साहित्य

किताब माग्‍ने, हातबाट झर्ने र तिनलाई उठाउने निहुँमा बन्‍ने सम्बन्धहरू अब के हुन्छन् ?

गुलजार |
फागुन १५, २०७९ सोमबार १३:५७ बजे

चिहाउँछन्‌ किताबहरू 
बन्द दराजका सिसाबाट
बडो उत्सुकतासाथ हेर्छन्‌
महिनौँसम्म हुँदैन अचेल कुराकानी
तिनीहरूसँगको सहवासमा कट्ने साँझहरू
कम्प्युटरको पर्दामा बित्छन्‌ अचेल 
छट्पटिरहन्छन्‌ किताबहरू 
अचेल ती किताबलाई 
निद्रामा हिँड्ने बानी लागेको छ।
 
तिनले सुनाउने गजलका पछ्यौरा 
कहिल्यै खुस्कँदैन थिए
तिनले चिनाउने सबै नाताहरू 
अहिले धुजाधुजा भएका छन्‌
सुस्केरा निस्कन्छ पन्‍ना पल्टाउनेबित्तिकै
झरेर बिलाइसके कयौँ शब्दका अर्थ
पातबिनाका शुष्क ठुटाझैँ देखिन्छन् सबै अक्षर
कुनै अर्थ पलाउन सक्दैन तिनमा अब ।
 
स्वाद आउँथ्यो पन्‍ना पल्टाउँदा जिब्रोमा
अचेल केवल एकपल्ट आँखा झिम्कन्छन्‌ 
औँला क्लिक गर्दा
तहतह खुल्दै जान्छन्‌ 
चिजहरू स्क्रिनमै
चुँडिएझैँ भाछ किताबसँगको आत्मीयता
कहिले छातीमा राखेर ढल्किइन्थ्यो
कहिले काखमा बोकिन्थ्यो
आफ्ना घुँडाको टेको लगाएर
ढोग्दै, उँग्दै पढिन्थ्यो
छोइन्थ्यो निधारले कहिले
 
पाई नै रहिनेछ
ती ज्ञान त अझै पनि
तर ती किताबहरूमा भेटिने
सुकेका फूल 
मगमगाउँदा कागजका टुक्राहरु
किताब माग्‍ने, हातबाट झर्ने र तिनलाई उठाउने निहुँमा
बन्‍ने गर्थे जुन सम्बन्धहरू
ती अब के हुन्छन्‌ ?

(प्रसिद्ध लेखक गुलजारको कविता किताबें झाँकती हैं बंद आलमारी के शीशों से को नेपाली भावानुवाद)



Author

थप समाचार
x