साहित्य

बहस, सम्मान र रचना वाचनसँगै सकियाे साहित्य महोत्सव

इकागज |
बैशाख १०, २०८० आइतबार १५:२१ बजे

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आयोजित हेटौंडा साहित्य महोत्सव–२०८० सकिएको छ । साहित्य संगम मकवानपुरले शुक्रबार र शनिबार  आयोजना गरेको महोत्सवमा विविध विषयमा बहस, स्रष्टा सम्मान, कृति विमोचन तथा रचना वाचन गरिएको साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले बताइन् । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष भुपाल राईले स्रष्टा सम्मान तथा कृति विमोचन गरेका थिए ।


महोत्सवको दोस्रो दिन मकवानपुुर साहित्य श्री सम्मान–२०७९ बाट मकवानपुरका साहित्यकार/ गीतकार शम्भु बास्कोटालाई प्रदान गरेको छ । बास्कोटालालाई १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ । २१ हजार १ सय ११ रुपैयाँसहित भैरव अर्याल स्मृति सम्मान–२०७९ सञ्जय साहलाई प्रदान गरिएको छ । साह रौतहटमा रहेर साहित्य लेखन, पत्रकारिता, व्यंग्य र बज्जिका भाषामा निरन्तर साधनारत छन् ।

अणकुमारी स्मृति साहित्य पुरस्कार ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिएको छ । थापालाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । यसैगरीे शेषजंग स्मृति कथा पुरस्कारबाट बालजागृति सेकेन्डरी बोडिङ स्कुलकी छात्रा कृषाङ्गी अर्याललाई पुरस्कृत गरिएको छ । अर्याललाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । भेषनाथ अधिकारी स्मृति छन्द सम्मान कवि सुदेश सत्याललाई प्रदान गरिएको छ । सत्याललाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित सम्मान गरिएको हो । सुभद्रादेवी–मदन मुडभरी स्मृति सम्मान–२०७९ साहित्यकार पूर्णकला घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यसैगरी मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान–२०७९ मकवानपुरकी स्रष्टा बिना थिङलाई प्रदान गरिएको छ । बिनालाई १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । मुक्ति–तारा सम्मान–२०७९ सुत्रकथाकार श्यामकृष्ण ज्ञवाली (एसके निधन) लाई प्रदान गरिएको छ । एसकेलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । डम्बर पूर्णमाया स्मृति कविता सम्मान–२०७९ साहित्यकार मनुु मञ्जिललाई प्रदान गरिएको छ । मञ्जिललाई २२ हजार २ सय २२ रुपैयाँ राशिसहित सम्मान गरिएको हो । साहित्य संगम मकवानपुर स्मृति कृति सम्मान–२०७९ कथासंग्रह अपरिचित अनुहारका लेखक तथा कथाकार महेश पौडेललाई प्रदान गरिएको छ । पौडेललाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । १० हजार राशीको रामहरि–देवु युवा सम्मान–२०७९ मकवानपुरका कवि छवि अनित्यलाई प्रदान गरिएको छ ।

हेटौंडा–५ स्थित जिएस निकेतन विद्यालयका छात्र आदर्श पौडेलको पहिलो कृति “मेकिङ इट इजी” विमोचन गरिएको छ । १० कक्षामा अध्ययनरत पौडेलले १४ वर्षको उमेरमा कृति विमोचन गर्न सफल भएको छ । समीक्षक बलराम अधिकारीले तनावमुक्त तथा उर्वरा जीवन कसरी जिउने भन्ने विषयमा पौडेलले कृति तयार पारिएको बताए । गीताको अनुशरण गर्दै आध्यात्मिक कसरी बन्नेबारे कृतिमा चर्चा गरिएको उलने बताए ।

यसैगरी बैंकिङ क्षेत्रबाट सेवानिवृत्त सुदर्शन अधिकारीको दोस्रो कृति “बैंकिङ क्षेत्रमा बढेका पाइलाहरु” विमोचन गरिएको छ । वित्तीय क्षेत्रमा काम गर्न चाहने पाठकलाई मध्यनजर गर्दै कृति तयार पारिएको अधिकारीले बताए । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलले उक्त कृतिमाथि समीक्षा गरेका थिए । २००९ सालमा काठमाडौंमा जन्मेका अधिकारी वित्तीय क्षेत्रमा ४५ वर्ष सेवा अनुभवी हुन् ।

यस्तैगरि “आख्यानले हिँडेको बाटो”, “अनुवादः भाषाको मन छाम्ने प्रयत्न”, “कविताहरुको क्षितिज कति साँघुरो, कति फराकिलो”, “छन्दको सुगन्ध, कविताको इन्द्रेणी” जस्ता विषयमा वहस गरिएको छ । पहिलो दिन कार्यक्रमको उद्घाटन गर्दै माटोको कथा, कसरी बन्दै छ हेटौंडा, सिर्जनामा नयाँ पुस्ता, मुक्तक महक, वाह गजल जस्ता विषयमा बहस गरिएको थियो । यस्तै साहित्यमा शरीरको राजनीति कार्यपत्र प्रस्तुत गरिएको थियो ।

साहित्य र राजनीतिलाई एक अर्काको परिपूरकको रूपमा लिनुपर्ने सहभागीहरूले बताए ।


Author

थप समाचार
x