साहित्य

इकागजकर्मी किशाेर बुढाथोकी सम्मानित

इकागज |
फागुन २७, २०७९ शनिबार १६:४३ बजे

सिन्धुपाल्चोक- इकागजकर्मी किशाेर बुढाथोकी सम्मानित भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयले 'प्रगति साहित्य सम्मान-२०७९' बाट बुढाथोकी सम्मान गरेको हो । 

साहित्य विधाबाट सम्मानित भएका बुढाथाेकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिकाे उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरेकाे विद्यालयले जनाएकाे छ । बुढाथोकीले कतारमा रहँदा नवाेदित साहित्यिक वाचनालयमा संस्थापक रही प्रवासमा नेपाली साहित्यकाे विकासमा याेगदान गरेका थिए ।


सिन्धुपाल्चोकमा रहेर उनले स्पन्दन साहित्यिक मासिक र गजल सिन्धु मासिककाे सम्पादन गरेका थिए । सिन्धु साहित्य अभिलेखालयकाे संयाेजक, गजल सिन्धुकाे अध्यक्ष, शब्द सारथि, आधुनिक नेपाली गजल अभियानलगायत संस्थामा आवद्ध रही उनी साहित्यकाे विकासमा क्रियाशील छन् ।

उनकाे मरूभूमिकाे साहित्य यात्रा र जूनका आभाहरू कृति प्रकाशित छ ।

बुढाथोकीसँगै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलाल सम्मानित भएका छन् । विद्यालयले हरेक वर्ष विभिन्न विधामा समाज विकासमा लागि याेगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुन् ।

२०६० सालबाट पत्रकारिता सुरु गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक हुन् । राजधानी दैनिक र नेपाल प्रेस डटमा आवद्ध उनले जिल्लामा भएका विपद्लगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मान गरिएकाे विद्यालयले जनाएको छ ।

लाेक गायक पदम दुलाललाई गीत संगीतबाट मनाेरञ्जन मात्रै नभई जिल्लाकाे कला तथा पर्यटन विकासमा सघाउ पुर्‍याएकोले सम्मान गरिएकाे हाे ।

सिन्धुपाल्चोकमा जन्मेर राष्ट्रलाई याेगदान गर्ने  विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि  निरन्तर सम्मान प्रदान गर्दै आएको विद्यालयले आफ्नो ३१औं वार्षिकोत्सव समारोहकाे अवसरमा सम्मान प्रदान गरेकाे हाे । मेलम्ची  नगरपालिकाका प्रमुख आइतमान तामाङले सम्मानित हुनेहरूलाई सम्मान पत्र प्रदान गरे ।


Author

थप समाचार
x