फिचर

राष्ट्रिय खेलकुद

छोराछोरी खेलाडी, बाबा प्रशिक्षक

धनबहादुर गुरुङ |
कात्तिक १, २०७९ मंगलबार ७:३ बजे

पोखरा- पोखरा रंगशालास्थित स्क्वास कोर्टमा स्वर्ण जितेको खुसी मनाइरहेका थिए, अमृत थापा मगर । उमेरले २६ टेकेका अमृतसँगै थिए, अन्य साथीहरू । उनीहरू अमृतलाई बधाइ दिदैं थिए । केही समयपछि अमृतले आफूले पाएको मेडल फुकालेर बाबा हिराबहादुर थापाको गलामा लगाइदिए । सोमबार अमृतले राष्ट्रिय खेलकुदमा स्क्वासतर्फ स्वर्णमा ह्याट्रिक गरेका हुन् ।

अमृतले भन्दै थिए, ‘भोलि दिदीको गेम छ, उहाँले जित्नुहुन्छ होला । जित्नुभयो भने दुवै जनाको मेडल देखाएर फोटो खिच्नुपर्छ ।’ बाबा अनि दिदीभाइको सम्बन्ध देख्नेहरू छक्क परिरहेका थिए । थापा परिवारका तीनै जना पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा स्क्वासका लागि यहाँ आएका हुन् । अमृत र उनकी दिदी कृष्णा थापा खेलाडी हुन् । भने, बुवा हिराबहादुर थापा प्रशिक्षक । परिवार नै स्क्वासमा आवद्ध भएको थाहा पाएपछि त्यहाँ उपस्थित सबै चकित परे । अनि भन्न भ्याए, ‘आहा कति राम्रो परिवार नै सबै स्क्वास खेलाडी ।’


अमृत र कृष्णालाई स्क्वासमा लाग्न प्रेरित गर्ने बाबा हिराबहादुर नै हुन् । उनी नेपाली खेलकुद जगतमा एक दुर्लभ उदाहरण हुन् । हिराबहादुरले आफ्नो स्क्वास खेल जीवनमा लगातार १७ पटक राष्ट्रिय च्याम्पियन बने ।

च्याम्पियन बाबाको पाइला पछ्याउँदै छोराछोरी नै अहिले स्क्वासमा छन् । गोरखा जन्मिएका अमृत ललितपुरमा अहिले बस्छन् । २०७३ मा बाबा हिराबहादुरले खेल जीवनबाट सन्यास लिएपछि छोराछोरीलाई प्रशिक्षक बनेर साथ दिंदै आएका छन् । बाबाकै साथ र प्रशिक्षणका कारण सफल भएको भन्दै सोमबार आफूले जितेको मेडल बाबालाई लगाइदिएको अमृतले बताए ।

पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट नै आफूले सहभागिता जनाउन थालेको उनले जानकारी दिए । त्यो बेला बाबु छोरा नै कोर्टमा थिए । अनुभवको कमीका कारण उनले त्यो बेला कुनै पदक ल्याएनन् । तर, बाबाले स्वर्ण ल्याए । छैटौंमा उनको सहभागिता रहेन । ‘हुन त म पाँचौं राष्ट्रियदेखि नै खेल्न थालेको हुँ । तर, त्यतिबेला म सानो पनि थिएँ, एक्स्पेरियन्स पनि थिएन । त्यस्तो ठूलो अचिभमेन्ट भएन,’ उनले भने ‘छैठौंमा एसएलसीसीको होस्टेलमा भएर खेल्न पाइनँ, त्यसपछि कन्टिन्यू थ्री टाइम्स गोल्ड मेडलिस्ट बनें ।’

भाइको प्रगति देखेरै उनकी दिदी पनि स्क्वास कोर्ट धाउन थालिन् । भाइको प्रगति र बाबाको साथले खेलाडी बनेको कृष्णा थापा बताउँछिन् । उनले पनि छैटौं राष्ट्रिय खेलकुदबाट भाग लिन थालिन् । पहिलो पटक नै कास्य जितेकी कृष्णाले सातौं राष्ट्रियमा रजत र आठौंमा स्वर्ण पदक जितेकी छिन् । उनको सेमीफाइनल खेल मंगलबार छ । सेमीफाइनल चरण पार गरेर यो पटक पनि स्वर्ण जित्ने उनको ईच्छा छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै महिला खेलाडी उत्पादनमा जोड दिने उनको योजना छ । अमृत र कृष्णाले जति पनि पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाए सधैं गण्डकी प्रदेशबाट खेलिरहेका छन् ।


Author

थप समाचार
x