फिचर

लिग-२ मा नेपालकाे खेल : जसले सर्वाधिक रन बनाए, विकेट लिए

इकागज |
जेठ २९, २०७९ आइतवार १५:१५ बजे

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले हालसम्म ३६ मध्ये केवल १४ खेल खेलेको छ र उसले अझै २२ खेल खेल्न बाँकी नै छ । अर्कोतर्फ ओमानले ३४ खेल खेलिसक्दा केवल २ खेल मात्र खेल्न बाँकी रहेको छ ।

अहिलेको अवस्थामा सर्वाधिक रन बनाउने तथा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा ओमानका खेलाडीको नाम अगाडी आउछ । ओमानका विलाल खानले ३३ खेलमा सर्वाधिक ७३ विकेट हात पारेका छन् । ओमानकै जतिन्दर सिंहले ३४ खेलबाट १ हजार ८ रन बनाएका छन् । 


तर नेपालले केवल १४ खेलमात्र खेलेपनि एकै इनिङ्सको उत्कृष्ट बलिङ भने नेपाली बलरको नाममा रहेको छ । त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्धको खेलमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानले सर्वाधिक ६ विकेट लिएका थिए । उनले उक्त खेलमा केवल ६ ओभर बलिङ गर्दै १६ रन खर्चिएर ६ विकेट लिए । उनले एक मेडल ओभर समेत फाले । 

त्यसबाहेक एकै खेलमा सर्वाधिक ५ विकेटसम्म झरेको छ र त्यो पनि १७ पटक । त्यस मध्येका एकै खेलमा ५ विकेट लिने खेलाडी करण केसी पनि हुन् । करणले ओमानविरुद्ध ५ विकेट हात पारेका छन् । 

नेपालले अझै २२ खेल खेल्न बाँकी रहेका कारण अरु कीर्तिमानहरु कायम हुन सक्ने सम्भावना कायमै रहेपनि नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शन भने यस्तो छ। 

सर्वाधिक रन बनाउने शीर्ष तीन खेलाडी 
 

नेपाल खेलाडीमध्ये सबैभन्दा धेरै रन रोहित कुमार पौडेलले बनाएका छन् । उनले ११ खेलमा ३ सय ३१ रन जोडेका छन् । उनले सर्वाधिक ६२ रन जोडेका छन् । सर्वाधिक ५६ रन बनाएका ज्ञानेन्द्र मल्लले भने ११ खेलमा २ सय ८६ रन जोडेका छन् । तेस्रो स्थानमा आशिफ शेख छन् र उनले ८ खेलमा २ सय ४२ रन जोडेका छन् । आशिफले एकै खेलमा सर्वाधिक ९० रन बनाउन सफल भएका छन् । 

सर्वाधिक विकेट लिने तीन खेलाडी

बलिङतर्फ नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी हुन् करण केसी । १४ वटै खेल खेलेका करणले २७ विकेट हात पारेका छन् । उनको उत्कृष्ट बलिङ भनेको ३८ रन खर्चेर ५ विकेट लिनु हो । 

करणपछि सर्वाधिक विकेट लिनेमा कप्तान सन्दीप लामिछाने हुन् । लामिछानेले १४ खेलमा २६ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ भनेको १६ रन खर्चेर ६ विकेट लिनु हो । 

यता १० खेल खेलेका सुशान भारी नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । उनले १४ विकेट हात पारेका छन् । भारीको उत्कृष्ट बलिङ भनेको ५ रन खर्चिएर ४ विकेट लिनु हो । 
 


Author

थप समाचार
x