साहित्य

हाइब्रिड स्याल

उद्धव देवकोटा |
बैशाख २५, २०८० सोमवार १०:४७ बजे

 मेघ गर्जन संगै
वर्षा हुनु अघि
हुण्डरी आएर
मडारिएपछि टाउकोमा
खेतैखेत
बारी- बारी
गोठैगोठ
दलान र रछान
केही नहेरी
केही नदेखी
हुइँया मच्चाएर
भाग्दछन् स्यालहरु
मानौं कि ठूलै म्याराथन चलिरहेछ

आजभोलि
स्यालहरु भेटिन्छन्
फरक आकृतिमा
फरक आवरणमा
यिनीहरु
बाख्राका पाठालाई पनि
माया गरेर म्वाई खान खोज्छन्
स्नेहले दूध चुसाउन खोज्छन्
आँसु खसाल्छन्
पाउ पर्छन्
साष्टाङ्ग दण्डवत गर्छन्
मानौं
सभ्य भएका छन्
संस्कारी भएका छन्

स्नेही भएका छन्

स्यालको डीएनए फेरिएको छ
या भएको छ उत्परिवर्तन
त्यसैले
उदय भएको छ नयाँ प्रजाति
अनि
डन्डा र झण्डा बोकेर
साकार पार्दैछ
कुबेर बन्ने
वर्षौं अघिका
आदिम सपनाहरु.......

                तिलोत्तमा, रुपन्देही



Author

थप समाचार
x