फिचर

…अनि कल्याणले तीन पटकका विश्व च्याम्पियन जुआङलाई पराजित गरे

सञ्जीव शाह |
असार ५, २०७९ १७:५२ बजे

काठमाडौँ - चीनको ‘कल्चरल रेभ्यूलुसन’पछि तत्कालीन नेपालका राजा महेन्द्रको पालामा सन् १९७० मा चीनको टेबलटेनिस टिम नेपाल आयो । चीनको टिममा करिब ५ पुरुष र ३ महिला टेबलटेनिस खेलाडी थिए । त्यसमध्येका एक थिए, तीन पटकका विश्व च्याम्पियन – जुआङ जेडोङ (चाङ से-तुङ नामले समेत चिनिने) ।

राजा महेन्द्रको जन्मोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण खेलका लागि नेपाली टिममा थिए त्यस समयका जुनियर खेलाडी कल्याणराज पाण्डे । जुनियर खेलाडी भएपनि कल्याणलाई नेपाली टिममा समेटिएको थियो । 


संयोग मान्नुपर्छ खेल तालिका सार्वजनिक गर्दा उनको प्रतिद्वन्द्वी तीन पटकका विश्व च्याम्पियन जुआङ जेडोङ अर्था चाङ से तुङ परे । करिब १८ वर्षको उमेर हुनुपर्छ, पाण्डेमा छुट्टै जोश र उमंग थियो । 

राष्ट्रिय सभागृहमा भएको खेलमा कल्याणले पहिलो सेटमा आश्चर्यजनक नतिजा निकाले। सन् १९६१, ६२ र ६५ मा लगातार तीन पटक विश्व च्याम्पियन बनेका जुआङलाई पाण्डेले पहिलो सेटमा पछि पारे ।

‘कसै-कसैले त्यो पहिलो सेटको जितलाई संयोग मान्छन् तर म चाँहि मैले जितेको नै भन्छु,’ ७० वर्षमा प्रवेश गरेका पाण्डे बताउँछन् ।  

पाण्डेका अनुसार २१ अंक ल्याएर जित्ने खेलमा पहिलो सेट २०-२० मा पुगेपछि भने जितका लागि उनलाई चाहिएको थियो २ अंक । ‘अनि म एक अंक ल्याउँदै २१-२० ले अघि बढे । त्यसपछि जितका लागि १ अंक मात्र आवश्यक रहेको अवस्थामा जुआङको हातमा सर्भिस थियो र मलाई लाग्यो यो खेल जित्ने हो भने सट प्रहार नगरी जित्न सकिदैन । मैले सोचे एक सट प्रहार गर्छु लागे जित्छु, नलागे जित्दैन । तर सट प्रहार गर्दा लाग्यो र मैले त्यो पहिलो सेट २२-२० ले जिते ।‘ 

पाण्डेले भने बाँकी दुई सेट सायद १०-२१ र ८ वा ९-२१ ले गुमाएको हुनुपर्छ जुन उनी एकिनका साथ भन्न सक्दैनन् । ‘खेल त हारिहाले, त्यैपनि त्यो एक सेट जित्दा नेपालमात्र नभएर विदेशमा समेत चर्चा चल्यो । त्यसरी सबैतिर आफ्नो नाम आएपछि दंग परेर टेबल टेनिस खेल्यो भने केही गर्न सकिन्छ भन्ने लाग्यो,’ उनी थप्छन् । 

सन् १९७० मा चीनको टोली नेपाल आएपछि सन् १९७१ मा भने नेपाली टोली मैत्रीपूर्ण खेलका लागि चीन पुगेको थियो र त्यस टिममा पाण्डे पनि समेटिएका थिए । त्यसपछि उनी नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य झै बने ।  

जनरल नर शमशेरको नेतृत्वमा नेपाली टोली चीन पुगेको थियो । त्यसपछि उनी सन् १९७५/७६ सम्म निरन्तर टेबलटेनिसमा लागिरहे । त्यस दौरान उनले नेपालका लागि भारतको कलकत्तामा भएको विश्व च्याम्पियनसीप, इरानको तेहरानमा भएको एसियन गेम्स, चीनको बेइजिङ तथा नाइजेरियाको लेगोस भएको एसियन, अफ्रिकन एण्ड ल्याटिन अमेरिकन टेबलटेनिस जस्ता प्रतियोगितामा सहभागिता जनाउने मौका पाए । 

त्यतिमात्र नभएर सन् १९७२ मा लेगोसमा भएको एसियन, अफ्रिकन एण्ड ल्याटिन अमेरिकन टेबलटेनिस टुर्नामेन्टमा उनी नेपालको टिम कप्तान नै बन्ने अवसर प्राप्त गरे । 

टेबलटेनिस सुरुवात कहिलेबाट गरिएको भने यकिन नभएका पाण्डेले भने टेबलटेनिसलाई लामो समयसम्म निरन्तरता दिन सकेनन् । करिब सन् १९७६ मा उनले टेबलटेनिस छाडेर उनी व्यावसायीक तथा शैक्षिक क्षेत्रमा होमिए । 

‘क्यारियरलाई अगाडी बढाउनु थियो साथै पढाइलाई निरन्तरता पनि निरन्तरता दिनुथियो र खेलका लागि समय नै थिएन किनभने त्यसबेला बिहान ३ देखि ४ घण्टा तथा बेलुका पनि ३ देखि ४ घण्टासम्म खेल्नुपर्थ्यो । खेल्दा खेल्दै काम पनि गरिरहेका कारण कामका लागि पनि समय दिनुपर्ने भएपछि खेल्न छाडे । मैले टेबलटेनिस भन्दा पनि पढाइ र क्यारियरलाई बढी प्राथमिकता दिए,’ उनी थप्छन् । 

टेबलटेनिस छाडेको ४६ वर्ष भइसकेपनि पाण्डेले भने यस खेलमा नेपालमा अझै क्यारियर देख्दैनन् । ‘म त अहिले पनि सोच्छु खेलमा क्यारियर छ भनेर?,’ उनी बताउँछन् । 

पाण्डेका अनुसार उनको पालामा खेलमा क्यारियर नभएपनि विदेश जान पाउने लोभ थियो । ‘एउटा कुरा भनेको विदेश जान पाइन्छ भन्ने हो भने अर्को भनेको आफूलाई खेल्न मन लाग्नु रहेको थियो । क्यारियर बनाउछु भन्ने सोचिदैन्थ्यो,’ उनी थप्छन् । 

तत्कालीन चीनको उदार नीति 

पाण्डेका अनुसार त्यस बेलाको चीन र अहिलेको चीनमा धेरै फरक छ । त्यस बखत चीनका शीर्ष नेताहरुबाटै खेलाडीलाई सम्मान गरिने गरिएको तथा विभिन्न देशका खेलाडी तथा टिमप्रति चीन उदार हुने गरेको उनी सम्झन्छन् । 

‘उदाहरणका लागि सन् १९७१ मा चीनको बेइजिङ ग्रेट हल अफ चाइनामा भएको एसियन, अफ्रिकन एण्ड ल्याटिन अमेरिकन टेबल टेनिसका समयमा सम्मानमा डिनर दिइएको थियो त्यसका साथै चीनको प्रधानमन्त्री चाउ एन-लाईसँग समेत फोटो खिच्ने अवसर प्राप्त भएको थियो,’ उनको अनुभव छ ।  

नाइजेरियामा भएको प्रतियोगिता अघि चीनले नेपाली टिमलाई चीनमा बोलाएर मैत्रीपूर्ण खेलको आयोजना गर्नुसाथै नेपाली टिमको टिकट खर्च, खाने बस्ने खर्च साथै नाइजेरिया जाने खर्च समेत बेहोर्ने गरेको उनको सम्झनामा अझै छ । 

पाण्डे भन्छन्, त्यति बेला चीन निकै उदार देखिन्थ्यो र नेपालको टेबलटेनिसलाई माथि लैजानुमा चीनको ठूलो हात छ । 

‘तर चीन अहिले भने खेलबाट व्यापार गर्ने मनशायमा पुगेको छ । उनीहरु कमर्शियलाइज्ड भए,’ उनी भन्छन् ।
 



Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
ad
x