साहित्य

नेत्र पन्थीको पुस्तक 'लेफ्ट–राइट' जेठ तेस्रो साता बजारमा

इकागज |
जेठ १८, २०८० बिहीबार ९:४३ बजे

काठमाडौँ-  साङ्ग्रिला बुक्सले पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा ल्याउने भएको छ । आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै तेस्रो साता डिजिटल विमोचनसहित पुस्तक बजारमा पुर्याउने साङ्ग्रिला बुक्सको तयारी रहेको छ । साथै, आइतबारबाट नै पुस्तकको अग्रिम बुकिङ पनि खुला गरिएको छ ।  

पत्रकार पन्थीले आफ्नो लामो पत्रकारिताको अनुभव र अध्ययनबाट तयार पार्नुभएको यस पुस्तकमा नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गर्नुभएको छ । पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास गरिएको छ ।


लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका नाजायज कसरत, षड्यन्त्रै–षड्यन्त्र, धोकै–धोका, अन्तर्पार्टी संघर्ष र भूराजनीतिक टकरावलाई उठान गरिएको छ । पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौँ उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको लेखक पन्थीको भनाइ छ । पन्थीका यसअघि डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् । 

 


Author

थप समाचार
x