि वर्तमान पुस्ताका सबैभन्दा ठूला सुपरस्टार हुन् ।

पेलेकै कीर्तिमान नजिक पुग्न सक्ने र भंग गर्ने क्षमता भएका नेयमार छँदा नै ब्राजिलले उपाधि जित्न सक्ने आँकलन गर्नु नौलो होइन । त्यसमाथि नेयमार आफैँ पनि पेलेको शानदार बिदाई गर्न, रोमारियोको पत्रको जवाफ दिन र ब्राजिली समर्थकको आश जिवितै राख्न पनि कतार विश्वकप जित्न चाहन्छन् ।

दक्षिण कोरियाविरुद्धको खेल जितेपछि नेयमारले पेले अंकित नाम र फोटोसहितको ब्यानर रंगशालामै प्रदर्शन गरेका थिए । किनकी यसपटक ब्राजिलले विश्वकप जित्दा सबैभन्दा ठूलो न्याय पेलेलाई हुनेछ ।

पेलेले यसअघि नै ब्राजिल र रसिया विश्वकप जित्ने दाबी गरिसकेका थिए । तर ब्राजिल सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन । यसपटक यदि ब्राजिलले विश्वकप जितेमा त्यसको नायक नेयमार हुनेछन् ।

अनि त्यो उपाधिबाट सबैभन्दा खुशीको क्षण पेलेका लागि हुनेछ । किनकी जसले जन्मिदा दूनियाँलाई फूटबल खेल देखाए । विश्वकप जिते । अनि मर्दा पनि ब्राजिल जितेको हेरेरै मर्नेछन् । २४ वर्षपछि ब्राजिलको विश्वकप उपाधि खडेरी तोड्ने काम पनि नेयमारले गर्न सक्नेछन् ।

त्यसका लागि शुक्रबार क्वाटरफाइनलमा क्रोएसियालाई पन्छाउँदै सेमीफाइनल र फाइनल पनि नेयमारको टिम ब्राजिलले जित्नैपर्नेछ । विश्वभर सबैभन्दा धेरै ब्राजिली फ्यानले यो आशा र अपेक्षा राख्नु नेयमारका लागि पनि अवसर हो । कतारमा कम्तीमा पनि नेयमार यो अवसर गुमाउन चाहँदैनन् ।


Author

थप समाचार
x