साहित्य

युद्ध साहित्य र सेनाको मनोविज्ञान `लाहुरेको रेलिमाई´

इकागज |
जेठ १६, २०८० मंगलबार ७:२० बजे

चितवन । लेखक,पर्यावरणविद तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा सोमबार गैंडाकोटस्थित नारायणी रिसोर्टमा कार्यक्रम गरिएको हो । 

पुस्तकमाथि बोल्दै समीक्षक उदय अधिकारीले पुस्तकमा लेखक हितानले लाहुरेको कथालाई मर्मस्पर्शी ढंगले लेखेको बताए । `पुस्तक पढ्दा लाहुरेका दु:ख र दर्दले धेरै ठाउँमा सम्हालिन सकिन, आँसु पनि रोक्न सकिन´, अधिकारीले भने । नेपाली युद्ध साहित्य दरिलो रूपमा नआए पनि केही पुस्तकहरू प्रतिनिधिमूलकरूपमा आएका र लाहुरेको रेलिमाई यसैको उदाहरण भएको अधिकारीले बताए ।


पुस्तकमा सेनाको मनोविज्ञानलाई अत्यन्तै सजीवरुपमा प्रस्तुत गरिएको समीक्षक रमेश प्रभातले बताए । पहिलो विश्वयुद्धमा ब्रिटिस सेनाको गोर्खा राइफलका तर्फबाट युरोपीय भूभागका बेल्जियम, फ्रान्स र अफ्रिकी भूभागका मेसोपोटामिया लगायतका विभिन्न स्थानमा युद्ध लडेका मित्रसेन थापाले युद्ध सकिएपछि सम्पूर्ण जीवन नाटक, गीत, भजनजस्ता साहित्यको सिर्जना तथा संगीत र नाटकको मञ्चनमा बिताएको कुरा पनि पुस्तकमा समेटिएको प्रभातले बताए । उनले अगाडि भने - `त्यति मात्र होइन उनी समाजमा भएका कमीकमजोरी हटाउनका लागि समाजसेवामा पनि होमिए । भारतीय भूमिमा बसेका उनले आफ्नो पुर्खाको थातथलो खोज्दै गुल्मीसम्मको यात्रा पनि तय गरे । यिनै जीवनभोगाइको फेहरिस्त हो लाहुरेको रेलिमाई उपन्यास ।´

लामो समयदेखि बेलायत सरकारसँग आवद्व रहेर पर्यावरणविदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सक्रिय अभियन्ताको रुपमा परिचित छन् । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको लाहुरेको रेलिमाई उपन्यास मास्टर मित्रसनको जीवनीमा आधारित छ । यो कृतिले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम विश्वयुद्वलाई नजिकबाट बुझ्न सहज बनाउनेछ ।

कार्यक्रमका प्रमुख अतिथि डाक्टर अशोक थापाले लाहुरेको रेलिमाई पुस्तकमा युद्धको भाषा लेखिएको बताए । `युद्धको भाषा बन्दुकले मात्र लेख्न सक्छ, कलमले लेख्न खोज्ने मुर्खहरू हुन्, विजय हितान महामुर्ख बनेर यो उपन्यास लेखेका हुन्´, थापाले भने । पुस्तकमा नेपाली जीवन सँगसँगै युद्ध संस्कृति, त्रास र पारिवारिक विछोडका मुटुछेड भावनाहरू  भएको थापाले बताए । `युद्ध कसका लागि हो र हामी कसको लागि लडेका छौँ भन्ने कुरा यो पुस्तकमा लेखिएको छ´, उनले भने । थापाले युद्ध साहित्यको क्षेत्रमा नेपाली साहित्यमा २२ वटा कृति आइसकेका र यसको लाइनमा यो अर्को कृति थपिएको बताए । उनले प्रथम विश्वयुद्धमा सामेल नेपाली सेनाको युद्ध मनोविज्ञानको चिरफार गर्ने उद्देश्यले यो कृति लेखिएको उल्लेख गरे ।

सम्पूर्ण किताबको आयोजनामा गरिएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले युद्ध साहित्यका बारेमा बोलेका थिए । रानाले माओवादी जनयुद्धको चर्चा गर्दै आफू उक्त युद्धको भुक्तभोगी र युद्धपीडित भएको उल्लेख गरे । कवि गोविन्दराज विनोदीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । अध्यक्ष विनोदीले उपस्थित सबैलाई आभार व्यक्त गर्दै लेखक विजय हितानको लाहुरेको रेलिमाई आख्यानको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै लेखक हितानले अनुभव र भोगाइलाई किताबमा उतारेर पाठकसामू यो कृति पस्केको बताए । उनले सैनिक सेवामा भर्ती भई आफूले कहिल्यै नबिर्सने क्षण यस कृतिमा असी प्रतिशत यथार्थ र बीस प्रतिशत काल्पनिकता मिश्रित भएको बताए । कार्यक्रमलाई सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।


Author

थप समाचार
x