साहित्य

दोस्रो जनआन्दोलनको मिमांसासहितको पुस्तकमा आए माइला बाजे

इकागज |
माघ ११, २०७८ मंगलबार १२:१ बजे

काठमाडौं - वर्षौंसम्म उनले माइला बाजेको छद्मनाममा राजतन्त्र, दोस्रो जनआन्दोलन, नयाँ संविधान, माओवादी र अन्य राजनीतिक पार्टीलगायत विविध विषयबारे ब्लग लेखे । उनको कलम यति तीखो थियो कि माइला बाजे को होलान् भनेर पाठक गम गान्थे । 

कसैले उनी राजा ज्ञानेन्द्र भएका अड्कल गर्थे त कसैले उनी रुक्माङ्गद कटवाल भएको अनुमान लगाउँथे । कसैले उनी पत्रकार मनरञ्जन जोशी भएको पनि शंका गर्थे । यावत् अनुमानलाई विराम लगाउँदै अन्ततः माइला बाजे सञ्जय उपाध्यायका रूपमा प्रकट भए ।  


ब्याकफायर इन नेपाल ः हाउ इन्डिया लस्ट द प्लट टू चाइनालगायत पुस्तक लेखेका उपाध्याय आफ्नो परिचय खुलस्त पारेकोे पुस्तक इम्पावर्ड एन्ड इम्पेरिल्ड ः नेपाल्स पिस पजल इन बिट्स एन्ड पिसेसमा लेख्छन्, ‘जब मैले ब्लग लेख्न सुरु गर्दै थिएँ, त्यतिखेर राजा ज्ञानेन्द्रको शाहीशासन चरम स्थितिमा थियो ।

सात पार्टीको गठबन्धन र माओवादीबीच बाह्रबुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर धेरै कुरा अस्पष्ट थिए । भूराजनीति, सार्वजनिक विचार, आशा, निराशा— अनुमान लगाउन नसकिने कुरा थुप्रै थिए । शाही प्रतिगमनको ‘न्यारेटिभ’ जति बलियो भए पनि मैले त्यसलाई कहिल्यै विश्वास गरिनँ, अहिले पनि गर्दिनँ ।

कसैलाई पनि राम्रो नहुने गरी हाम्रो त्रिपक्षीय लडाइँं धेरै लम्बिएको थियो ।’ आफ्नो ब्रह्मले जे देख्यो, त्यही लेख्ने स्वतन्त्रता आफूलाई छद्मनामले दिएको उनी बताउँछन् ।  
माइला बाजेको परिचय थाहा पाएपछि कलाकार मनीषा कोइरालाले ट्विट गरिन्, ‘म र मेरा बुबाआमा अन्तर्दृष्टि र बुझाइले भरिएका उनका लेखहरूको प्रायः चर्चा गथ्र्यौं । र उनको साँचो परिचय अनुमान लगाउने प्रयास गथ्र्यौं ।’

पूर्वपरराष्ट्रमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले भने, ‘वाह ! अनुमान लगाउने खेल सकियो । सुसङ्गत, सुस्पष्ट भएकामा र अझ राम्रो नियतले आफूलाई लागेको कुरा राखेकामा धन्यवाद, सञ्जय उपाध्याय ।’ 

बाह्रबुँदे समझदारीमा हस्ताक्षर र नयाँ संविधान घोषणा भएको बीचको समयमा घटेका राजनीतिक विकासक्रमबारे पुस्तकले नितान्त फरक दृष्टिकोण प्रदान गर्ने प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । ‘पुस्तकले यी विषयबारेका हाम्रो बुझाइलाई थप फराकिलो बनाउन मद्दत गर्छ,’ उनले भने । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । दोस्रो जनआन्दोलन र संविधान घोषणाबीचको अवधिमा लेखिएका लेख पुस्तकमा समावेश छन् । 


Author

थप समाचार
x