फिचर

१९ औं एसियन गेम्सका लागि पुनः खेलाडी छनोट हुन्छः खेलकुद मन्त्री गहतराज

सञ्जीव शाह |
जेठ १०, २०७९ मंगलबार १६:३२ बजे

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले १९ औं एसियन गेम्सका लागि पुनः खेलाडी छनोट हुने बताएका छन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्ने क्रममा मन्त्री गहतराजले मंगलबार चीनमा आयोजना हुने भनिएको १९ औं एसियन गेम्सका लागि पुनः खेलाडी छनोट हुने बताए । 

गहतराजले मन्त्रिपरिषदको निर्णय अनुसार नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जनाए । उनले नवौं राष्ट्रिय खेलकुदबाट खेलाडीको छनोट हुने उल्लेख गरे । 


चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ तारिख (भदौ २५ देखि असोज ९ गते) सम्म आयोजना हुने तय भएपनि कोभिडका कारण १९ औं एसियन गेम्स स्थगित गरिएको छ । अब २०२३ मा मात्र एसियन गेम्स हुने जनाइएको छ । 

नेपालले एसियन गेम्सको २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो र त्यसका लागि सबै २३ खेलका छनोट प्रतियोगिता आयोजना गरि प्रारम्भिक चरणमा खेलाडी छनोट गरिसकेको छ । 

'एसियन गेम्स पनि सरेको छ । हाम्रो उदेश्य भनेको एसियन गेम्समा नवौं राष्ट्रिय खेलकुदबाट खेलाडी छनोट गर्ने हो । त्यसैले एसियन गेम्सका लागि पुनः खेलाडी छनोट हुन्छ,' गहतराजले भने । 

तर नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले २३ खेलबाट ६ सय भन्दा बढी खेलाडीको लामो सूची एसियन गेम्सका लागि पठाइएको तथा सोही सूचीमा परेका खेलाडीले मात्र एसियन गेम्समा सहभागिता जनाउन पाउने दावी गरे । उनले अहिले १ खेलाडीको स्थानमा ४ खेलाडीको सूची पठाइएको बताए । 

'हामीले पठाएको सूचीमा परेका खेलाडीहरुबाटै राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गर्ने खेलाडी छनोट हुनेछन्,' श्रेष्ठले दोहाेर्याए । 

एनओसी महासचिव श्रेष्ठले प्रारम्भिक छनोटमा परेका खेलाडीको प्रशिक्षण जेठ २४ गतेबाट सुरु हुने समेत जनाए । 

तर खेलकुद मन्त्री गहतराज र एनओसी महासचिव श्रेष्ठको भनाइमा भने भिन्नता देखिन्छ । खेलकुद मन्त्री गहतराजका अनुसार नवौं खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी एसियन गेम्सका लागि छनोट हुनेछन् ।

जबकी एसियन गेम्सका लागि खेलाडीको लामो सूची (प्रारम्भिक सूची) पठाइसकिएको छ । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x