साहित्य

गोकर्णेश्वर नगरपालिकाले गजल प्रतियाेगिता आयोजना गर्दै, प्रथम पुरस्कार ६० हजार रुपैयाँ

इकागज |
बैशाख ७, २०८० बिहीबार १५:४९ बजे

काठमाडाैं । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुल्ला प्रतियोगितात्मक वृहत गजल महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ ।

साे क्रममा गजल प्रतियाेगितासमेत राखिएकाे छ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको वाचन तथा गायनमा छनोट गरिनेछ । प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद ६० हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँचजनालाई सान्त्वना पुरस्कार स्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।


यसै गरी महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगीका रुपमा विशिष्ठ गजलकारहरुको उत्कृष्ट प्रस्तुति रहनेछ । महोत्सवलाई सफल र भव्य रुपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । यसै गरी महोत्सवलाई व्यापक रुपमा प्रचारप्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रिय स्तरको कविता प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिसकेको छ । भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान सहितका अन्य सक्रिय साहित्यिक संघ संस्थाको उपस्थितिका कारण पनि साहित्यिक वृत्तमा गोकर्णेश्वर नगरपालिकाको विशिष्ट पहिचान रहेको छ । गोकर्णेश्वर नगरपालिकाले साहित्यिक प्रकाशनहरूमा पनि सहयोग गर्दै आएको छ ।

सभ्य तथा सचेत समाज निर्माणमा साहित्यिको सबैभन्दा महत्वपूर्ण भूमिका हुने भएकाले साहित्यिक गतिविधिलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको नगर प्रमुख दीपक रिसाल बताउँछन् । रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता साहित्यिक हस्तीहरूको जन्म तथा कर्मभूमिको रुपमा परिचित गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिरहने नगरप्रमुख रिसालको भनाइ छ ।


Author

थप समाचार
x