साहित्य

टर्किस लेखक अहमेत हम्दी थम्पिनारको उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित

इकागज |
फागुन २८, २०७९ आइतवार १३:३४ बजे

काठमाडौं : टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो । डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’  राखिएको छ । यसको प्रकाशन वी रिडले गरेको हो ।

टर्किस साहित्यको इतिहासमा यो नै त्यस्तो पहिलो उपन्यास हो जसले वर्ग चेतना र आधुनिक उपन्यासका सिद्धान्तलाई सघन र सर्वाङ्गीण रूपले सम्बोधन गर्दै पश्चिमीकरणका समस्याबारे गम्भीर छलफल गरेको छ । पूर्व–पश्चिमबीचको द्वन्द्व, व्यक्तिगत खुसी र सामाजिक दायित्वबीचको सम्बन्ध र नयाँ–पुरानो मान्यताबीचको द्वन्द्व उपन्यासको केन्द्रमा छ । धर्म, प्रेम, पश्चिमा सभ्यता र संस्कृति अनि इतिहासका विविध आयाम समेटेर लेखक थम्पिनारले उपन्यासलाई खँदिलो र पठनीय बनाएका छन् ।


थम्पिनारलाई बीसौं शताब्दीको सबैभन्दा प्रमुख टर्कीस उपन्यासकारका रुपमा लिइन्छ । इस्तानबुलमा जन्मेका उनी कवि, निबन्धकार पनि हुन् । उनका ‘माहुर कम्पोजिसन’, ‘आउटसाइड द स्टेज’, ‘द टाइम रेगुलेसन इन्स्टिच्युट’, ‘वुमन अन द मून’ उपन्यास र ‘अल हिज पोएम्स’, ‘अडिसन्स’, ‘अब्दुल्लाह इफेन्दीज् ड्रिम्स’, ‘द समर रेन’ कविता प्रकाशित छन् । उनी १९४४ देखि १९४६ सम्म टर्की संसद्को सदस्य पनि भएका थिए । उनले इस्तानबुल विश्वविद्यालयमा सौन्दर्यशास्त्र, पौराणिक कथा र साहित्य अध्यापन गराए । १९०१ जुन २३ मा जन्मिएका उनको १९६२ जनवरी २४ मा निधन भयो ।

 


Author

थप समाचार
x