साहित्य

गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण

इकागज |
फागुन ८, २०७९ सोमबार १३:४६ बजे

काठमाडौं-  नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ । आइतबार राजधानीमा एक समारोहबीच कुटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्यले समालोचनात्मक कृतिको लोकार्पण गरेका थिए ।

प्रकाशक सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको लोकार्पण समारोहमा समालोचक डा. लेखप्रसाद निरौला र ठाकुर शर्माले २ सय ६० पृष्ठ लामो  कृतिको समीक्षा गरेका थिए । कार्यक्रममा कृति समालोचना गर्दै बरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीले समालोचनालाई शास्त्रीय रुपमा हेर्ने र प्राध्यापकीय कर्मका रुपमा लिने परम्पराबाट माथि उठेर पूर्वीय एवम् पश्चात्य कला मान्यता, दृष्टिकोण, सिद्धान्त, प्रभाव र प्रयोजनको व्यापक आयाममा मैनालीले समालोचना गरेको बताएका थिए  । 


वरिष्ठ कवि तथा नेपाल सरकारका पूर्व मुख्य सचिव विमल कोइरालाले मैनालीका सिर्जना र पुुनर्सिर्जनामा समाजलाई मार्गदर्शन गर्ने ताकत रहेको, प्रज्ञा र अभिव्यञ्जनाको सन्तुलन रहेको छ भन्दै मैनालीका प्रत्येक सिर्जनामा भिन्न स्वाद र बौद्धिकताको गहिराई रहेको उल्लेख गरेका थिए ।

कृतिमा ३२ वटा समालोचना संग्रहित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, पारिजात, रमेश विकल, हरिभक्त कटुवालसम्मको सिर्जनाको समालोचना लेखक मैनालीले गरेका हुन् । समारोहमा कूटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्य, पूर्वमुख्यसचिव विमल कोइराला, डा. गार्गी शर्मा लगायतले लेखक मैनाली र कृतिबारे चर्चा गरेका थिए ।

लेखक मैनालीले आफूले साहित्यिक समालोचनाको सुरूआत एसएलसी पास गरेपछि नै गरेको स्मरण गरेका थिए । ‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशन गर्ने निधो झण्डै चार दशकअघि नै गरेको उनको भनाइ थियो  । २०४० देखि २०७९ सालसम्म लेखिएका समालोचनाहरू कृतिमा समावेश गरेको उनले जानकारी दिए ।

मैनालीका 'अवसाद' 'अभिनयी' (निबन्धसंग्रह), 'आँखाभरि रमिता मनभरी वेदना' (नियात्रा), 'युगकवि सिद्धिचरण: कृति र प्रवृत्ति विश्लेषण' (समालोचना), 'अपेक्षा र अनुभूति' (सामयिक निबन्ध), 'घाउ आफैलाई दुख्छ' (निबन्धसंग्रह) लगायत कृतिहरू यसअघि प्रकाशित छन् ।
 


Author

थप समाचार
x