साहित्य

बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक

इकागज |
पुस २४, २०७८ शनिबार १९:१२ बजे

काठमाडौँ - पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरेकी हुन् । 

मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गरे । युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उनको भनाइ छ । ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ ‘सुनाखरी फूल’ हो,’ उनले भने ।  


कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवादसमेत गरिन् । संवादमा थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन् । नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारुले बताइन् ।

‘नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिमका लबजमा नेपाली भाषा बोलिन्छ । त्यसलाई साहित्यमा ल्याउने काम जटिल नै छ,’ उनले भनिन्, ‘तर बसन्तजीले पूर्वेली लिम्बू लबजलाई नेपाली भाषामा जसरी उतार्नुभएको छ, त्यो अति मीठो छ । यही नै यसको सशक्त पक्ष हो ।’

तत्कालीन युद्धरत पक्ष माओवादी र नेपाली सेना थिए । तिनका बीचमा सर्वसाधारण जनता पिल्सिएका थिए । तर पुस्तकमा लेखकले द्वन्द्वको चित्रण गर्दा सबै पक्षबीच ‘ब्यालेन्स’ मिलाएको पनि थारुको भनाइ छ ।

कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए । ‘लकडाउनले धेरैलाई कवि बनायो । मलाई उपन्यासकार,’ उनले भने, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार ।

पहिलो मस्यौदा लेखिइँदा म नेपाल म्यागजिन सम्पादन गर्दै थिएँ । अग्रज आख्यानकार नारायण वाग्लेलाई एकसरो देखाएर सुझाव लिने बेलासम्म पत्रिकाको नेतृत्वबाट बाहिरिइसकेको थिएँ । मसँग उपन्यासका लागि सोच्ने पर्याप्त समय भइदियो । फुर्सदमा व्यस्त बन्न पाएँ । त्यसैले यो किताब तयार हुन सक्यो ।’
संवादसँगै रिदम कँडेलले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए । कँडेलको प्रस्तुतिपछि कवि नवराज पराजुलीले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा लोचन रिजालले समेत साङ्गीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रकाशकका तर्फबाट फाइनप्रिन्टका अजित बरालले आफ्नो धारणा राखेका थिए । आफू ‘महाभारा’लाई लिएर अति उत्साहित भएको उनले बताए । ‘स्मरणीय पात्रहरू, हास्यरसको प्रचुरता र नेपाली आख्यानमा विरलै पाइने संवादले ‘महाभारा’लाई पछिल्लो समयमा प्रकाशित राम्रा आख्यानको पङ्क्तिमा दरिलोसँग उभ्याउनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

कार्यक्रममा गायिका झुमा लिम्बू र उनको रैथाने समूहको प्रस्तुतिसमेत रह्यो । उनको समूहले विशेषगरी ‘महाभारा’ पुस्तकको थिममा आधारित रहेको साङ्गीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा टोमस कारोस्को र मनीष गन्धर्वको समेत प्रस्तुति थियो ।  

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ ।

मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण हो, महाभारा । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । 
 


Author

थप समाचार
x